समाचार

मेलम्चीको काम पुन: सुचारु

मेलम्चीको काम पुन: सुचारु

काठमाडौँ।  राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको बाँकी काम ९ महिनापछि सुचारु भएको छ । केही दिनअघि सिनो हाइड्रो र मेलम्ची खानेपानी आयोजनाबीच ठेक्का सम्झौता भएपछि काम सुचारु गरिएको हो ।

आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले कार्यस्थलमा ठेकेदार कम्पनी गइसकेको उल्लेख गर्दै काम सुचारु भएको बताए । ‘ठेकेदारले दक्ष कामदार ल्याएपछि काम सुरु भएको छ’ उनले भने । सुरुङको बाँकी काम १२ महिनाभित्र र हेडवर्क्सको निर्माण १५ महिनाभित्र सम्पन्न हुने जानकारी खत्रीले दिए । ‘अब सम्झौता भएको मितिले १५ महिनाभित्र सबै काम सम्पन्न हुन्छ’ उनले भने। 

 तर, १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गर्ने समयसीमा तोकिए पनि अस्थायी हेडवर्क्सबाटै मेलम्चीबाट सुन्दरीजलमा पानी ल्याएर राजधानीमा वितरण थालिसक्ने आयोजनाको लक्ष छ । आयोजना निर्माण गर्ने पूर्व ठेकेदार कम्पनी सीएमसीले गत पुसमा ठेक्का सम्झौता तोडेपछि काम अवरुद्ध भएको थियो । त्यसपछि सरकारले फाष्ट ट्याकबाट काम गर्ने निर्णय गरेको थियो ।

निर्णयसँगै ८ वटा ठेक्का सिधै स्थानीय भेन्डरलाई दिइएपनि सुरुङ र हेडवर्क्सको ठेक्का आह्वान गरेको थियो । हिमाल हाइड्रो र सिनो हाइड्रोबीच भएको प्रतिस्पर्धामा सिनोले सुरुङ र हेडवर्क्स निर्माणको ठेक्का पाएको हो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।