स्वास्थ्य

कुपोषण के हो, यसबाट कसरी बच्ने? जानिराखौं

कुपोषण के हो, यसबाट कसरी बच्ने? जानिराखौं

हाम्रो शरीरको वृद्धि विकासको लागि पौष्टिक तत्वको आवश्यकता पर्छ । कार्बोहाइड्रेट्स, प्रोटिन, चिल्लो, खनिज पदार्थ र भिटामिनलाई पौष्टिक तत्व भनिन्छ । ती पोषण तत्वहरु हामी दैनिक खानाबाट प्राप्त गर्दछौँ । ती सबै खालको पौष्टिक तत्व एकै प्रकारको खानामा हुँदैन । त्यसैले हामीले सबै खालको पौष्टिक तत्त्वहरू प्राप्त गर्न धेरै खालका खाना मिलाएर खानु पर्दछ ।

यसरी शरीरलाई चाहिने सबै पौष्टिक तत्वहरु प्राप्त गर्न विभिन्न खालका खानेकुरा उचित मात्रामा मिलाएको खानालाई सन्तुलित भोजन वा सन्तुलित आहार भनिन्छ । सन्तुलित खानाले शरीरको उचित मानसिक तथा शारीरिक वृद्धि विकास गर्दछ । तर, हाम्रो देशका कतिपय जिल्लामा थुप्रै बालबालिका पुग्दो र उचित खाना खान नपाई बिरामी पर्छन् । कतिको त मृत्युसमेत हुने गर्दछ । जसलाई कुपोषण भनिन्छ ।

कुपोषणबाट बच्न के गर्नुपर्छ ?

कुपोषणबाट बच्न शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्दछ । खानेकुरा कुनै शरीरलाई शक्ति प्रदान गर्ने हुन्छन् त कुनै शरीरको वृद्धि र विकास गराउने हुन्छन् । त्यसैले हामीले सबै खालका पौष्टिक तत्वहरु प्राप्त गर्न धेरै खालका खाना मिलाएर खान जरुरी छ । कुन खानेकुराबाट के प्राप्त हुन्छ ? आउनुस् जानकारी राखौँ :

१. शक्ति प्रदान गर्ने खानेकुरा

हाम्रो शरीरले कार्य गर्नका लागि शक्तिको आवश्यकता पर्दछ । कार्बोहाइड्रेट्स र चिल्लो पदार्थले शरीरलाई शक्ति प्रदान गर्दछ । चामल, मकै, जौँ, आलु, सख्खर, चिनी, उखु आदि कार्बोहाइड्रेट्सका मुख्य स्रोतहरू हुन् । त्यस्तै : घ्यू , तेल, बोसो, बदाम, अण्डाको पहेँलो भाग, मासु आदि चिल्लो पदार्थका मुख्य स्रोत हुन् । कार्बोहाइड्रेट्सको कमीले सुकेनास रोग लाग्दछ भने बढी भयो भने मोटोपना बढ्ने र मुटु तथा रक्तनलीका रोगहरू लाग्ने गर्दछ ।

२. शरीरको वृद्धि र विकास गर्ने खानेकुरा

शरीरका तन्तुहरू जस्तै : हाड, मांसपेशी, स्नायु, रगत, छाला आदिको वृद्धि तथा यिनीहरूको कार्य विकासको लागि प्रोटिनको आवश्यक पर्दछ । दाल, गेडागुडी, कोदो, अण्डा, माछा, मासु, दूध तथा यसबाट बनेको पदार्थहरूमा प्रोटिन बढी पाइन्छ । बच्चाहरूमा प्रोटिनको कमी भयो भने शरीर सुन्निने रोग क्वासिओरकर (Kwashiorkar) रोग लाग्दछ ।

३. भिटामिन तथा खनिज पदार्थ

विभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थले शरीरका तन्तुहरूको उचित विकास र कार्य सम्पादनमा सहयोग गर्दछ । यी पदार्थहरू थोरै मात्र भए पनि अत्यन्तै जरुरी हुन्छ । भिटामिन तथा खनिज पदार्थ हाम्रो शरीरलाई विभिन्न रोगहरूबाट बचाउन तथा सुरक्षित राख्न पनि अति आवश्यक हुन्छ । हरियो सागपात, मौसमअनुसारको फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, माछा, मासु, अन्न, गेडागुडी र गेडागुडीको टुसा आदिमा भिटामिन तथा खनिज पदार्थ बढी पाइन्छ ।

भिटामिन धेरै प्रकारका हुन्छन्, जस्तैः भिटामिन ए, बी, सी, डी, ई, के आदि । त्यस्तै खनिज पदार्थ पनि धेरै थरिका हुन्छन्, जस्तैः आइरन, क्याल्सियम, आयोडिन, जिंक, सोडियम, पोटासियम आदि । यी विभिन्न प्रकारका भिटामिन र मिनरलका आ–आफ्नै काम हुन्छन् ।

४. पानी

पानी विनाको जिन्दगानी कल्पना पनि गर्न सकिँदैन । किनकि हाम्रो शरीरमा पानी भएन भने बाँच्न सकिँदैन । हाम्रो शरीरलाई अन्य खानेकुरा जस्तै पानी पनि अति नै जरुरी हुन्छ । शरीरका विभिन्न रसहरू तथा रगतमा पानीको मिश्रण हुन्छ । पानीले शरीरका कोषहरूलाई ओसिलो बनाउनुका साथै शरीरका विभिन्न रस तथा पोषक तत्त्वहरू यसमा घुलेर एक ठाउँबाट अर्को ठाउँमा लाने काम पनि गर्दछ ।

 

कुपोषण