समाचार

ईतिहासको भिडियो बनाउँदै डा. प्रेमसिंह बस्न्यात, सहयोग गर्न अपिल

ईतिहासको भिडियो बनाउँदै डा. प्रेमसिंह बस्न्यात, सहयोग गर्न अपिल

काठमाडौँ । पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले नेपाल एकीकरणदेखिको ऐतिहासिक विषयबारे जानकारीमुलक भिडियो बनाउन चाहेको भन्दै सहयोगको अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् –‘नेपाली ईतिहास लेख्ने, थप गर्ने र जोगाउने काममा सरकार र ईतिहास विभाग र तत सम्बन्धी प्रा. डा. समेत को खासै चासो नदेखिएकाले सकिन्छ भने हाम्रो ईतिहास बचाउने र लेख्ने जिम्मा मेरो र तपाईंको पनि हो।’

उनले नेपालको एकीकरण, चीन तिब्बत युद्ध, नेपाल अंग्रेज युद्ध लगायतबारे आफूले लेखेको स्मरण गर्दै अहिलेको भिडियो रिपोर्ट नेपाल भित्र र भारतीय भूमिमा नेपालीहरुले लडेका युद्ध र युद्धमा प्रयोग भएका किल्ला र गढीहरुको समेत इतिहास दर्शाउने गरी तय गरिने उल्लेख गरेका हुन् ।

भिडियो अंग्रेजी र नेपाली भाषामा हुने तथा राष्ट्रिय स्तरका टेलिभिजनबाट सर्वसाधारणलाई जानकारीका लागि प्रसारण गर्ने उल्लेख गरेका छन् । आर्थिक सहयोग गर्नेको नाम, फोटो र दिएको रकमसमेत सुरुमैँ प्रसारण गरिने उल्लेख गर्दे उनले नेपालभन्दा बाहिर रहेर सहयोग गर्नेको नाम फोटो र रकम उल्लेख गरिने जनाएका छन् ।

भिडियोका लागि ४५ दिन लाग्ने, जिप, ड्राइभर र क्यामेरामेनसमेत गरी ३ जनाको टोली बनाएर काम गर्ने तर आफूले निःशुल्क काम गर्ने उनको भनाइ छ । नेपालका के कति स्थानमा पुग्ने, नेपाल बाहिर कहाँ कहाँ पुग्ने भन्नेबारे सबैसँग सल्लाह गरी तिहार पछि काम सुरु गर्ने योजनामा आफू रहेको उनले जनाएका छन् ।