समाचार

विवादित भूमिमा सुरक्षापोष्ट थप गर्ने सरकारको तयारी

विवादित भूमिमा सुरक्षापोष्ट थप गर्ने सरकारको तयारी

काठमाडौं । पछिल्लाे समय भारतले जारी गरेकाे नयाँ नक्सामा नेपालकाे भूमि कालपानी, लिम्पियाधुरा र लिपुलेककाे विवाद भूमिमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा राज्य ब्यवस्था समितिको बैठकमा उनले दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेपनि विवादित भूमिमा सुरक्षापोष्ट थप गर्न तयारी भइरहेकाे बताए।

कालापानी विवाद ६ दशक लामो भएकाले त्यसको समाधानका लागि सरकार गम्भीर रहेको पनि मन्त्री थापाको भनाइ छ । बैठकमा समिति सदस्य एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने भारतबाट मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई अन्तर्राष्ट्रियकरण तत्काल गर्न नहुने बताएका थिए । ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने दाहालको भनाइ थियो ।

समितिका अन्य सदस्यहरुले भने सीमा मिचिएको विषयको छलफल कर्मचारी तवरबाट नगरी उच्चस्तरीय राजनीतिक तवरबाट खोज्न सुझाव दिएका छन् । समिति बैठकमा प्रधानमन्त्री केपी ओली भने सहभागी भएनन् । समितिले भारतले नेपालको सीमा मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई पनि बोलाएको थियो ।