केपीले दुखका दिन बिर्सिए, माधव हठी र स्वार्थी, प्रचण्ड अस्थिर

केपीले दुखका दिन बिर्सिए, माधव हठी र स्वार्थी, प्रचण्ड अस्थिर

केपी ओली

केपी ओली जेलमा बसुन्जेल राष्ट्रभक्त युवा थिए । महाकाली सन्धिसम्म उनको जो छवि चम्किरह्यो । त्यसपछि भने क्रमश : उनको छविमा दाग देखिन थाल्यो । महाकाली सन्धिकै सेरोफेरोदेखि उनको सम्बन्ध बाह्य शक्तिसंग स्थापित भएको हो । अहिलेका केपी ओली र संघर्षका दिनका केपीबीच अतुलनीय बदलाव देखिन्छ । उहिलेका केपीमा देशप्रेम थियो । पार्टीप्रेम थियो । साथीप्रेम थियो । निस्वार्थी थिए । प्रस्ट वक्ता थिए । राजनीतिमा आवद्ध भएको सुखानी चरणदेखि नै केपी शारीरिक रुपमा धेरै क्रियाशील नभए पनि चिन्तनगत रुपमा निश्छल र उर्जाशील थिए । तर, अहिलेका केपीले विगतका दुखका दिन सितिमिति सम्झन छोडेका छन् । बरु बाल्यकालदेखि नै सम्पन्नतामा हुर्केको कथा सुनाउन कसिन्छन् । 

केपी बद्लिएको देख्दा  म जेल बस्दाकै एउटा घटना सम्झन्छु । हामी सेन्ट्रल जेलमै छँदा चौकीदार थिए, करवीर थापा । भोजपुरतिरका करवीर श्रीमती मारेको मुद्दामा जेल परेका थिए । दुख र गरिबीले पिल्सिएका युवा थिए, करवीर । उनी चौकीदार भएपछि ७, ८ सय बन्दीहरुको सागसब्जी, मासु र रासनमा बजार नियन्त्रण गर्न सक्ने भए । अर्थात् , कैदीलाई चाहिने सामानको आपूर्तिकर्ता भए, करवीर । यसपछि बन्दीहरुको खानेकुराको मात्रामा तलमाथि पारेर उनले ठूलै रकम कमाए । बन्दीहरुको चर्को शोषण उनको पेसाजस्तै बन्यो ।

हाम्रै सामुन्ने अरुले फालेको ठुटो र जुठो बिँडी मागेर खाने करवीर रुपैयाँ कुम्ल्याएपछि भन्न थाले– ‘बाले घरबाट याक चुरोट किन्न पठाउँदापठाउँदै त्यही पिउने बानी बस्यो । अहिले नि याकबाहेक अरु तान्नै मन लाग्दैन ।’ समय बदलिँदै गएपछि केही मानिसहरुमा आफ्नो अतीत पनि बद्लिएको भान पर्दोरहेछ । त्यस्तै हिजोका सर्वहारा जीवनशैलीमा रमाउने केपी पनि आज आँगनमा २, ४ सय जयजयकार गर्ने मानिसहरु भएनन भने आफू नेता नै नभएको जस्तो गर्न थालेका छन् ।

आफूभन्दा वरिष्ठ र समकक्षी मित्र हुन सक्दैनन् भन्ने चिन्तनले सताउन थालेको छ । केपीको सुन्दरता के भने उनले उग्रवादको डटेर विरोध गरेका छन् । आफ्ना विश्वासपात्रलाई राम्रैसंग चेप्छन् । प्रधानमन्त्री बनेपछि उनले देश विकास र समृद्धिको सपना देखाइदिएका छन् । 

प्रचण्ड

पछिल्लो समयमा मैले झेलेका नेता पुष्पकमल दाहाल प्रचण्ड हुन् । प्रचण्ड र वामदेवको चरित्र करिव करिव मिल्छ । यिनीहरु एउटै विषयमा घरबाट  निस्कँदा एउटा बाटोमा गुड्दै गर्दा अर्को र कार्यालयमा पुग्दा तेस्रो कुरा सोच्छन् । दीर्घकालीन योजना र अडानमा हिँड्दैनन । प्रचण्डको अस्थिरताका केही नमूना हेरौं । उनी प्रधानमन्त्री भएलगत्तै चीन गए । चीन गएकोमा भारतले असन्तुष्टि राखेपछि फर्कदा फर्कदै पहिलो राजनीतिक भ्रमण भारतमै हुन्छ भने । उनको बोलीको यस विश्रृंखलतामा न चीन खुसी भयो न त भारतको मन पग्लियो । 

जनयुद्धका नाममा १७ हजारको बलिदानी भयो । ३४ हजार जनसेना देखाए । अन्त्यमा ११ सय जनसेनालाई उनीहरुकै भाषामा बुर्जुवा सेनामा लगेर मिसमास पारिदिए । प्रचण्ड के ठीक, के बेठीक भनेर छुट्याउनै सक्दैनन् । हरदम आफ्नो चरम चाकरी गर्ने स्वार्थी व्यक्तिहरुबाट मात्र घेरिन रुचाउँछन् । उनी आफ्नो विचारले देश हाँक्न सक्ने नेता रहेनन । घुम्दै फिर्दै अन्तिममा फेरि म प्रचण्ड जस्ता अस्थिर नेताकै ओतमा पुगेँछु । अपितु प्रचण्डले जनयुद्धमार्फत सर्वसाधारणलाई ठीक बेठीक चिन्न र प्रश्न गर्न सक्ने बनाए । यदि माओवादी आन्दोलन नउठेको भए सर्वसाधारणको चेतनास्तर उक्सिन अझै समय लाग्ने थियो । तर जनयुद्धका सबै उपलब्धि प्रचण्डले एउटा व्यक्ति आफूमा मात्र केन्द्रित गर्दा माओवादी आन्दोलनको उपलब्धि समेत लावारिश बन्न पुग्यो ।

 माधवकुमार नेपाल

सांगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनी आफ्नो मनले खाएको कुरामा उत्तिक्कै खट्छन् । दर्शनका कुरा धेरै नछाँट्ने उनी सामान्य जीवनशैलीमा रमाउँछन् । माधव पार्टीका विचारक हैनन तर राम्रा संगठक हुन् । माधव धेरै प्राविधिक र सांगठनिक काम गर्न सक्छन् । राजनीतिलाई सिद्धान्तसंग जोड्न नसक्नु अन्तरमुखी स्वभावका माधवको कमजोरी हो । उनको सबभन्दा असल गुण पार्टीभित्र दोस्रो नेताको भूमिका निभाउनुमा देखापरेको छ । सीपी र झलनाथलाई महासचिवको रुपमा लोकप्रिय बनाउन माधवजीको महत्वपूर्ण भूमिका रह्यो । तर, अर्का महासचिव मदनसंग भने माधवको ‘केमेस्ट्री’ अन्तर्घुलित भएन ।

दासढुंगा घटनाको सेरोफेरोसम्म आइपुग्दा मदन र माधवको आत्मीयता लगभग टुटिसकेको थियो । दासढुंगा दुर्घटनापछि महासचिव बनेका माधव नेपालले नेपाल–भारत असमान महाकाली सन्धि गराउने राष्ट्रघाती कदम चाले । पार्टी विभाजन हुन सक्ने खतरालाई नजरअन्दाज गरे । आफ्नै हिमायतीहरुलाई मात्र केन्द्रीय समितिमा ल्याएर पार्टी फुटाउने आधार खडा गरे । माले–एमाले पुन एकिकरणपछि पूर्वएमाले पक्षधरहरुलाई छानीछानी पार्टी बाहिर हुर्याएर माओवादीलाई विस्तारित हुने आधार तयार पारिदिए । मालेबाट आएका नेता कार्यकर्तालाई माधवले आफ्ना ठान्दै नठान्ने हेयको व्यवहार गर्थे । 

२०५१ सालमा एमालेले अल्पमत सरकारको नेतृत्व गर्ने भयो । तर, यसका महासचिव माधवलाई सबैभन्दा ठूलो सकस परिरहेको थियो । प्रधानमन्त्री बन्ने तीब्र आकांक्षा भएपनि निर्वाचनमा भाग लिएर जोखिम नमोलेका कारण माधव संसदको तल्लो सदन प्रतिनिधिसभाको सदस्य थिएनन । २०४७ सालको संविधानमा प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधान थियो । माधव प्रतिनिधिसभाको सदस्य हुन्थे भने मनमोहन अधिकारीलाई प्रधानमन्त्री बन्न कुनै हालतमा दिँदैनथे । रक्षा मन्त्रालय प्रधानमन्त्रीले राख्ने परम्परा थियो, त्यसबेला । प्रधानमन्त्री मनमोहनले मुखै खोलेर ‘अरुले देख्दा समेत लाजमर्दो हुने भयो, कम्तिमा एउटा मन्त्रालय देऊ’ भन्दा समेत माधव टसमस भएनन् । यसपछि मनमोहन मन्त्रालयविहीन प्रधानमन्त्री बने । माधवचाहिँ उप्रधान एवं रक्षा र परराष्ट्र मन्त्रालयको कुर्सीमा आसीन भए । प्रधानमन्त्री हुन नपाएको झोंक उनले मनमोहनलाई मन्त्रालयविहीन बनाएर पोखेका थिए । माधवको चिन्तन बुझ्न यही घट्ना काफी छ । 

उपप्रधानमन्त्री भइसकेपछि माधव सरकारले भाडा बेहोर्ने गरी ठूलो घरमा बस्न खोजेका थिए । मन्त्री निवासमा नवसी थप सुविधायुक्त स्थानमा बस्ने उनको दाउ थियो । तर, कानुनले मन्त्रीको हैसियतभन्दा धेरै भाडा तिरेर बस्न रोक लगाएकाले उनको ध्येय सफल हुन सकेन । त्यसबेला मन्त्रीको घर भाडाबापत सुविधा मासिक ६ हजार रुपैयाँ थियो । त्यति पैसाले माधवले खोजेजस्तो आलिसान निवास भाडामा पाइँदैनथ्यो । त्यसपछि उनी मन्त्री निवासमै खुम्चिन बाध्य भए । हेर्दा साना लाग्ने यस्ता गतिविधिले माधवको महत्वाकांक्षाको स्तर मापन गर्न सकिन्छ । 

संकुचित सोचले नेतालाई कस्तो बनाउँछ भन्ने मसंग एउटा रमाइलो अनुभव छ । २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्य कांग्रेसका तर्फबाट एक्सन कमिटी इन्चार्ज थिए, जतिबेला गणेशमानहरु जेलमा थिए । वाममोर्चाको कार्यवाहक अध्यक्ष भएकाले मैले जगन्नाथसंग नियमित सम्पर्क गर्नुपथ्र्यो । सम्पर्क गर्दा जहिल्यै सब ठीकठाक छ मात्रै भन्थे । तर कांग्रेसका मान्छेहरु आन्दोलनमा उतिसारो देखिँदैनथे । अनि एकदिन मैले सोधें– ‘कहाँ के ठीकठाक छ भन्नुहुन्छ, आचार्यजी ? आन्दोलनमा मान्छे आएका छैनन ।’ ‘भक्तपुरको दत्तात्रय मन्दिर वरिपरिका सबै मान्छेलाई मैले आन्दोलनमा आउन भनेको छु ।’ जगन्नाथले जवाफ फर्काए । जगन्नाथको घर दत्तात्रय छेउमा कतै थियो । यसर्थ आचार्यले दत्तात्रयभन्दा माथि उठेर सिंगो मुलुकका जनता उर्लने आन्दोलनबारे सोचेका रहेनछन् । उनको कुराले मेरो मन अमिलो भयो । कांग्रेसले आन्दोलनको इन्चार्ज त बनाइदियो तर आचार्यले भक्तपुरको दत्तात्रयको दायरा नाघ्न सकेनन । ठ्याक्कै आचार्यजी जस्तै संकीर्ण सोचका हुन माधव । 

माधव कति हठी र स्वार्थी हुन भन्ने बुझ्न अर्को अनुभवसमेत छ । २०४८ सालमा मनमोहन अधिकारी तल्लो सदन प्रतिनिधिसभाका नेता थिए भने माधव नेपाल माथिल्लो सदन राष्ट्रियसभाको । तल्लो सदनका मनमोहनसरह सुविधा नपाएपछि माधवले एक वर्षसम्म पारिश्रमिक लिएनन् । माधवको चित्त बुझाउन धेरैचोटि बैठक बस्यो । पार्टीमा विवाद जन्मियो । तर माधवले तनखा बुझ्नै मानेनन् । तल्लो सदनभन्दा माथिल्लो सदनका नेताले एकसय रुपैयाँ मात्रै कम पाउने गरी ऐन संशोधन गरेपछि मात्रै माधवले एक वर्षको एकमुष्ट तलव सुविधा बुझे । एक वर्षसम्म माधवलाई खर्चबर्च पार्टीले जुटाइदिएको थियो । म त्यतिबेला पार्टीको आर्थिक विभागमा थिएँ । मैले माधवले तलब सुविधा बुझेपछि पार्टीले गरिदिएको खर्च फिर्ता हुनुपर्ने कुरा उठाएँ । मदनले मेरो कुरा सही ठहर्याएका थिए । त्यसको केही दिनपछि मदन देशव्यापी भ्रमणमा निस्किए । फर्किएपछि निर्णय गराउने बचन दिएका थिए । तर, यसैबीचमा मदन दासढुंगा काण्डमा पारिए । माधवले पार्टीका तर्फबाट भएको खर्च फिर्ता गरेनन् । 

माधव उपप्रधानमन्त्री हुँदा त्यसपछिको निर्वाचनलाई लक्षित गरेर उनले रौतहटको आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट पुर्याए । म कृषिमन्त्री छँदा माधवले आफू निर्वाचन लड्ने क्षेत्रमा कृषि मन्त्रालयअन्तर्गतको डिप बोरिङ योजनाहरु पारिदिनुपर्यो भनेर आदेशात्मक शैलीका थुप्रै चिठीहरु पठाएका थिए । अति भएपछि मैले एकपटक उनलाई मुख खोल्न बाध्य भएँ– ‘होइन कमरेड टेलिफोनबाट वा भेटेर भने पनि हुन्छ, यसरी खातका खात चिठी किन पठाउनु भएको ?’ ‘मुखले भनेको कुराको रेकर्ड हुँदैन । रेकर्ड नभएपछि जनताले मैले काम गरेको वा नगरेको कसरी पत्याउने ? रेकर्ड भए पो काम सफल नभए पनि प्रयत्न गरेको  थियो भन्ने हुन्छ ।’ उनले चिठी पठाउनुको रहस्य खोल्दा म छक्क परें । माधवको यो प्रयासले खुलाउँछ– हाम्रा नेताहरुमा सन्तुलित विकासको चिन्तन छैन । उनीहरु राष्ट्रिय चिन्तन गर्नै नसक्ने प्रवृत्तिले ग्रस्त छन् । 

माधवसंग देश, पार्टी र जनताका लागि केही दिनुपर्छ भन्ने लामो दृष्टिकोण छैन ।  जस्तो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसमा विवाद चर्कियो । त्यसबेला विश्व बैंकले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गर्न रकम विनियोजन गरिसकेको थियो । पार्टीमा कसैलाई नसोधी विश्व बैंकलाई चिठी लेखे– ‘चुनावअघि अरुण तेस्रोमा विश्व बैंकले हात नहाल्नू । पत्रको आशय थियो, ‘निर्वाचनपछि एमालेको सरकार बन्छ । अनि  मात्रै यो आयोजना बनाउनु पर्छ । तत्काल यो योजना अघि बढेमा त्यसको जस तात्कालीन गिरिजाप्रसाद कोइराला सरकारलाई जान सक्ने अल्पदृष्टिले माधवलाई वशीभूत बनायो । हाइड्रो प्रोजेक्ट बनाउन वर्षौं लाग्छ भन्ने ज्ञान नभएपछि यस्तै हुन्छ ।

निर्वाचनपछि एमाले सरकार बन्ने र त्यसपछि आयोजना निर्माण गर्न लगाएर आफूले जस लिने सोच राखेर माधवले विश्व बैंकलाई पत्र लेखेका थिए । तर परिस्थिति आफ्नो काबुमा कहाँ रहन्छ र ? माधवको चेतावनीयुक्त पत्रपछि विश्व बैंकले योजना स्थगित मात्र गरेन, फेरि योजना लिस्टमै नआउने गरी बिच्कियो । हुन त आफूले चिठी नलेखेको प्रष्टीकरण माधवले दिएका छन । म चुनौती दिन्छु , उनको चिठी अहिले पनि पार्टी कार्यालयमा गएर हेरे हुन्छ । लोडसेडिङको प्रमुख पात्र हुन, माधव नेपाल । स्वीकार्नु , नस्वीकार्नु उनको इमानदारीको कुरा हो । स्वीकार्दैमा सत्य मर्दैन । तथ्य मेटिदैन । 
     
 

केपी ओली प्रचण्ड  माधवकुमार नेपाल

संम्बधित खबर