समाचार

'मधेसवादी दलको माग पूरा गर्न संविधान संशोधन हुन्छ'

'मधेसवादी दलको माग पूरा गर्न संविधान संशोधन हुन्छ'

परासी — नेकपा अध्यक्ष पुष्पकमल दाहालले मधेशवादी दलले उठाएकाे माग स‌ंबाेधन हुने गरी संविधान संशोधन हुने बताएका छन् । उनले अवश्यक्ताअनुसार संविधान संशाेधन गर्न सकिने बताउँदै अब मधेशवादी दलकाे माग पूरा हुने बताए।

मधेसी दल सरकारमा सहभागी हुँदा संघीय समाजवादी दलसँगको दुईबुँदे सहमतिअनुसार आफैंले संविधान संशोधनको प्रस्ताव दर्ता गराए पनि विविध कारणले संशोधन हुन नसकेको उनको भनाइ छ ।

‘अहिले नै संशोधन भएन भनेर तर्सिनुपर्ने अवस्था छैन,’ परासीमा मंगलबार व्यापार मेला उद्घाटन गर्दै दाहालले भने, ‘संविधान सात पटक मात्र होइन, कैयौं पटक संशोधन हुन सक्छ ।’ सहकार्य र एकताबाटै मुलुकलाई अगाडि बढाउने चाहनाअनुरूप आफ्नो पार्टी र सरकारले मधेसवादी दलको माग पूरा गर्न संविधान संशोधन गर्ने उनले दाबी गरे । संक्रमणकाल भएकाले सबैको माग एकैपटक पूरा गर्न नसकिएको दाहालले बताए ।

निजी क्षेत्रसँगको सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सरकारले लगानीमैत्री वातावरण बनाएको भन्दै उनले ढुक्क भएर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरे । व्यापार मेला आगामी १५ गतेसम्म चल्नेछ । दाहालले मंगलबारै भैरहवामा पाँचौं लुम्बिनी पर्यटन प्रवर्द्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव पनि उद्घाटन गरेका छन् ।