मुख्य समाचार

वन संरक्षणमा रेन्जरले खेलेको भूमिका महत्वपूर्णः अध्यक्ष प्रचण्ड

वन संरक्षणमा रेन्जरले खेलेको भूमिका महत्वपूर्णः अध्यक्ष प्रचण्ड

चितवनः पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्दै उनले विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए । 

सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उनको भनाई थियो । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै काम गर्नुपर्ने चुनौती संरक्षणकर्मीमा रहेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले समन्वयकारी भूमिका निर्वाह गरी काम गर्नुपर्ने औल्याए । संरक्षण र विकास सँगसँगै अघि बढाउनु आफैमा चुनौतीपूर्ण रहेको भन्दै प्रचण्डले विकासमा दबाब छ भने । वन र वन्यजन्तु संरक्षणमा नेपालले केही क्षेत्रमा विश्वमानै उदाहरणीय कार्य गर्न सफल भएको उनले बताए । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो जीवनलाई जोखिममा राखेर संरक्षण गर्ने रेन्जर सच्चा ‘हिरो’ भएको बताए । दुर्लभ वन्यजन्तु बाघ, गैँंडा जस्ता जनावरको सङ्ख्या वृद्धि गरी चोरी शिकार नियन्त्रण गरेर नेपालले अन्तर्राष्ट्रिय समुदाय सामु गरेको वाचा पूरा गरेको मन्त्री बस्नेतले जानकारी गराए ।

शून्य चोरी शिकार नेपालको सफलता भएको भन्दै उनले यस कार्यमा संरक्षणकर्मी र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । मन्त्री बस्नेतले रेन्जरको काममा प्रभाव पार्ने मुद्दामा छलफल गर्नुका साथै साझेदारीका अवसर सिर्जना गर्नमा यस सम्मेलनले ठूलो अवसर प्रदान गर्ने बताए ।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’