समाचार राजनीति

चिनियाँ राष्ट्रपति सीले मधेशवादी दललाई नभेटेकोमा बाबुरामको असन्तुष्टि

चिनियाँ राष्ट्रपति सीले मधेशवादी दललाई नभेटेकोमा बाबुरामको असन्तुष्टि

काठमाडौं - पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले चीनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण र राजनीतिक दलका नेताहरुको भेटमा मधेशवादी दल र आफ्नो दललाई नभेटेपछि असन्तुष्टि देखाएका छन्। सामाजिक सञ्जालमा टुईटरमा सरकारले ध्यान नपुर्‍याएको टिप्पणी उनले गरेका हुन्। 

ऐतिहासिक नेपाल भ्रमणका लागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाइ भन्दै बाबुरामले  भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान नपुर्या‍एको लेखेका छन्।  नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति र समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने उनको भनाई छ। 

उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनु पर्ने भन्दै उनले अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्ने र भावनात्मक दूरी बढ्न सक्ने चेतावनी दिए।  उनले भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस भन्दै सुझाव समेत दिएका छन्।