समाचार भिडियो

संगीतमा जमेको जोडी (फोटोफिचर र भिडियोसहित)

संगीतमा जमेको जोडी (फोटोफिचर र भिडियोसहित)

एकजना अमेरिकी लेखकले लेख्नेहरुलाई सल्लाह दिँदै भनेका छन– ‘लेख, केही नै केही सिर्जना गर । खाली हात बस्दै नबस । यदि लेख्ने केही विषय भेटेनौ भने सुसाईड नोट भएपनि लेख ।’ एस्पी कोइराला नेपाली साहित्य, संगीतका एउटा  त्यस्तो पहाडबाट हुत्तिँदै झरेको अविरल खोला हो, जो आफूले भेट्ने समुद्रका विषयमा खोजी नीधि गर्दैन । बग्नुलाई धर्म ठान्छ । समुद्र भेटेपछि पनि आफ्नो अस्तित्वको विषयलाई लिएर मुर्झाउँदैन । कहिले आख्यानमा बग्छ, कहिले गद्यमा बग्छ, कहिले पद्यमा झुल्कन्छ । कहिले समाजशास्त्री भएर उत्तर दिन्छ, कहिले अर्थशास्त्री भएर प्रश्न उठाउँछ । हो, निरन्तर यही बगाईले नै उ लेउ नलागेको कञ्चन  जँघार बन्न सफल छ । चैतन्य र प्रज्ञाको गर्विलो रसायनमा बाँचेको छ । 

४० को दशकबाटै कलमसंग दरिलो साइनो गाँसेका एस्पी मूलत : आफ्नो परिवेशमा रमाउँछन् । दामनमा भेटेको हिउँको एकमुठी हिउँको डल्लोबाट सगरमाथाको चुली पत्ता लगाउँछन् । समुद्रमा थोपा हैन, थोपामा समुद्र खोज्छन् । साहित्यलाई तोरीको गेडो हातमा लिएर त्यसभित्र दुलो खोज्ने रेडिकल मान्यताबाट निरपेक्ष छन् । त्यसैले प्रयोगवादी धारा उनको गर्भचेत हो । कविताभित्र विज्ञान, गीतभित्र दर्शन, माटोभित्र प्रेम, प्रेमभित्र उर्जा उनका लेखकीय धर्म हुन् । चौथो गीतिसंग्रह ‘समय’ पनि यही मेसोको एउटा कडी हो । 

विश्व साहित्यका चर्चित व्यक्तित्व विलियम पुर्के भन्छन्– ‘यसरी नाच जस्तो अरु कसैले हेरेको छैन । यसरी माया गर त्यहाँ कुनै घात छैन । यसरी गाउ कसैले सुनेकै छैन । यसरी बाँच तिमीले टेकेको धरा विश्वकै सर्वोत्कृष्ट स्वर्ग हो ।’ हो, स्रष्टा एस्पी र प्रशासक– पूर्वमन्त्री शंकरप्रसाद कोइरालाबीच भीर र भैंसीको सम्बन्ध छ । साहित्यको कोलाजभित्र  मसीको रंग भर्न सक्ने कुशल शिल्पी भएकै कारण उनीभित्र क्यान्सरभन्दा खतरा मानिने कुण्ठाको बास छैन् । अहंकार छैन, न पछुतो नै । 

">

प्रशासकदेखि मन्त्री हुँदा सम्म कहिले फाइलभित्रको बेरुजु अंक बदर गरे त कहिले कविताभित्र हिसाव नमिलेको फाइल सदर गरे । घडीको समय रोकिए पनि कुखुराको डाँकबाट समय पैंचो लिने सामथ्र्य माटोबाट जुटाए । एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ, अरु कति अनगिन्ती पहाड उक्लिन बाँकी छ । पाँचसय सिर्जना सहित चारवटा उत्कृष्ट गीतका एल्वम ल्याएपछि पनि संगीतको तिर्खाले उनलाई छोडेको छैन । गीतसंगीत एउटा बान्की हो ।  फूटबल खेलजस्तै  । अरुले पास मिलाएपछि मात्र सफल गायक नामको पेले जन्मिन्छ । गीतकार र संगीतकार जगभित्रका ढुंगा हुन् । जसले संगीतको घरलाई अड्याउने काम गर्छन् । 

नेपाली संगीतका हस्ती नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापा यी तीन रत्नको मेल विशेष चर्चित छ । यिनीहरु ठट्टा गरेर बसे भने पनि केही नै केही सार्थक संगीत कोरल्छन् भन्ने मान्यता थियो । नारायणगोपाललाई धेरैले सोध्थे– ‘राम्रो गीत गाउन के गर्नुपर्छ दाइ ?’ उनको सहज उत्तर हुन्थ्यो– ‘राम्रो गीत गाउन त गीतै गाउनु पर्छ ।’ नारायणगोपाल संगीतको मामलामा कति संवेदनशील थिए भने राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘मस्र्याङदी नदी नरमाइलो सुसाइरहेको....’ गीतको हरफमा मस्र्याङदीको सुसाई आफ्नै मनले अनुभूति गर्न स्वयं मस्र्याङदी नदी तट पुगेका थिए ।

">

फत्तेमान राजभण्डारीले गाएको ‘बनै खायो डढेलो’ गीत नारायणगोपालले संगीत भरेर आफैंले स्वर दिन ठीक पारेका थिए । कालीप्रसाद रिजाललाई उनले ‘मोरी’ भन्ने शब्द अशिष्ट भएको भन्दै निकाल्न  आग्रह गरे । सर्जक रिजालको दलील थियो– ‘अहँ, हुन्न । गीतको प्राण नै त्यही मोरीमा छ ।’ त्यही शब्दको उहापोहमा नारायणगोपालको भागबाट त्यो गीत फत्तेमानको भाग्यमा सर्यो । 

आशावादी मानिसहरु  भन्छन्– ‘हरेक विहान संकल्पसाथ उठ, हरेक बेलुकी सन्तुष्टिपूर्वक सुत ।’ यही समभावले  एस्पी र आलोकश्रीको जोडी समयलाई मञ्जुर भयो । चारवटा अल्वमरुपी असल सन्तान जन्मिए । अझ भनौं यो जोडी संगीत क्षेत्रलाई फाप्यो । एस्पीको सिर्जना, आलोकश्रीको तालमा नेपालका सिद्धहस्त कलाकारदेखि बलिउडका चर्चित कलाकारको तान खापियो ।

आधा जिन्दगी रित्तिसक्यो भनेर कहिले शोक मनाएँ
अझै बाँकी रहेछ ठानेर उत्सव मनाएँ
जसरी हेर्यो त्यस्तै देखिन्छ जिन्दगी बल्ल होस पाएँ । 

एस्पीको शब्दमा आलोकले भरेको सांगीतिक आलोकमा सानले आलाप दिएपछि सांगीतिक बजारमा अर्को रंग थपियो । यसैगरी गुलाम अली, उदितनारायण, कविता कृष्णमूर्ति, सञ्जीवनीजस्ता सिद्धहस्त कलाकारको स्वरले एस्पी र आलोकको जोडीमा निकटताको पाइन थप्दै गयो ।  

समयले मागेको ‘समय’

स्वर्णपदक वास्तवमा सुनको बनेको हुँदैन । यो त पसिना, दृढता र हिम्मतबाट निसृत हुन्छ । हाम्रो परिप्रेक्ष्यमा साहित्य, संगीत सिर्जना एकप्रकारको जुवा हो । तर एउटा सपना चकनाचुर भएर अर्को सपना देख्नु नै जिन्दगी हो । संसारमा जति काम भएका छन, त्यसको जमिन भनेकै आशा र विश्वास हो । समय आफैंले किमार्थ काँडा उमार्दैन । प्राप्ति त करनी अनुसार भरनी हो । एस्पी र आलोकको ‘समय’लाई रसदपानी पुगेको एउटा स्वस्थ शिशुको पदार्पण भन्न मिल्छ । मानिस कर्मको हकदार हो, परिणाम भगवानको लीला हो । सिर्जनाको हकमा त झन् यो अक्षरश लागू हुँदैन । यद्यपि ८४ वर्षका प्रेमध्वज प्रधानदेखि नातिपुस्ताका कलाकारलाई एउटै यात्रामा समेट्नुले यो एल्बम एउटा संगीतको संग्रहालय भन्न अप्ठ्यारो मान्नुपर्दैन ।

">

 

‘एक बुँद पानी रारा तालमा झरे...’ भन्ने गीतले दर्शनशास्त्रको उपल्लो तौल बोकेको छ भने ‘घैया धान झुल्यो...’ हाक्पारेमा रौसिएको छ । ‘काँधमा खकन, हातमा टेकन...’ शब्द यो पसिनाको कथा हो । नूनदेखि सुनसम्म यही खकनमा अटेको विश्व भोगेर आएका स्रष्टाले नोस्टाल्जियालाई गीतमा थपक्कै उतारेका छन् । अर्थशास्त्रीय दृष्टिले पनि खकनवाला पात्रको स्वर बलियो बनेर उपस्थित छ । राष्ट्रियताको बहस कान्लामाथि र कान्लामुनि फरक फरक चलिरहेका बेला तराईलाई पाउ, पहाडलाई जिउ र सगरमाथालाई शिर मानेर गीतको गेडो उन्ने एस्पीको चतुर्याईं वास्तवमै कालजयी छ । ‘एस्पीको जुँगा चल्यो, आलोकले कुरा बुझ्यो’ यही उक्ति यो जोडीको सफलतापछिको रहस्य मान्नुपर्छ । त्यसैले नभनेरै धेरै बुझिने यो मिलाप नेपाली सांगीतिक आकासमा चर्चित हैन, लोकप्रिय बन्नेमा दुइमत छैन् । 

">
 

एस्पी कोइराला ‘समय’