यौन-शिक्षा

यौन–भोक, भोग र सम्भोग ?

यौन–भोक, भोग र सम्भोग ?

यद्यपि, यौनका बारेमा कुरा गर्ने हामीसँग स्पष्ट भाषा छैन । निश्चित माध्यम छैन ।मानिस सबैभन्दा बढी उत्सुक यौनमा छ । त्यही मानिस सबैभन्दा बढी यौनमै विमुख हुन बाध्य छ । यौनलाई कसरी हेर्ने, कसरी बुझ्ने ? फ्रेन्च शब्द सेक्जे र ल्याटिन सेक्सस मिलेर बनेको शब्द सेक्स अर्थात् यौन । जसको अर्थ भोक, भोग र सम्भोग अर्थात् रतिसँग मात्र छैन । यौनले गुप्ताङ्ग र लैंगिकता, सम्भोग र प्रजनन, यौनाकर्षण र चेतना, यौन संशय र संहिता तथा यौन निग्रह र उन्माद आदिलाई पनि जनाउँछ । 

काम र जीवनदर्शनको ठूलो पाटो पनि यौनसँग जोडिएको छ । स्त्री र पुरुषबीचको स्पष्ट भेद पनि यौन हो भने सम्बन्धको बलियो सेतु पनि यौन हो । मानव जीवनका आधारभूत चार पुरुषार्थमध्ये काम यौनमा आउँछ । सबैभन्दा प्राचीन ऋग्वेदले धर्म, अर्थ र कामपछि मोक्ष प्राप्तिको बाटो तय गरेका कुरा पाइन्छ । संस्कृतमा दुई शब्दको एउटा वाक्य छ— धमार्थकामेभ्यो नमः ! कामसूत्रको रचनासूत्र हो, यो वाक्य । धर्म र अर्थसँगै कामलाई वन्दना गर्दै यही वाक्यबाट कामसूत्रको श्रीगणेश गरे वात्स्यायनले । कामसँगै मानिस अनेक भाव र भावनासँग जुध्छ ! मानिसको जटिलता देखेर नै सायद महर्षी वात्स्यायनले कामसूत्र लेखे । यौनलाई कामदर्शनका रूपमा व्याख्या गरे । आचार्य ओशोले यौनलाई ऊर्जा माने । वेदले मोक्ष र ब्रह्मप्राप्तिको माध्यम मान्यो । 

यौनलाई बुझ्न यौनारम्भमा जानुपर्छ । जसलाई वयःसन्धि पनि भनिन्छ, अंग्रेजीमा प्युवर्टी । प्युवर्टी नै मानव जीवनको एउटा ढोका हो । यसैले यौवनको ढोका खोलेर यौनारम्भमा प्रवेश गराउँछ ।  किशोरावस्थाको प्रवेशद्वार हो, प्युवर्टी । जीवनको वसन्तकाल ! सौन्दर्यमुखी हुन्छ मानिस । मदकाल अर्थात् कामऋतुमा प्रवेश गर्छ । प्रकृतिजस्तै प्राणी–जीवन पनि ऋतुचक्रमा घुम्न थाल्छ । यौनेच्छ सुरु हुन्छ । हामी ठान्छौं युवाकाल हो तर युवा हैन, यौवनकाल हो, यो । 

यौनेच्छा अर्थात् यौनको आवश्यकतालाई मात्र बुझेर युवा वा वयस्क हुँदैन । यौनको मर्यादालाई पनि बुझ्नुपर्छ । प्रीति र रति यौनेच्छासँग गाँसिएका छन् । तर प्रीतिको आफ्नै रीति छ । रतिको आफ्नै गति छ ।  एउटा क्रियाबाट उत्पन्न हुने प्रक्रिया हो– यौनेच्छ । प्युवर्टीको वाइप्रडक्ट (सह–उत्पत्ति) हो, यो । जब यो प्रक्रियामा मानिस प्रवेश गर्छ उसले आफूलाई युवा ठान्न थाल्छ तर हैन ।

यौनलाई यौवनसँग, यौवनलाई यौनसँग र यौवन तथा यौन दुवैलाई युवासँग गाँसेर हेरिन्छ । तर मानिस जन्मदेखि मृत्युपरन्त यौनसँग गाँसिएको छ । मानिस सधैं यौनिक प्राणी हो । यौवन जीवनको एउटा ‘ककटेल’ समय–अवधि मात्र हो । युवासँग यौन र यौवनको सम्बन्ध छैन ।

यौनलाई परिभाषित गर्न कुन कोणबाट हेर्ने ? त्यसैमा भर पर्छ यौनको परिभाषा । यौनिक सक्रियता सुरु हुनु भनेको युवा हुनु हैन, एक अर्थमा यौवन हुनु मात्र हो । यौन जैविक हो । यौवन शारीरिक हो । युवा मानिसिक अर्थात् ‘स्टेट अफ माइन्ड’ हो । यौवनको सम्बन्ध शरीरसँग हुन्छ । युवाको सम्बन्ध चेतनासँग । यौवन यौनको भोको हुन्छ । युवा विचारको भोको हुन्छ ।