कला साहित्य

तपाईं कति मायालु हुनुहुन्छ ?

तपाईं कति मायालु हुनुहुन्छ ?

आफ्नो काखको नानीलाई आमाले म्वाईं खान्छिन, छातीमा टाँस्छिन, काले, नानी, बाबु भनेर अनेक विशेषणले सम्बोधन गर्छिन । परदेशिएको सन्तान घर फर्कंदा आमाको आँखामा हर्षको आँसु बर्सन्छ । आत्मीय साथीसंग विछोडिदा अर्को साथीको मन भक्कानिन्छ । जन्मघर छोडेर पराई घर जानुपर्दा बेहुलीहरु डाँको छोडेर रुन्छन् । बाटो, मन्दिरमा हात पसारेर माग्ने भिखारीलाई हिँडिरहेको बटुवाले यथाशक्य पैसा कचौरामा हालिदिन्छन् । यी सबैथोकको एउटै निष्कर्ष हो– माया । 

माया अर्थात प्रेमलाई जीवन मान्नेहरुको ठूलो जमात छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनलाई लहराउनु, तरंगिनु र चलमलाउनु भनेका छन् । जीवनको यो छोटो परिभाषामा जीवन भनेको माया गर्नु हो भन्दा सुनमा सुगन्ध जस्तो लाग्छ । हामी बसमा यात्रा गरिरहेका बेला एक सीटमा बसेको अपरिचित व्यक्तिसंग परिचय गर्न पछि पर्दैनौं । एकैछिनमा उसंग यस्ता कुराकानी हुन्छन कि मानौं उ वर्षौंदेखिको परिचित हो । उसलाई आन्तरिक, पारिवारिक सबै बेलिविस्तार लगाइदिन्छौं ।

अझ आजकल त तत्कालै फेसबुकमा साथी बन्ने, कुराकानी गर्ने, अनुकूल मिल्दा भेट्ने सम्मका काम छिनका छिन तमाम् हुन्छन् । अझ कतै सवारी साधन दुर्घटना, बम विष्फोट या अन्य कुनै कारणबाट मानिसले ज्यान गुमाएको समाचार सुन्दा हामीलाई नरमाइलो लाग्छ । हामी भावमा बहकिएर भन्ने गर्छौं– च्व...च्व...च्व... । मुटुमा च्वास्स घोच्छ । मानौं त्यो विपत्ति आफैंमाथि परेको हो । जसरी कुनै सिनेमा हेर्दा नायक, नायिकामाथि आपत आइलाग्यो भने दर्शकलाई त्यस्तै खिन्नता महसूस हुन्छ । अझ त्यो कलाकारका फ्यानहरु त डाँको छोडेरै रुन बेर लगाउँदैनन् । सवैको निष्कर्ष एउटै बिन्दुमा टुंगिन्छ र त्यहाँ एउटै भावले संवेग ल्याउँछ, त्यो हो– माया । 

माया आकास झैं असीम छ, सागर झैं गहिरो छ, पवन झैं चञ्चल छ । यो माया समुद्रको पानी झैं कञ्चन पनि छ । माया अपार छ, विशाल छ । मायामा आत्मीयता, मधुरता अनि भावुकता छ । मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सत्चरित्र छ । मायामा समर्पण र सहयोगी भावना छ । समग्रमा माया सुख, आनन्द सबैथोक छ । 

भनिन्छ– एउटा प्रेमीको माया प्रेमिकालाई र प्रेमिकाको माया प्रेमीलाई कति छ भन्ने कुरा एकअर्काको आँखाबाट थाहा पाउन सकिन्छ । प्रेमी– प्रेमिकाहरुले आफ्नो प्रेमको अभिव्यक्ति चुम्बनको माध्यमबाट गर्ने गर्छन् । हुन त पश्चिमी मुलुकमा चुम्बन धेरै पुरानो र साधारण भएपनि हाम्रो मुलुकमा यसको प्रभाव त्यति पर्न सकेको छैन । मायाको अभिव्यक्त गर्ने यो तरिकालाई हामी अश्लीलताको संज्ञा दिन्छौं । यसलाई छाडा प्रवृत्ति पनि हेला गर्छौं । बैंश लागेको भनी जिस्काउने, गिज्याउने गर्छौं ।

वास्तवमा यो आफैंमा नराम्रो होइन । तर यसलाई प्रयोग गर्ने तरिकामा अश्लीलता हुनु चाहिँ खराव हो । बाउआमाले छोरी, भाइले दिदी, पतिले पत्नी, नेताले जनता, साथीले साथीलाई गर्ने माया एउटै फरक चाहिँ यसको प्रयोग शैली मात्र हो । 

मायाको विपरितार्थक शब्द घृणा हो । जहाँ घृणा हुन्छ, त्यहाँ बेमेल पैदा हुन्छ । बेमेलले कलह जन्माउँछ । यसको परिणाम लडाइँ, झगडा र विनासको अवस्था सिर्जना हुन्छ । माया र घृणाको तुलना बसन्त ऋतुसंग गर्न सकिन्छ । हराभरा हाँसीखुशी रहेको बसन्तरुपी जीवनलाई घृणाले उजाड र मरुभूमितुल्य बनाउँछ । 

आज जति पनि सिनेमा र गीत बनेका छन, ती सबैमा मायाको गुनगान गाइएको हुन्छ । सिंगारपटार गरेर, तन्काएर होस या जोड घटाउ गरेर होस अन्तिममा मायाकै परिभाषा घुसाइएको हुन्छ । अधिकांश पुस्तकको सारांश हुन्छ, माया । कतिले अश्लीलता घुसाएर मायाको अस्तित्व खोजिरहेका हुन्छन । यो चाहिँ गलत हो । आधुनिकताको नाममा सामाजिक सञ्जालहरुमा मानिसको मन भड्काउने खालका सामग्री छापिएका छन् । यो घृणित र नकारात्मक कर्म हो । यसले समाजमा गलत प्रवृत्तिलाई प्रोत्साहित गर्छ । 

कुनै कुनै मानिसको माया देखावटी हुन्छ । उनीहरु केही स्वार्थ राखेर माया गर्छन । आफ्नो स्वार्थ पूरा भएपछि उनीहरु आफैं टाढिन्छन् । यस समस्याबाट युवाहरु विचलित बनेका छन् । राम्री केटी पाए प्रेमको ढोंग रच्ने गर्छन् । निश्चल, निष्कपट, उदार दिल भएका युवतीहरु यस्ता फटाहाको जालमा फस्ने गर्छन् । कालान्तरमा यसको परिणाम राम्रो हुँदैन ।

त्यसैले यस्तो प्रवृत्तिबाट सचेत हुनुपर्छ । विश्वास विनाको माया लगामविहीन घोडाजस्तै हो । मायामा खोट हुनु हुँदैन । यसले मायालाई अंकुराउन, प्रस्फुटित हुन, फल्न र फुल्नबाट रोक्छ । त्यसैले माया र विश्वास एक सिक्काका दुई पाटा हुन् । 

बडो विडम्बना मान्नुपर्छ, आज मायाको गलत अर्थ लागिरहेको छ । माया, प्रेम भन्ने वित्तिक्कै यहाँ केवल एउटा प्रेमीले प्रेमिकालाई गर्ने प्रेमलाई मात्र देखाउने धृष्टता गरिरहेका छन् । उनीहरु मानिसमा नकारात्मक प्रभाव बढाएर आफ्नो निजी स्वार्थपूर्तिमा तल्लीन छन् । मायाको नाम कलंकित गर्ने दुष्प्रयास गरिरहेका छन् ।

यस किसिमको दुष्कर्मबाट टाढै रहन जरुरी छ । नविर्सौं मायामा ससार अडेको हुन्छ । पशुमा त आफ्नै किसिमको माया हुन्छ भने हामी त सर्वश्रेष्ठ प्राणी हौं । त्यसैले मायामा अडेको संसारलाई मायाले नै फलाउनु, फुलाउनु श्रेयष्कर छ । माया विना न हाम्रो अस्तित्व छ, न विश्व भाइचारा नै । 
 

मायालु