अपराध सुरक्षा

जबर्जस्ती करणीपछि हत्या गरेर अमेरीका भागेका १९ वर्षपछि पक्राउ

जबर्जस्ती करणीपछि हत्या गरेर अमेरीका भागेका १९ वर्षपछि पक्राउ

काठमाडौँ । जबर्जस्ती करणीपछि घाँटी थिचेर हत्या गरी भागेका एक व्यक्ति १९ वर्षपछि अमेरीकाबाट पक्राउ परेका छन् । उनलाई नेपाल ल्याइएको छ । २९ असोज ०५७ मा झापा चन्द्रगढी–३ बस्ने सन्ध्या राजबंशीलाई जबरजस्ती करणीपछि घाँटी थिचेर हत्या गरेकाहरु पक्राउ परेका हुन् ।

बलात्कारपछि हत्या गरिएकी सन्ध्याको शव चारआली जंगलमा झुण्ड्याइएको अवस्थामा फेला परेको थियो । प्रहरीले इन्टरपोलसँगको सहकार्यमा फरार अभियुक्त लिलाराज गौतमलाई नेपाल ल्याएको हो। सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेपछि फरार भइ अमेरिका पुगेका झापा चन्द्रगढी–३ का उनलाई नेपाल ल्याइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

२९ असोज २०५७ मा गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी–३ की सन्ध्याको सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेका थिए।

छोरीको हत्यापछि बाबुले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले गौतमसहितलाई पक्राउ गरी जिल्ला अदालत झापामा मुद्दा दर्ता गरायो । सो मुद्दामा २१ कार्तिक ०५८ मा  झापा जिल्ला अदालतले गौतमसहितका अभियुक्तलाई सफाइ दिएको थियो । सफाइ पाउनुअघि उनी पुर्पक्षका लागि १० महिना थुनामा बसेका थिए ।

पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै सुरु आदेश सदर गरेपछि सो मुद्दा सर्वोच्चमा पुग्यो । ०६६ भदौमा सो मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले लिलाराज समेतलाई जन्मकैदको फैसला गरेको थियो । फैसलापछि नै उनी फरार रहेका थिए । 

फरार रहेका उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसको आधारमा गौतमलाई बुधवार अमेरिकी प्रहरीले नेपाल प्रहरीलाई बुझाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।