समाचार भिडियो

सरकार गफाडी भो, काम गर्न सकेन (भिडियोसहित) 

सरकार गफाडी भो, काम गर्न सकेन (भिडियोसहित) 

प्रधानमन्त्री केपी शर्मा ओलीको करिब दुई वर्षको अवधि पुग्नै लाग्दा यसको समीक्षा पनि हुन थालेको छ । प्रधानमन्त्री ओली एक्लैको प्रयासबाट मात्र मुलुक अघि बढ्ने होइन, यसका लागि उनको ‘टिम’ र सम्पूर्ण ‘राज्य संयन्त्र’ प्रभावकारी हुनुपर्छ । प्रधानमन्त्री ओलीको ‘टिम’ राम्रो हुन नसकेको त उनले सचिवालय र मन्त्रिपरिषद्का सदस्यमा गरेको परिवर्तनले पुष्टि भइसक्यो । अझ कतिपय हटाउनुपर्नेलाई नहटाएको र हटाउनु नपर्नेलाई हटाएको गुनासो समेत उनको पार्टीभित्र चल्ने गरेको छ ।

यसले उनको पार्टी भित्रबाट समेत उनलाई यथोचित सहयोग छैन भन्ने देखाउँछ । अझ प्रधानमन्त्री आफैं विरामी परेपछि त कसले के गरिरहेको छ भन्ने समेत उनी हेर्न सकिरहेका छैनन । मन्त्रीहरुलाई सजग र सतर्क गराउँदै अनुगमन गर्न सक्ने अवस्थामा प्रधानमन्त्री ओली छैनन् । सरकारले काम गर्न नसकेको स्वयं सत्तापक्षकै नेताहरु खुलेआम भन्दै हिंडेका छन् । जनताले पनि केही राम्रो भएको छ भन्ने कुराको अनुभूति गर्न सकेका छैनन् । 

विपक्षी दल नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दिलमान पाख्रिन भन्छन् ‘कांग्रेसले गुण र दोषका आधारमा सरकारबारे टिप्पणी गरिरहेको छ । तर, समर्थन गर्नलाई केही गुण त हुनुु पर्यो नि ! अहिले नेकपा पार्टी जनतासामु कबुल गरेका कुनैपनि कुरा पूरा गर्न सकिरहेको छैन । आफैंले ल्याएको घोषणापत्र विपरीत काम गर्दै हिंडेको छ । ’

">

‘यो सरकार गफाडी भो । अहिलेको आवश्यकता के हो त्यसलाई बुझेर त्यही अनुसार काम गर्नुपर्यो । आवश्यकता छ, काठमाडौं लगायत प्रमुख शहरमा हुने जाम हटाउने । आवश्यकता छ, आकाशमा विमान होल्ड नगरी अवतरण गराउने । आवश्यकता छ, शिक्षा, स्वास्थ्य, खाद्यान्न जनताको सहज पहुँचमा राख्ने । तर, प्रधानमन्त्रीका गफ छन् पानी जहाज र रेलका । यो हाम्रो परिस्थितिसँग मेल खाने कुरा नै भएन । यसले सरकारलाई असफल बनाउँछ । ’ पाख्रिनले भने । 

पाख्रिनका अनुसार सरकारले गरेका थुप्रै काम संविधान विपरीत छन् । प्रधानमन्त्री आफैंले थुप्रै संवैधानिक निकाय र सार्वजनिक संस्थान आफू मातहत राखेका छन् । संविधानविपरीत विधेयक ल्याउँछन् । ऐन कानुन त्यस्तै बनाउन खोज्छन् । यसले सरकारलाई अधिनायकवादतर्फ लैजान्छ । यो कुराको विरोध सबैले गर्नुपर्छ । सरकार यसरी हिंडदा पनि विपक्षी कांग्रेस मौन बसेको आरोप गलत भएको बताउँछन् नेता पाख्रिन् । 

उनी भन्छन्, ‘पुसको पहिलो हप्तबाट तेस्रो चरणको जागरण अभियान सुरु हुँदैछ । जनताको घर दैलोमा पुगेर कांग्रेसको नीति, सिद्धान्तबारे बुझाउने, सरकारका खराब कामबारे जानकारी गराउने, कांग्रेसले गर्ने भावी काम र योजनाबारे बताउने काम कांग्रेसले गर्दैछ । अहिले देशभर कांग्रेस समर्थक बढेका छन् । कांग्रेसप्रति विश्वास बढेको छ । ’

सभापति शेरबहादुर देउवा जुन ढंगले अघि बढिरहेका छन् त्यो सबैलाई मिलाएर लैजाने पवित्र उद्देश्यबाट निर्देशित छ । उनलाई असफल भयो, नेतृत्व भएन भन्ने आरोप लगाउनु नितान्त गलत हो । उनी चुनिएर आएका सभापति हुन् । चुनाव जितेर आएको सभापतिलाई मान्दिन भन्नु राजनीतिक संस्कार होइन । सभापतिलाई आफनो हिसाबले काम गर्न दिनुपर्छ । सभापतिले पनि सकभर सबैलाई मिलाएर लैजानुपर्छ । जहाँसम्म सभापतिले एकलौटी गर्यो भन्ने आरोप छ, त्यो गलत हो । यस्ता निराधार आरोपले पार्टीलाई कमजोर बनाउँछ । 

">

 

केपी शर्मा ओली नेपाली काँग्रेस