कला साहित्य

पितृभक्तिको महिमा

पितृभक्तिको महिमा

कौशिक नामका एकजना ज्यादै घमण्डी तपस्वी थिए । उनलाई आफ्नो तपस्याको ज्यादै घमण्ड थियो । तर एउटा पतिब्रता स्त्रीले उनको सबै घमण्ड चकनाचुर पारिदिइन । उनले ती ब्राह्मणलाई भनिन– ‘तपाईंलाई धर्म भनेको के हो ? यो कसरी हुन्छ भन्ने थाहा रहेनछ । यदि थाहा हुन्थ्यो भने यतिका अज्ञानताको भारी बोकेर आफूलाई ज्ञानी र धर्मात्मा भन्न कसरी सक्नु भयो होला ? यदि धर्मका बारे जान्ने इच्छा भए मिथिलाका धर्मव्याध कहाँ जानुस् । उनले तपाईंलाई धर्मको अर्थ र मर्म सम्झाउने छन् ।’ ती स्त्रीका कुराले कौशिकलाई लाज र आश्चर्य लाग्यो । धर्मव्याधलाई भेटन तत्काल मिथिला रमाना भए । 

उनी पुग्दा धर्मव्याध मासु पसलमा मासु बेचिरहेका थिए । कौशिकलाई देख्नासाथ उनले भने– ‘ब्राह्मणदेव, मैले हजुरको के सेवा गर्न सक्छु ? तपाईंलाई ती पतिब्रता स्त्रीले पठाएकी रहिछन् ।’ व्याधको कुरा सुनेर कौशिक तीन छक्क परे । त्यसपछि व्याधले उनलाई घर लगी यथोचित अतिथि सत्कार गरे । आतिथ्य स्वीकार गरेपछि कौशिकले उनलाई सोधे– ‘धर्मव्याध, तिम्रो काम तिमी सुहाउँदो रहेनछ । तिमीजस्तो धर्मात्माले मासु बेच्ने काम कसरी गर्न सकेका छौ ?’

कौशिकको जिज्ञासा सुनेपछि धर्मव्याधले जवाफ दिए– ‘ब्राह्मणदेव, म आफ्नो धर्मअनुसार बाबुबाजेले चलाउँदै आएको काम गर्दछु । म आफू मासु खान्न तर मासु बेच्छु । म असल कामबाट सकेसम्म पछि हट्दिन । मलाई बृद्ध र गुरुहरुको सेवा गर्ने ठूलो शोख छ । सधैं सत्य, मीठो बोल्ने, अरुको रिस डाह नगर्ने कोशिस गर्दछु । आफ्नो क्षमताले भ्याएसम्म दानधर्म गर्दछु । निन्दा र प्रशंसा गर्ने दुवैलाई समान व्यवहार गर्दछु ।’
धर्मव्याधका यी कुरा सुनेपछि कौशिकले जिज्ञासा राख्दै सोधे– ‘तिम्रा सबै कुरा सही छन् । तिम्रो सिद्धिबाट यो प्रमाणित हुन्छ । तर मलाई आश्चर्य लागेको छ– यो सिद्धि कहाँबाट कसरी प्राप्त गर्यौ ?’

व्याधले शान्त स्वरमा जवाफ दिए– ‘गुरुवर, मैले कुन धर्म गरेर यो सिद्धि प्राप्त गरें भन्ने जान्न चाहनु हुन्छ भने मसंग आउनुहोस् ।’ यति भनेर तिनले कौशिकलाई आफ्नो मातापिता भएको ठाउँ लिएर गए । उनी भन्छन– ‘उहाँहरु मेरो मातापिता हुनुहुन्छ । म उहाँहरुलाई देवता ठान्छु । म देवतालाई पूजा गर्ने सवै विधि नछोडी पुज्दछु । चित्त दुख्ने कुनै काम गर्दिन । यसैकारण मलाई यो सिद्धि प्राप्त भएको हो । तपाईंले आफ्ना मातापितालाई त्यागेर हिँड्नु भएछ । यो ज्यादै नकाम भयो । अब गएर आफूलाई सच्याउनुस् । मेरो विचारमा पितृसेवाभन्दा ठूलो अरु सेवा छैन् ।’

धर्मव्याधको कुरा सुनेपछि कौशिक कृतार्थ भए । उनले धर्मव्याधलाई धन्यवाद दिँदै भन्न लागे– ‘तिमीसंग भेट हुनु मेरो ठूलो भाग्य रहेछ । अब म घर गएर मातापिताको सेवामा समर्पित हुन्छु ।’ यति भनेर कौशिक घर फर्किएर बाआमाको सेवामा लीन भए । 

कौशिक व्याध