समाचार

एकै रात ३ महिलालाई जबर्जस्ती करणी!

एकै रात ३ महिलालाई जबर्जस्ती करणी!

रुकुमः एकै रातमा तीन जना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुमपश्चिमको आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन् । 

गत मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए । घरमा पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । सोही राति २ बजे घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । उनी ढोकाको खापबाट हात छिराइ काठको खुटी (चुकुल) निकालेर प्रवेश गरेका थिए । बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा छ । पीडित तीनै जनाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडितको निवेदनका आधारमा केशवलाई मंसिर ३० गते बेलुका नगरपालिका–९ राडी बजारमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी खड्काले बताए । उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । (सांकेतिक तस्बिर) 

रुकुम जबर्जस्ती करणी पक्राउ