समाचार

हाई प्रोफाइल जुवाडेलाई अदालतले छाडेन

हाई प्रोफाइल जुवाडेलाई अदालतले छाडेन

काठमाडौँ।  बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै निवेदन दिएका जुवाडेहरुलाई सबैको म्याद एकसाथ तामेल गरेर एकै साथ हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ ।

भाइटीकाको अघिल्लो दिन राजधानीको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिइएका २५ जनामध्ये १४ जनाले प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले विक्रम गौतमको घरमा चलिरहेको जुवा खालमा छापा मारी निर्माण व्यवसायी, ठेकेदार, व्यापारीलगायतका ‘हाई प्रोफाइल’ जुवाडेहरुलाई पक्राउ गरेको थियो।

ठूलो रकमसहित जुवा चलिरहेको सूचना पाएर प्रहरीको टोली छापा मार्न पुग्दा केही हाई प्रोफाईल व्यापारी र व्यवसायीले बरु खालमा भएको पैसा लिन तर आफूहरुलाई पक्राउ नगर्न आग्रह गरेका थिए। प्रहरीले जुवाको खालबाट नगद रकमका अलावा बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससमेत बरामद गरेको थियो।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।   

 

जुवाडे पक्राउ