समाचार

अब पण्डितले नागरिकता हेरर मात्र विवाह गराउने !

अब पण्डितले नागरिकता हेरर मात्र विवाह गराउने !

जाजरकोटः विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।  

पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन् ।

एक तथ्याङ्कअनुसार जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदलगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गर्दछन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई चिर्न यस्तो अभियान चलाइएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।
 

जाजरकोट नागरिकता विवाह