समाचार Breaking News

बलात्कार प्रयास अभियुक्त महरालाई कस्तो सजाय होला?

बलात्कार प्रयास अभियुक्त महरालाई कस्तो सजाय होला?

काठमाडौं । आफू माथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दिएकी रोशनी शाहीको जाहेरी पछि बलात्कार प्रयास तथा यौन दुराचार अभियुक्त कृष्ण बहादुर महरा पक्राउ परेका छन् ।

पीडित शाहीको किटानी जाहेरीलाई आधार मानी प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई  प्रहरीले पक्राउ गरेकाे हाे।

शाहीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर जबरजस्ती करणी उद्योगमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

महरा यौनदुराचार प्रकरणमा गत  शुक्रबार गृहमन्त्री रामबहादुर थापा आफैले इनिसियसन लिएका छन् । उनी कडा एक्सनमा उत्रने लक्षण देखिएको छ ।

गृहमन्त्री थापाले शुक्रबार आइजिपी सर्वेन्द्र खनालसहितको बैठक राखेका थिए । बैठकमा गृहमन्त्री थापाले  अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पीडित रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएको हुनाल उनी पक्राउ परेका हुन्।

अभियोग प्रमाणित भए कानुनअनुसार उनलाई ५ वर्षसम्म जेल सजाय हुनेछ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ।

जबरजस्ती करणीको  प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ।

यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुने छ ।