समाचार

खुलेआम यौन धन्दा : सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ

खुलेआम यौन धन्दा : सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ

वीरगञ्ज । पछिल्लो समय बारामा पनि अवैध यौन धन्दा भइरहेको खुलासा भएको छ। सिमराबाट प्रहरीले आपत्तिजनक अवस्थामा ९ जोडीलाई नियन्त्रणमा लिएपछि यौन धन्दा भइरहेको खुलासा भएको हो। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका–१ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो । सोही क्रममा उनीहरु आपत्तिजनक अवस्थामा फेला परेका थिए। पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट आपत्तिजनक अवस्थामा ९ वटा जोडीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । ‘होटलमा शंकास्पद अवस्थामा भेटेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेका छौं, कानुनी कारबाहीको प्रक्रिया पूरा भएपछि छोड्छौं ।’रकम लिएर गरिने अवैध यौन धन्दालाई निरुत्साहित गर्न प्रहरी संगठन कठोर भएर लाग्ने उनको भनाइ छ ।