भिडियो Breaking News

सेनाको काम देखिएन, अब सीमाको रक्षा गर्न पठाउनुपर्छ (भिडियोसहित) 

सेनाको काम देखिएन, अब सीमाको रक्षा गर्न पठाउनुपर्छ (भिडियोसहित) 

पूर्व रक्षा मन्त्री एवम नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सीमाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनु भएको छ । 
नेपाल आजसंगको विशेष साक्षात्मकारमा बोल्दै नेता प्रधानले सशस्त्र प्रहरीले सीमा रक्षाको त कुरै छोडै सीमाबारे यथार्थ तथ्य र सूचनासमेत संकलन गर्न नसकेको आरोप लगाउनुुभयो । उहाँले देशको सार्वभौमिकता र अखण्डतामाथि चुनौती थपिएकाले अब सीमा जोडिएका सबै ठाउँमा सेनालाई खटाउनुपर्ने धारणा राख्नुभयो । 

भारत र चीनसंग सीमा जोडिएका क्षेत्रमा विवाद समाधान हुनुकोसाटो विवाद बढ्दै जानु सुखद नभएको प्रधानको भनाइ छ । दुवै मुलुक नेपालका लागि असल छिमेकी भएपनि सीमा विवाद बल्झिदै जानु राम्रो नभएको उहाँले बताउनुभयो । 

आफू रक्षा मन्त्री हुँदा सीमा सुरक्षाबारे सेनासंग चासो राख्दा सन्तोषजनक जवाफ नपाएको उहाँको अनुभव छ । 

प्रधान भन्छन्, ‘ सेनाको काम भनेको ठेक्कापट्टा र ब्यापार मात्र गर्ने जस्तो देखियो । कहिलेकाहिं बाढीपहिरी पीडितको उद्दार, भूकम्प लगायतका विपत्ति र चुनावमा सुरक्षका लागि खटिनु बाहेक सेनाको काम देखिएन । खाली बस्नु भन्दा सेनालाई सीमा सुरक्षाको जिम्मा दिनु उपयुक्त हुन्छ । ’

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल नै सबैभन्दा उपयुक्त हुने प्रधानको भनाइ छ । देशका बिभिन्न स्थानमा भैरहेको प्रदर्शन भारत विरोधी नभइ राष्ट्रप्रेमको प्रष्फुटन मात्र हो । नेपाली कांग्रेस लगायत कुनैपनि दल भारत विरोधी होइनन् । देशमा भैरहेको प्रदर्शन राष्ट्रिय चिन्ता मात्र हो । यो कुरा सबैले बुझ्नुपर्छ । 

प्रधानले भन्नुभयो, ‘ प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद परीक्षणको घडी आएको छ । चुनावमा जसरी उहाँले राष्ट्रवादको छवि बनाएर मत संकलन गर्नुभयो, त्यो कायमै छ वा समाप्त भैसक्यो भन्ने अब थाहा हुन्छ । यसपटक प्रधानमन्त्रीलाई कांग्रेस लगायत सबै दलले साथ दिएका छन् । राष्ट्रियतको मुद्दामा कति अडानपूर्वक उहाँ उभिनसक्नु हुन्छ, त्यो अब परीक्षण हुँदैछ । ’

अहिले कतिपयले आवेग र उत्तेजनामा अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने कुरा गरेका छन् नी भन्ने प्रश्नमा प्रधान भन्छन्, ‘ त्यो समय अहिले आएको छैन । तत्काल त्यो जरुरी छैन । कालापानी, लिम्पियाधुरा, लिपुलेकसहित भारतसंगको सीमा विवाद हामी वार्ताबाट हल गर्न सक्छौं । भारत हाम्रो असल छिमेकी हो । दुवै देशका प्रधानमन्त्रीबीच राम्रो मित्रता छ । मलाई विश्वास छ, संवादबाट यो हल हुन्छ । ’