खेल

एमसीसीसँग नेपाल ११३ रनले पराजित

एमसीसीसँग नेपाल ११३ रनले पराजित

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी-ट्वान्टी क्रिकेटमा नेपालको मिक्स टिमलाई फराकिलो अन्तरले पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको छ ।

एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर १ बलमा अलआउट हुँदै मात्र ७६ रनमा समेटियो ।

नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन जोडे । यस्तै सन्दीप जोराले १६ रन जोड्दा कुशल भुर्तेलले १४ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा मिल्स हाम्मोन्डले ३३ रन जोडे ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेलिसकेको छ ।