समाचार

एकैदिन लाखौं रुपैयाँसहित १०३ जुवाडे पक्राउ

एकैदिन लाखौं रुपैयाँसहित १०३ जुवाडे पक्राउ

काठमाडौंः देशका विभिन्न भागमा गैरकानुनी रूपमा जुवातास खेल्ने–खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन् ।

भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
 
सोमबार बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट तीन लाख रुपैयाँ नगद बरामद भएको छ ।

यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट दुई लाख ८२ हजार रुपैयाँ १७ जना  र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् ।

उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । 

यसैगरी चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार रुपैयाँ नियन्त्रणमा  लिइएको थियो ।

दाङको लमही नगरपालिका–५ सोमबार बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित ६ लाख ७८ हजार रुपैयाँ बरामद भएको थियो ।

जुवातास पक्राउ जुवाडे