समाचार

प्रचण्डलाई कार्यकारी अध्यक्ष र पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने तयारी

प्रचण्डलाई कार्यकारी अध्यक्ष र पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने तयारी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अपराह्न ४ बजेदेखि सुरु भएर जारी रहेकाे छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसिरहेकाे छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने बारे छलफल भइरहेकाे स्राेतकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ ।

स्वास्थ्य उपचारको लागि आराम गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि भदौ ५ मा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रुपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो  ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् । वरिष्ठ नेता झलनाथ खनालको घटेको वरीयतालाई सम्बोधन गरेका ओलीले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘कार्यसम्पादन मूल्यांकनका आधारमा’ मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यसमेत गरेका छन् । यो विषयमा उनले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका छन्  ।

स्रोतका अनुसार नयाँ मन्त्रीका रुपमा पूर्वएमालेबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, महेश बस्नेत, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, वसन्तकुमार नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा पूर्वमाओवादी केन्द्रबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्टलगायतको नाममा छलफल चलिरहेको स्रोतले जनाएको छ  ।

प्रधानमन्त्री ओली शनिबार हेमोडायलासिस गरी अस्पतालबाट फर्केका थिए ।