अपराध सुरक्षा

घरमा ग्राहक बोलाइ बेश्यावृत्ति

घरमा ग्राहक बोलाइ बेश्यावृत्ति

भक्तपुर । महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएका तीन जनालाई अदालतले जेलचलानको आदेश दिएको छ । गत भदौ २३ गते पक्राउ परेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्ने २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सविना तामाङ (गुरुङ) लाई जेल चलानको आदेश दिएको हो ।

जिल्ला अदालत भक्तपुरले तीनै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि जगन्नाथदेवल कारागार काठमाडौँ पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ परेकाहरुले मध्यपुरथिमि नगरपालिका–९ बोडे सिन्टीटारस्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापतिलगायतले विभिन्न पुरुष बोलाई मादक पदार्थ सेवन गराई महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाले उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले छापामा मारी उनहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।