अतिक्रमण रोक्न अकुपाइ टुँडिखेल अभियान सुरु

अतिक्रमण रोक्न अकुपाइ टुँडिखेल अभियान सुरु

काठमाडौँ । काठमाडौँको बीच भागमा रहेको टुँडिखेलको अतिक्रमण रोक्नुपर्ने तथा सर्वसाधारणलाई पनि टुँडिखेल खुला गर्नुपर्ने लगायतका माग गर्दै आजदेखि अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ । अभियान अन्तर्गत आज आठ बजेदेखि दस बजेसम्म रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाइयो।

एकअर्काको हात समातेर घेर्न पुग्ने मानिसहरु नभएपछि हरियो रंगको रिबन टाँगेर मानिसहरुले त्यही रिबन समातेका थिए ।

अभियानमा सर्वसाधारण, अभियन्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा,  पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए ।

अभियानमा उल्लेख्य मात्रामा सर्वसाधारणहरुले पनि सहभागिता जनाए । आयोजकहरूले अभियानलाई सार्वजनिक जग्गा अतिक्रमण विरूद्ध सांकेतिक आन्दोलन भनेका छन् । सहभागीहरुले  ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

आयोजकले अभियान तीन महिनासम्म सञ्चालन गरिने जानकारी दिएका छन् । टुँडिखेल खुला गराएर सर्वसाधारणलाई निर्वाध उपयोग गर्न दिनुपर्ने आयोजकको माग छ ।

अभियान तीन महिनासम्म चल्नेछ । अभियान अन्तर्गत रचनात्मक र चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । अभियानले अरु ठाउँका पनि खुला क्षेत्र जोगाउन जागरण ल्याउने विश्वास गरिएको छ ।

-यो सामग्री पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com ) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट सामग्री निःशुल्क प्राप्त गरी पुनः प्रकाशन गर्न सक्नुहुनेछ । 

संम्बधित खबर