समाचार

बल्ल मिल्यो बाजुराका स्याउ किसानलाई राहत

बल्ल मिल्यो बाजुराका स्याउ किसानलाई राहत

बाजुराः स्याउ टिपेर सधैँ गाईगोरु, भैँसीलाई खुवाउँदै गरेका बाजुराका स्याउ किसानले यति बेला भने बोटमै तीस लाखभन्दा बढीको स्याउ बिक्री गरेका छन् । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने जगनाथ, स्वामिकार्तिक, गाउँपालिका र बूढीनन्दा नगरपालिकाका कृषकले उत्पादन गर्दै आएको स्याउ अनुसा कन्स्ट्रक्सन प्रालिले बारीबाट नै खरिद तथा ढुवानी गरिदिएपछि उनीहरूले तीस लाखभन्दा बढीको स्याउ बिक्री गरेका हुन् ।

कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदानको व्यवस्था मिलाएपछि सो कन्स्ट्रक्सनले उनीहरूको स्याउ बारीमै गएर खरिद गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए । बाजुराको पूर्वोत्तर क्षेत्रको जगन्नाथ, स्वामिकार्तिक, गाउँपालिका र बूढीनन्दा नगरपालिका स्याउ कृषकले उत्पादन गरेको स्याउलाई उक्त कम्पनीले उनीहरूकै स्याउ बारीमै गएर प्रतिकिलोे २५ रुपैयाँका दरले खरिद गरेपछि किसानले बारीमै ३० लाखभन्दा बढी रकम आम्दानी गरेका हुन् । सो क्षेत्रमा उत्पादन भएको स्याउ ढुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले अनुदानको सूचना जारी गरेपछि बाजुरामा रहेको अनुसा कन्स्ट्रक्सन प्रालिले उनीहरूको स्याउ बारीबाट प्रतिकिलो २५ का दरले खरिद गरेको हो ।

किसानले उत्पादन गरेका अर्गानिक वस्तु सहजै कोसेली घरमा आउने गरेको छ । स्याउ पनि यसै कोसेली घरमा जम्मा भएपछि अहिले देशका विभिन्न ठाउँमा बिक्री वितरण भएर बाजुराको पहिचान गरिएको छ । सात सय क्विन्टल स्याउ देशका विभिन्न सहरमा पुर्याएपछि ६० लाखभन्दा बढीको कारोबार भएको सूचना अधिकारी जैसीको भनाइ छ । यी स्याउ काठमाडौं, चितवन र नेपालगञ्जमा ६० क्विन्टल, धनगढीमा एक सय क्विन्टल र अन्य बाजुराका विभिन्न स्थानमा बिक्री वितरण भएको केन्द्रका सूचना अधिकारी जैशीले जानकारी दिए । 

व्यापारिक सहर धनगढीबाट बाजुरामा ल्याउने स्याउको प्रतिकिलो १५० र बाजुरामै उत्पादन गरेको अर्गानिक स्याउको प्रतिकिलोको ८५ रुपैयाँमा बिक्री भएको थियोे । यो वर्षमा जिल्लाभन्दा बाहिर कुल सात सय क्विन्टल स्याउको कारोबार भएको छ । जिल्लाको जगनाथ, स्वामिकार्तिक बूढीनन्दा नगरपालिकामा मात्र स्याउ उत्पादन हुने गर्दछ् । यो वर्ष त्यहाँ १३ सय क्विन्टल स्याउ उत्पादन भएको छ ।

गत वर्ष बाजुराको गौमुल गाउँपालिकामा पनि नयाँ प्रविधिबाट स्याउ खेती सुरु गरेको छ । जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकास शाखाले परीक्षणका रूपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको सुरुवात गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो । फाइल फाेटाे

बाजुरा स्याउ