मुख्य समाचार

कालापानी क्षेत्रमै भारतीय फौजका ८ क्याम्प

कालापानी क्षेत्रमै भारतीय फौजका ८ क्याम्प

दार्चुलाः नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरू भने ६ महिनामा विस्थापित हुन्छन् । कालापानीबाट १८ किलोमिटर दक्षिणमा रहेको व्यास गाउँपालिका–१ छाङरुस्थित सीतापुल प्रहरी चौकी केही हप्तामै विस्थापनको तयारीमा छ ।

छाङरुबाट १२ किलोमिटर पूर्व (चीन) तर्फ रहेको व्यास–१ कै टिंकरस्थित छियालेक चौकीका प्रहरी ५ कात्तिकमै सीतापुल झरिसकेका छन् । अब दुवै चौकीका प्रहरी व्यास गाउँपालिका–२ राप्लास्थित दुम्लिङ चौकी झर्दै छन्, जुन कालापानीबाट ६३ किलोमिटर दक्षिणमा छ । यो छियालेक र सीतापुलका प्रहरीलाई हिउँदका ६ महिना राख्न स्थापना गरिएको अस्थायी चौकी हो । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ) को कमान्डमा १३ प्रहरी कार्यरत छन् ।

यो वर्ष हिउँ पर्न थालेपछि टिंकरमा कार्यरत प्रहरी सीतापुल झरेको बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । थप जाडो हुँदै गएपछि त्यहाँबाट पनि तल दुम्लिङमा झर्ने उनले बताए । यद्यपि, सीमाविवाद आएपछि सो क्षेत्रमा मनिटरिङ निर्देशन दिइएको उनको भनाइ छ । यीबाहेक कालापानीबाट निकै टाढा दक्षिणतर्फ हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेव चौकी छन् ।

खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन् । तर, सदरमुकामबाट टिंकरसम्म सडक अवरुद्ध हुँदा यो वर्ष गस्ती नै निस्किएको छैन । भारतले महाकाली नदीकिनारमा सडक बनाउँदा नेपालतिर दुम्लिङदेखि छाङ्ग्रुसम्मको करिब ६० किलोमिटर बाटो पूर्ण रूपमा अवरुद्ध छ । यहाँका नागरिक भारतीय बाटोबाट आवतजावत गर्न बाध्य छन् । 

भारतीय सुरक्षा फौज भने कालापानीबाट पनि अघि बढेर टाटा क्षेत्रसम्म गस्तीमा आइरहन्छन् । सीमा क्षेत्रको भारतीय बजार धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म भारतले भने १५ स्थानमा २८ क्याम्प बनाएर सुरक्षा फौज तैनाथ गरेको छ । २० क्याम्प भारततर्फ छन् भने आठ क्याम्प नेपाली भूमी गुँजी, कालापानी र नाभिढाङ अतिक्रमण गरेर राखेको छ ।

भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुँजी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी (इन्डियन तिबेतियन बोर्डर पुलिस), एसएसबी र भारतीय सेनाका दुई गुल्म छन् । कालापानीबाट लिम्पियाधुरातर्फ नाबिढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छन् । 

गुँजी, कुटी र नाबी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । ती नेपाली नागरिकका बस्ती थिए । बस्ती त अहिले पनि छन्, तर नागरिक सबै भारतीय बनाइएका छन् । नेपालमा मालपोत तिरेका ती गाउँ अहिले भारतीय कब्जामा छन् । विभिन्न सुविधाको ललिपप चखाउँदै नेपालीलाई भारतीय नागरिकता दिलाइएको छ । अहिले पनि उनीहरूलाई रासनदेखि ग्यास, यातायातलगायतमा सुलभ सुविधा छ । धार्चुलासम्म आउजाउ गर्न हेलिकोप्टरको सुविधा दिएको छ । 

धार्चुलातर्फबाट कालापानी क्षेत्रको प्रवेशद्वार छियालेक (भारततर्फ) मा हेलिप्याडसहितको कुमाउ स्काउटको भारतीय सैनिकको गुल्म र एसएसबीको क्याम्प छ । छियालेकबाट तीन किलोमिटर उत्तरतिर पर्ने गब्र्याङमा आइटिबिपी र एसएसबीको क्याम्प छ । छियालेकबाट उत्तरतिर कालापानीसम्म भारतीय सैनिकले नियमित गस्ती गर्छन् । पछिल्लोपटक ५ कात्तिकमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आइएस घुमानले यो क्षेत्र भ्रमण गरेका थिए । नेपालतिरबाट पाकिस्तानी आतंककारीहरूको घुसपैठ हुन सक्ने भन्दै एक महिनादेखि सीमाक्षेत्रमा क्षेत्रमा भारतीय सैनिकहरूको संख्या बढाइएको छ । भारतीय सैनिक क्याम्पमा सामान बोक्ने भरियाहरू छियालेकमा सैनिक संख्या थपिएको बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कालापानी दार्चुला भारतीय फौज