अपराध सुरक्षा

राजधानीमा घुम्न आएकी किशोरीलाई बन्धक बनाइ जबर्जस्ती यौनसम्पर्क, ग्राहकसमेत ल्याईयो

राजधानीमा घुम्न आएकी किशोरीलाई बन्धक बनाइ जबर्जस्ती यौनसम्पर्क, ग्राहकसमेत ल्याईयो

ललितपुर । 
स्थान : ललितपुर,गोदावरी, ठैब नगरपालिका
मिति : २०७६ असोज ३० गते 

गोदावरी नगरपालिका– १४ ठैबका सुमन नेपाली र ललितपुरको दुर्गम स्थानबाट राजधानी हेर्न आएकी १५ वर्षीया एक किशोरीको लखनखेलस्थित सार्वजनिक शौचालय नजिक अचानक भेट हुन्छ । पहिलोपटक भेटिएका सुमनले किशोरीलाई विभिन्न प्रलोभन देखाउँछन।

क्याफेमा राम्रो काम लगाइदिने, खान र बस्न फ्रि हुने, राम्रो पैसा कमाइ हुने प्रस्ताव सुनेर काम पाइएकाे भन्दै किशोरी दंग पर्छिन । सुमनले गोदावरी नगरपालिका–१४ ठैबमा विशाल तामाङको वेलकम क्याफेमा किशोरी लैजान्छन् । विशालले उनलाई वेटरको रुपमा काममा लगाउँछन्।

आर्थिक संकटले झेलिएकी किशोरीलाई सुमनले यौनधन्दामा बढी रकम कमाउन सकिने प्रलोभनमा पार्छन । त्यसपछि उनलाइ एक कोठामा बन्धक बनाइ यौनशोषणको काम सुरु हुन्छ । सुरुमा सुमनले नै किशाेरीमाथि यौनशोषण गर्छन । त्यसपछि विशालले । विशालले साथी पनि ल्याउँछन् । सुरुको दिनमा उनलाई तीन जनाले शोषण गर्छन ।  

अब उनको दैनिक कोठामा बन्धकी बस्नु र ग्राहक कुर्नु हुन्छ । ग्राहक ल्याउन सुमन र विशाल नै खटिन्छन ।  कात्तिक २ गते प्रहरीकहाँ कोठामा बन्धक बनाएर यौन व्यवसायमा लगाइएको सूचना पुग्छ । खोजीकार्यमा जुटेको प्रहरीले कात्तिक ४ गते किशोरीको उद्धार गर्छ ।

किशोरीलाई विभिन्न प्रलोभन देखाएर क्याफेमा लगि यौन व्यवसायमा लगाएको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएस्पी गौतम मिश्रले बताए। पाँच दिन क्याफेमा बसेकी किशाेरीमाथि दर्जनभन्दा बढी बलात्कारको शिकार बनेको प्रहरीको भनाइ छ । यौनसम्पर्क गरेबापत किशोरीलाई दिने भनिएको रकम पनि विशाल र सुमन मिलेर बाँडेका थिए ।

पक्राउ परेका विशाल र सुमनमाथि मानव बेचविखन तथा जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित किशोरीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।