समाचार

‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’सम्बन्धी प्रशिक्षण भारतमा सुरु

‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’सम्बन्धी प्रशिक्षण भारतमा सुरु

काठमाडौं – नेपालका विभिन्न सरकारी निकायका १८ अधिकारीहरुलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी दाेस्राे समूहकाे विशेष तालिम आजबाट भारतको बैंगलोरस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नारकोटिक्समा सञ्चालन भइरहेको छ ।  

उक्त प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको जनाइएको छ ।  नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको छ । विभिन्न कार्यक्रमअन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइने जनाइएको छ । 

नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ ।

प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ । यसअघि २० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसीर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् ।