कला साहित्य समाचार मनोरञ्जन

प्रख्यात संगीतकारको दुुखद अन्त्य

प्रख्यात संगीतकारको दुुखद अन्त्य

भागवत गीताग्रन्थप्रेमी विथोवनको जन्म सन् १७७०, डिसेम्बरमा जर्मनीको बोन शहरमा भएको थियो । बाजे कोलोनर शहरस्थित राजदरबारमा संगीत सञ्चालक थिए । पिता जोवान एक व्यावसायिक गायक र भायोलिन बादक थिए । उनका छोरा लुडविग विथोवन बाउ बाजेभन्दा पनि तेज भए । ११ वर्षको उमेरमा नै उनी संगीतकार क्रिसचयन नीर्फको चेला बनी संगीतको शिक्षा लिन थाले । त्यसपछि सन् १८०२ सम्म हाइडन र मोजार्टजस्ता महान संगीतज्ञसंग ज्ञान लिई ३० वर्ष पुग्दानपुग्दै प्रख्यात संगीतज्ञ बने । 

जवानीको उर्लिदो बैंस चढेका बेला उनको खडेरी जीवनमा एक चञ्चल  युवती जिलियटा गिकार्डी बसन्त बनेर प्रवेश गरिन । विथोवनले ती युवतीलाई तन, मन, धनले सुसम्पन्न बनाए । उनको प्रेममा विथोवनले ‘मुनलाईट सनेट’ जस्तो विख्यात सिर्जना बनाए । तर सबै कुरा परिपूर्ण भएपछि सुख सुविधाका सवै सामान लिएर गिकार्डी नेपल्स भागिन । उनले अर्कै केटा रोजेर विवाह गरिन । आफूले सम्पूर्ण समर्पण गरेकी पत्नीले यसरी धोका दिएपछि विथोवनको जीवन अस्तव्यस्त बन्यो । डाँको छोडेर आलाप विलाप गर्दै रोए । यता महत्वाकांक्षीको जिलियटाको जीवन भने जस्तो सुखद भए । विथोवनबाट लगिएको सारा सम्पत्ति सकियो ।

एक पैसाका निम्ति पनि भीख माग्नुपर्ने अवस्था आयो । उनलाई विथोवनको यादले सताउन थाल्यो । विथोवनलाई छोडेकोमा पछुतोले घेर्न थाल्यो । त्यतिखेर विथोवनको लोकप्रियता उत्कर्षमा थियो । उनी अत्यन्त ऐश्वर्यशाली जीवन विताइरहेका थिए । त्यसको विपरीत गिकार्डीको जीवन सकसपूर्ण बन्दै गइरहेको थियो । यो अवस्था उनकै मूर्खतापूर्ण व्यवहारका कारण आइलागेको थियो । 

जब विथोवनले जिलियटाको दुरावस्थाको विषयमा थाहा पाए, उनले आर्थिक सहयोग गरी उनको सारा संकट हरिदिए । जिलियटा रुँदै चिच्याउँदै कृतज्ञता व्यक्त गर्न आइन तर विथोवनले भेटन इन्कार गरे । उनलाई बोक्रे सहानुभूति मन परेन । विथोवनको ‘फोर्थ सिफनी र एपेशियोनेटा’ संगीतमा मोहित भएर हँगेरीकी मोरी मेरी थिएसे उनीप्रति आकर्षित भई । यी दुई बीच प्रेमको पीङ खुब मच्चियो । विवाहका लागि सम्पूर्ण तयारी पूरा भयो । तर विथोवनको आर्थिक हैसियतमाथि प्रश्न उठाएर केटीका परिवारले विवाह रोकिदिए । कसैको माया पाउन गरिएको दोस्रो प्रयाश पनि खेर गयो । विथोवनका लाखौं प्रशंसक भए पनि उनको चाहिँ कोही भएन । 

आफ्नो समयमा आफ्नाहरुलाई अत्यन्त सहयोग गरी हजारौं, लाखौं खर्च गरे पनि जीवनको उत्तराद्र्धमा आफ्नो सहोदर भाइको शरणमा पर्दा पनि पैसा तिरेर खानुपर्यो । विमारी भएर अस्पताल जानुपर्दा घरमै बग्गी भएपनि दूधवालाको गाडीमा शरण लिएर अस्पताल जानुपर्यो । अस्पतालबाट घर फर्किएको केही दिनमै उनलाई तेज ज्वरो आयो । अस्पताल जान अशक्त भएपछि उनले भतिज कार्ललाई डाक्टर बोलाइदिन आग्रह गरे । कार्लले नोकरलाई भनेर  आफू विलियर्ड खेल्न हिँड्यो । नोकरले तीन दिनपछि डाक्टर बोलाएर ल्यायो । तर अब धेरै ढिला भइसकेको थियो । विथोवन घाट लाने अवस्थामा पुगिसकेका थिए । 

२६ मार्च सन् १८२७ को मध्यान्हमा अचानक एउटा भयंकर आँधी आयो । दिउँसै रात परेजस्तो भयो । यस्तो प्रलयकारी तूफान कि मानौं केही न केही विनास गरेरै छोड्छ आखिर भयो त्यस्तै । त्यस आँधीले जर्मनीका महान संगीतकार विथोवनलाई लिएरै गयो । विथोवनले अन्तिम अवस्थामा दुवै हात शून्यमा बढाएर  च्याप्प समातेको जस्तो गरे । मानौं देवदूतसंग हातमा हात समाएर जान लागेका हुन । अनि विस्तारै सदाका लागि शान्त भए । 
अचानक अर्को आँधी उत्पन्न भयो । त्यो सुखद आँधी थियो । उनको प्राण पखेरु उडेको खबर सुन्नासाथ जो जहाँ थिए, त्यहीँबाट उनको दर्शनका लागि कुदे । विना कुनै खबर दशौं हजार मानिस शवयात्रामा सहभागी भए । विथोवनको स्वर्गवासपछि उनको डेस्कमुनि फ्रेम गरेर अत्यन्त आकर्षक ढंगमा सजजाएर जडेको एक अभिव्यक्ति पाइयो ।

गीतामा श्रीकृष्णले आत्मा अमर छ भनी बुझाउने सिलसिलामा अर्जुनलाई दिएको सन्देश– ‘जो छ, त्यो म नै हुँ, जो थियो त्यो म नै हुँ, अनि म नै हुँ त्यो सदा रहिरहने छ ।’ आज दुई शताब्दी पार हुन लाग्दा पनि लुडविन विथोवनको संगीत अगाडि पप र विटल्स संगीत सूर्यको अघिल्तिर बत्ती बालेजस्तो मात्र छ । उनको संगीत अहिले पनि सगरमाथाजस्तै उच्च छ । आउने शताब्दीमा झन् कालजयी बन्नेमा शंका छैन् ।  

भागवत गीता विथोवन