समाचार

ट्याक्सीमा नयाँ मापदण्ड, मारमा उपभोक्ता

ट्याक्सीमा नयाँ मापदण्ड, मारमा उपभोक्ता

काठमाडौँ । यातायात व्यवस्था विभागले  सर्वसाधारण र न्युन आय भएकाले ट्याक्सी चढ्नै नसक्ने गरी ट्याक्सीमा नयाँ मापदण्ड लागु गरेको छ । नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ। अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् ।

विभागले नयाँ नम्बर प्लेट खोल्नेसम्बन्धी कुनै निर्णय विभागले गरेको छैन तर २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउँदा यो मापदण्ड लागू हुने जनाएको छ। 

उपभोक्ता मारमा 

हाल उपत्‍यकामा सञ्‍चालनमा रहेका ट्‍याक्सीहरु ८०० सिसिका हुन्। ८०० सिसीका ट्याक्सीहरु कम इन्धनमा लामो दुरी पार गर्न सक्छन्। यिनै ट्‍याक्सीमा भइरहेको मनोमानी भाडा असुल्‍ने र मिटर सञ्‍चालन नगर्नाले यात्रुहरुले हैरानी खेप्‍नुपर्ने देखिएको छ।

१२०० सिसिका ट्‍याक्सी खरिद गर्दा खरिददर महँगो पर्ने, इन्धन धेरै जाने र भाडादरपनि महँगो हुने भएकोले सर्वसाधारण र न्यून आय भएका जनताले खरिद गरेर सञ्‍चालन गर्न नसक्ने देखिएको छ । 

त्यसैगरी, मुल्यमा पनि ठूलाे अन्तर छ । नयाँ ट्याक्सीकाे मुल्य करिब ३० लाखसम्म पर्छ भने पुरानाको जम्मा लगभग १८ लाख जति । ट्याक्सीमा एकैपटक थाेपरिएकाे यस नियमले व्यवसायीलाई पनि ठूलो झट्का दिने देखिएको छ । 

यसका साथै काठमाडौँका गल्ली गल्लीमा कसरी गाडी चल्लान् भन्ने पनि आशंका बढेकाे छ । अहिले ट्याक्सी २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। यो मापदण्ड बनेपछि ट्याक्सी व्यवसायीले बिजुलीबाट चल्ने ट्याक्सी पनि लिन सक्नेछन् । 

१२ सय सिसिका ट्‍याक्सी सञ्‍चालनको मापदण्ड ल्‍याए उक्त मापदण्डमा सेडनको विषय हटाउनुपर्ने र सबै कम्पनीका ट्‍याक्सी सञ्‍चालनमा ल्‍याउन सक्न‍ेगरी खुला मापदण्ड तोकिनुपर्ने व्यवसायीहरु बताउँछन्।

२०७२ सालमा यातायात व्यवस्था विभागले ट्याक्सी व्यवस्थापनबारे अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको पनि थियो तर त्यसकाे कार्यान्वयन नहुँदै नयाँ मापदण्ड लागु गरिएकाे हाे ।

नयाँ मापदण्डका के छन् विशेषता ?

विभागले ताेकेकाे नयाँ मापदण्ड अनुसार १२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ। त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ।

बिजुलीबाट चल्नेमा अपग्रेड गर्न मिल्ने 

विभागले बिजुली ट्याक्सीको लागि छुट्टै मापदण्ड बनाएको छ। बिजुली ट्याक्सी दर्ता गर्दा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार हुनुपर्ने छ। त्यस्तै, यसमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हुनुपर्ने मापदण्डमा उल्लेख छ। 

विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो। मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठाएको थियो। हाल उपत्यकामा करिब ९ हजार ट्याक्सी सञ्चालनमा छन्।