विचार

अमेरिकामा व्यवसाय गर्ने सूत्र

सानुबाबु सिलवाल

अमेरिकामा व्यवसाय गर्ने सूत्र

अमेरिकामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरु आफूसंग भएको सिड मनि डलर सदुपयोग गरी आफ्नै व्यवसाय गरौं  भन्ने सोच त राख्नुहुन्छ तर व्यवसाय गर्दा कसरी गर्ने, यसका कानुनी आधार, उत्तरदायित्व, जिम्मेवारी र फाइदाहरु के के छन ? कस्तो खालको कम्पनी खोल्ने, कस्तो खालको कम्पनी खोल्दा फाइदा, बेफाइदा वा नाफा वा घाटा हुन जान्छ ? कम्पनी कसरी खोल्ने ? कम्पनीका प्रकारहरु के के छन ? आफूले सोचेको र जानेको व्यवसायका लागि कुन कम्पनी खोल्दा उपयुक्त हुन्छ ?

त्यो कम्पनीका प्रकार मध्ये कुन चाहीँ लाभदायी हुन जानेछ कालान्तरसम्म ? व्यवसाय गर्दा खोलिने कम्पनी चलाइरहँदा, बेचबिखन गर्दा वा छोड्दा वा मुनाफा राम्रै हुँदा  वा घाटामा जाँदा कुन खाले कम्पनी लाभदायी हुन जानेछ ? भन्ने जानकारी धेरैलाइ नहुन सक्दछ । यसले व्यवसाय सन्चालन गरिरहने व्यक्ति, परिवार वा समूहलाई यस्ता कम्पनीका प्रकार, फाइदा एवं उत्तरदायित्वका बारेमा धेरै अनभिज्ञ रहेको पाएको छु ।

यही यथार्थलाई ध्यानमा राखी जानकारी नभएका, जानकारी लिन चाहने वा पूर्ण जानकारी नभएका सबैका निम्ति अमेरिकामा व्यवसाय गर्नु पूर्व खोलिने कम्पनीका प्रकार र यसका फाइदा एवं वेफाइदालाई सामान्य ढंगले यस लेखमा  उतार्ने कोशिस गरेको छु ।  विश्वास छ कि यसबाट अमेरिकामा बस्ने वा भविष्यमा अमेरिका आई व्यवसाय गर्ने योजनामा रहेका सबैका लागि यस लेखले केही हदसम्म भएपनि सहयोग गर्नेछ ।

कम्पनी खोल्दा प्रायस तपाईं कर्पोरेसन, इन कर्पोरेटेड अर्थात इङ्क खोल्ने वा एलएलसी अर्थात लिमिटेड लायाबिलिटी कम्पनी खोल्ने यो एउटा गहन प्रश्न र कौतुहल हुन्छ । इनकर्पोरेटेड इङ्क अन्तर्गत सी कर्पोरेसन वा एस कर्पोरेसन कुन खोल्ने ? कुन चाहीँ लाभकारी हुन जान्छ त कालान्तरमा वा व्यवसाय सञ्चालनको प्रक्रियामा ? वा एलएलसी खोल्दा के हुन्छ त ? यस बारेमा र यसका विविध प्रोज एन्ड कोन अर्थात फाइदा, बेफाइदा यस प्रकार रहेको छ ।

 कर्पोरेसनका दुई प्रकार छन । एक सी कर्पोरेसन र अर्को एस कर्पोरेसन । अमेरिकामा अधिकांश व्यवसायी र व्यवसाय गर्ने समुदायहरुको अधिकतम छनोटको कम्पनी अन्तर्गत पर्दछ कर्पोरेसन ईन कर्पोरेटेड अर्थात इङ्क । यसभित्र पनि फाइदा, शेयरहोल्डरको अधिकार, दायरा, जिम्मेवारीमा भारी फरक र भिन्नता छ । कर्पोरेसनमा प्रक्रिया, जिम्मेवारी दुरुस्त राख्न अलि झञ्झटिलो र बढी कागजात बनाउनुपर्ने, अध्यावधिक राख्नुपर्ने जरुरी  भएपनि यसमा कर छुट, शेयरहोल्डरका अधिकार, नाफा घाटामा कर एवं लायाबिलिटीमा छूट र कमाएको आम्दानी, अधिकार र सम्पतिमा सुरक्षण तथा अप्ठेरामा व्यक्तिगत सम्पतिमा असर नपर्ने थुप्रै फाइदा  छन । एस कर्पोरेसन र सी कर्पोरेसन गरी यसलाइ विभक्त गरिएको छ । यसका फाइदा र घाटा पनि फरक छन ।

एस कर्पोरेसन अन्तर्गत दर्ता गरिएका इङ्क इन कर्पोरेटेड आम्दानीमा दोहोरो कर नलाग्ने हुन्छ । जसबाट कम्पनीको कर दाखिला गर्दा यसको मुनाफा शेयरहोल्डरमा बाँडफाँड पछि व्यक्तिगत कर दाखिलामा यसको मुनाफामा कर तिर्नु पर्ने भए पनि यस अन्तर्गत कर्पोरेट कर तिर्नु नपर्दा एक खाले करबाट बच्न सकिन्छ । यस अन्तर्गत लगानीको अबसर बढाउन सकिन्छ भने बर्षमा एक पटक कर दाखिला गरे पुग्दछ । यसमा मालिकले कर्पोरेट कर तिर्नु पर्दैन ।

यस अन्तर्गत १०० शेयरहोल्डर भन्दा माथि जान पाउँदैन । यही सीमामा बस्नुपर्ने हुन्छ । यसको अर्को कानुनी बन्धन भनेको शेयरहोल्डरहरु अमेरिकन नागरिक, ग्रीन कार्ड होल्डर र रेसिडेन्ट एलियन्स हुनु आवश्यक छ । तर, कम्पनी दर्ता गर्दा एस वा सी कर्पोरेसन भनेर छुट्याउन बाध्यता छैन । कम्पनी दर्ता गरेको र व्यवसाय सञ्चालन गरेको ७५ दिनपछि आई आर एसमा कुन चाहीँ हो भनेर उल्लेख गर्नु जरुरी हुन्छ ।

 सी कर्पोरेसन इङ्क यो सबैभन्दा उत्तम प्रकार हो कम्पनी र व्यवसाय सञ्चालनका लागि । यसमा शेयरहोल्डरको दायरा नहुने हुँदा जति पनि शेयरहोल्डर थप गरी पूँजी बढाउन र बिस्तार गर्न सकिन्छ । तर, समस्या चाहीँ के हो भने यसमा दोहोरो कर तिर्नु पर्ने हुन्छ । एक कर्पोरेसन आम्दानी कर र शेयरहोल्डरलाई मुनाफा बाँडचुड पश्चात शेयरहोल्डरले आफ्नो व्यक्तिगत कर दाखिलामा मुनाफाको अर्को कर तिर्नुपर्ने हुन्छ । भविष्यमा वित्तीय कारोबार, लेन्डर विश्वास र क्रेडीबिलिटीमा यसले ठूलो राहत र सहयोग प्रदान गर्दछ ।  

यस अन्तर्गत व्यवसायी वा कम्पनी मालिक अमेरिकन नागरिक हुनुपर्ने वा ग्रीन कार्ड वा रेसिडेन्ट एलियन्स हुनुपर्ने बाध्यता चाहीँ छैन । व्यवसाय गर्न चाहने जो कोहीले पनि यसबाट फाइदा लिनेछन । यस अन्तर्गत कम्पनीको नाफा घाटा लायाबिलिटी हरेक बर्ष कम्पनी मालिकमा सर्दैन तर एस कर्पोरेसनमा चाहीँ जानेछ ।

यसको अलावा कर्पोरेसनमा व्यक्तिगत सम्पति संरक्षित र सुरक्षित हुनेछ । जस्तै यस अन्तर्गतको व्यवसाय घाटामा गयो, कुनै पार्टी वा उपभोक्ता वा सरकारी निकायले वा कुनै भेन्डरले सु गर्यो भने वा कम्पनी ब्याङ्ककरप्सीमा गए आफूसंग भएको घर, गाडी वा व्यक्तिगत बैंक खाता वा सम्पत्तिमा कुनै असर गर्दैन । यसबाट व्यक्तिगत खल्ती वा सम्पति लायाबल हुँदैन । यो राम्रो पक्ष हो । त्यसैगरी कर सहजता एवं छूट, आफ्नो क्रेडीबिलिटीमा विकास एवं विश्वास बढ्न सक्ने, आफ्नो ब्रान्ड र उत्पादन सुरक्षित हुने छ इनकर्पोरेडेट इङ्कमा ।

कम्पनी बोझ, व्यक्तिगत सम्पति र स्वामित्व हस्तान्तरण  नहुने हुँदा इङ्क उत्तम हुनेछ कम्पनी एवं व्यवसाय सञ्चालनमा । इन कर्पोरेटेड इङ्क अन्तर्गत करमा फाइदा एबम छुटबाट राहत मिल्न सक्दछ । जस्तै स्वास्थ्यमा प्रियम बीमामा कर छूट, मालिकलाई स्वरोजगातदाता भएका कारण कर छूट, बचत, कर्पोरेटेड आम्दानी, सोसियल सेक्युरिटी, कामदारलाई सुविधा, मेडिकेयरमा कर छूट भई बचत हुन जानेछ । इङ्क अन्तर्गत व्यावसायिक कम्युनिटी विस्तार, साझेदारी र सम्बन्धमा इङ्क सहयोगी हुनेछ । इङ्क अन्तर्गत अवकाश जीवनका लागि पनि यसका सकारात्मक पक्षहरु छन । तर, कर्पोरेसन अन्तर्गत यसले अध्यावधिक राख्न, अपडेट गर्न, कागजात चुस्त दुरुस्त राख्न र कागजात डकुमेन्टका बोझिला पक्षहरु भएपनि इङ्क व्यवसाय सञ्चालनका थुप्रै हितकारी पक्ष छन् सञ्चालक र शेयरहोल्डरका लागि ।

एलएलसी लिमिटेड लायाबिलिटी कम्पनी अर्थात एक एलसी इनकर्पोरेट इङ्कभन्दा धेरै अर्थमा फरक छ । कम्पनी दर्ता गर्दा यसका फाइदा एवं बेफाइदाका बारेमा बुझ्न र जान्न जरुरी छ । एलएलसीको सञ्चालन प्रक्रिया  इङ्कभन्दा  सरल र सहज छ । यही सहजताले सञ्चालक सदस्यहरुको लायाबिलिटी बराबरी हुनेछ । यसमा पनि व्यक्तिगत ऋण, सम्पति इङ्कमा झै कम्पनीसंग नजोडिए पनि मालिक अर्थात एलएलसी सञ्चालक सदस्यहरुको गैरजिम्मेवारी, गैरकानुनी र गैरउत्तरदायी बनेमा कम्पनीबाट सुरक्षित चाहीँ हुन पाउने छैन । यसमा मालिक वा कम्पनी सञ्चालक अमेरिकी नागरिक वा रेसिडेन्ट एलियन्स हुनु जरुरी छैन ।

कम्पनीको संरचना परिवर्तन बिना नै लगानीको दायरा  थप गर्न सकिन्छ । एलएलसीमा हरेक वर्ष इङ्कमा झंै कर्पोरेट कर दाखिला आवश्यक छैन । तर मालिक वा सञ्चालक सदस्यहरुले कम्पनीको नाफा, घाटा आफ्नो वयक्तिक कर दाखिलामा चाहि शो गर्नु पर्नेछ फर्म १०६५ मार्फत। जसमा दोहोरो करबाट चाहीँ मुक्ति पाइनेछ । अरु व्यावसायिक कम्पनी संरचना अझै एलएलसी छुट्ट भिन्न कर इनटिटी भित्र पर्दैन ।

व्यवसाय सञ्चालनमा भन्दा व्यावसायिक, कमर्सियल वा रेन्टल सम्पत्ति किन्दा चाहीँ एलएलसी कम्पनी खोल्दा बढी लाभकारी र उत्तम हुनेछ । अनौपचारिक ढङ्गले सञ्चालन गर्न पाउने हुँदा यो सहज र सरल छ । त्यसो त यसका नराम्रा र हानीजन्य पक्ष पनि उत्तिकै छन । जस्तै एलएलसी अन्तर्गत कम्पनी सञ्चालक सदस्यहरु आफैंले आफ्नो लागि पे चेक काट्न पाउँदैनन अर्थात आफ्नो ज्याला आफैंले भुक्तानी गर्न पाइँदैन ।

आन्तरिक कर कार्यालय आईआरएसले एलएलसीका हरेक सदस्यहरुलाइ व्यक्तिगत प्रोपराइटरसीपको रुपमा व्यवहार गर्छ ।  एलएलसी आफैंले कर तिर्नु पर्दैन र यसले ट्याक्स रिटर्न फाइल गर्नु पर्दैन । यस्का सदस्यहरुले आफ्नो आम्दानी घाटालाई व्यक्तिगत कर दाखिलामा फर्म १०४० अन्तर्गत दाखिला गर्नु पर्नेछ । एलएलसीमा आफ्नो अवकाश जीवन बीमा पोलिसीमा रकम व्यवस्था गर्न सक्दछ । 

एलएलसीमा कर्पोरेट इङ्क जस्तो डाइरेक्टर, मेनेजर, कर्मचारी बाँडफाँड  हुँदैन  र यसमा सबै सञ्चालकहरु बराबर हैसियतका हुनेछन । जसबाट सञ्चालन प्रक्रियामा झन्झट र अप्ठेराहरु आइ लाग्नेछन । को मालिक भन्ने खुल्दैन । एलएलसीमा सबै शेयर होल्डर मेम्बर सदस्यहरु बराबरी हैसियतमा हँुदा सम्झौता, हस्ताक्षर, व्यवहार गर्दा भ्रम सिर्जना भै काम र सञ्चालनमा थुप्रै कठिनाइ व्यहोर्नु पर्ने हुन्छ । व्यावसायिक सम्पत्तिमा सीमित अधिकार, कम जिम्मेवार हुने हँुदा व्यवस्थापनमा संकट उत्पन्न हुन सक्नेछ । एलएलसी अमेरिकाभन्दा बाहिरका लगानी प्रिफर्ड गर्दैन र अमेरिका भन्दा बाहिर जानै सक्दैन पनि । इनिसियल पब्लिक अफरिङ्ग आईपीओ इङ्कमा झैं हुँदैन।

अमेरिकामा सबै राज्यहरुमा समान नीति र कानुन छैनन फेडरल कानुनको अलावा । भिन्न भिन्न राज्यहरुमा भिन्न भिन्न राज्य सरकारका आ आफ्ना पोलिसी र कानुनहरु छन । सेक्रेटरी अफ स्टेटमा त्यही राज्यको नियम अनुसार कम्पनी दर्ता भैसकेपछि फेडेरल कर कोड फेडेरल ट्याक्स आइडी डिपार्टमेन्ट अफ ट्रेजरीमा दर्ता गरी कर नम्बर प्राप्त भैसकेपछि फेरि सोही राज्यमा आन्तरिक कर कार्यालयबाट राज्यको कर, सेल्स ट्याक्स नम्बर दर्ता गरी नम्बर लिनु पर्नेछ । यसपछि मात्रै कम्पनीलाइ व्यावसायिक काम र सञ्चालनमा बाटो खुल्नेछ । र साथमा सिटी, काउन्टी एवं राज्य सरकारका अन्य कानुनी सम्बन्धित निकायबाट व्यवसायको प्रकृतिअनुसार थप लाइसेन्स र दर्ता आवश्यक हुनेछ । 
 

अमेरिका व्यवसाय