कला साहित्य

म पनि फेरिएकी हूँ, तिमी फेरिए जस्तै गरि ....

म पनि फेरिएकी हूँ, तिमी फेरिए जस्तै गरि ....

साँझ उस्तै छ, विहान उस्तै छ
घाम उस्तै छ, फेरि वादल पनि ।
तिमी उस्तै छौ , अनि म पनि उस्तै छु 
क्यालेन्डरका केही पाना फेरिए होला,
घामका जवानी सेकेन्डसंगै फेरिए होला।
संगै तिम्रो मन  फेरिएको त हो नि।
ऋतु फेरिन्छ, पालुवा फेरिन्छ,
दिन,रात,झरि,वादल,मौसम,अतीत, वर्तमान
सबै सबै फेरिन्छ।
यी सबै सबै फेरवदलमा तिम्रो मन पनि त 
फेरिनै पर्यो नि होईन?

फेरिन त म पनि फेरिएकी हुँ।
पहिला मान्छे थिएँ, अहिले मुर्ति भएकी छु।
झोला भित्रकी मुर्ति ।
अरुका पाईलासंगै चलायमान हुनुपर्ने ।

अझ म त अचानो पनि भएकी छु क्यारे ।
त्यहि अचानोमा मायाको गुन्द्रुक काटिरहेका छन्,
म नुन खुर्सानीसंगै साँधिएकी छु,
अरुको जिब्रो फड्काईमा फट्फटाईरहेकी छु।
त्यो जिब्रो भित्रकी म, 
अब कसरी तिम्रो मनसम्म पुग्न सकुँला र?
म फेरिएकी हु, तिमी फेरिए जस्तै गरि।

म फेरिएकी हुँ,मेरा आँखाका पर्खाईहरु फेरिएका हुन्।
मेरा मनका बाँधहरु हिउँदसंगै सुक्न वाध्य भएका हुन्।
तिम्रा मनका बाँध त बर्खे भेलले वगाएर लग्यो।
तिमी नदिमा बग्न थाल्यौ, म खहरेमा।
म छाँगोमा बजारिन्छु, खोंचमा ठोकिन्छु,
कहि कहिं पोखिन्छु, 
हावाको लर्काई पहाडको टुप्पामा पुगेर फर्किए जस्तै।
यो मन पनि, तिम्रो मनसम्म पुग्छ, अनि फर्किरहन्छ।
सेकेन्ड सेकेन्डमा।।

तिम्रो फर्काई उँदो मात्र बग्छ , 
मेरो फर्काई उँधो न उभो भएको छ। 
न तिमीमा पुग्छ, न स्थिर भएर रोकिन सक्छ।
तिम्रो रोजाई र मेरो रोजाई पनि फेरिएको हो।
तिमी चलायमान छौ, समय जस्तै,
मेरा समय मात्र चलायमान छन् । बाँकी उस्तै उस्तै।
मात्र दिन र रातको जोड घटाउ संगै समय वितिरहेछ।

तिमी बगिसकेको खोलीमा म झोलि थाप्न त के आउँला र?
तर समयको रापसंगै, जिन्दगीको ताउलोमा खिया लागेको दिन पक्कै तिमीले सम्झने छौ।
म दमकल लिएर आउँला , तिम्रै समिपमा।। 

-पार्वती अधिकारी 

 

समयको गति