स्वास्थ्य

के तपाईंमा पनि घुर्ने समस्या छ ?

के तपाईंमा पनि घुर्ने समस्या छ ?

घुर्ने मानिस प्रायजसो घरमा पाइन्छन् । यस्तो मानिस आफू शान्त र बेरोकटोकसंग सुत्नु सक्छ । तर उसको घरपरिवार र छरछिमेकी यही कारण आजित हुन पुग्छन् । हाम्रो समाजमा मानिस निद्रामा किन घुर्छ भन्ने बारेमा विभिन्न जनधारणा प्रचलित छ । यी मध्ये एउटा धारणाअनुसार विरालोले जुठ्याएको खानेकुरा खायो भने घुर्ने रोग लाग्छ । अर्को धारणा के छ भने बाघले शिकार गरेर छोडेको जीवजन्तुको मासु खाएमा यसखाले समस्या देखापर्छ । विरालो सुत्दा मानिस घुरेझैं आवाज निकाल्ने, बाघ गर्जिने भएका कारण मानिसमा यस्तो धारणा विकास भएको हुनसक्छ । तर घुर्नुको वैज्ञानिक कारण अर्कै छ । 

घुराईको अचुक औषधी र उपचार विधि अहिलेसम्म पत्तो लाग्न सकेको छैन । उपचारबाट ठीक भएका घुर्नेहरुमा बच्चाको संख्या धेरै छ । जो टन्सिल अर्थात घाँटी र नाकको भित्री भागको अन्तिम छेउमा हुने स्पन्जजस्तै टिस्यूका कारण बोल्न वा सास फेर्न समेत कठिन हुने रोगबाट ग्रसित थिए । वयस्कभन्दा बच्चाहरुको मुख, स्वर ग्रन्थीबीचको खाली भागले कम स्थान ओगटेको हुन्छ । सुन्निएको या यो अंग नै ठूलो भएका कारण श्वासनली साँघुरिन सक्छ । यसखाले घुराई सामान्य शल्यक्रियाबाट निर्मूल पार्न सकिन्छ । 

यदि कसैले नाकबाट फेर्नुपर्ने सास मुखबाट फेर्यो भने यस्तो आवाज निस्कन्छ । हावा मुखबाट जोडले निस्कने क्रममा तालु (मुखभित्रको माथिल्लो भाग) को नरम भागलाई हल्लाउँदै निस्कन्छ । यसरी नरम तालु हल्लिनाले ओठ, गाला, नाक र मुखको अरु मासु हल्लिन पुग्छ । लगातार जोडले निस्कने हावाको कारण मुखभित्रको मासु सुक्छ , जसले गर्दा ती भागहरु जोडले हल्लिन थाल्छन् । यसले गर्दा दिक्क र पट्यारलाग्दो आवाज झन् चर्किन थाल्छ । 
यदि कुनै मानिस उत्तानो परेर सुतेको छ भने उसको जीब्रोले हावा भित्र बाहिर हुने श्वासनलीको केही भागलाई छेकेको हुन्छ । जसले गर्दा उ घुर्ने गर्छ ।

श्वासनलीमा भएको अवरोध कुनै रोग, नाक या घाँटीका मांसपेशीहरु तन्कनाले पनि यो समस्या आउन सक्छ । मोटोपन, एलर्जी, अति मद्यपान तथा धूमपानका कारण मानिसको घुराई अझ बढ्दै गएका प्रशस्त उदाहरण छन् । घुर्ने मानिसले निकालेको आवाज एकैनासको हुँदैन । कसैको घुर्दा फुसफुस आवाज मात्र निस्कन्छ भने कसैको थामिनसक्नुको आवाज आउँछ । यसरी आवाज चर्को र मधुर हुनुको कारण चाहिँ मानिसको मुखभित्र हल्लिने भागहरुको घनत्व, आकार र तन्किन सक्ने क्षमताको साथै  हावाको बाहिर, भित्र हुने गति र हल्लाईको प्रक्रियाले गर्दा हो । ठूलो घुराईको आवाजले घुर्ने व्यक्तिलाई निदाउँदा केही फरक पर्दैन तर घुराई सुनिने स्थानमा बसेका व्यक्तिका लागि यो आवाज झेल्नु शारीरिक यातनाभन्दा बढी कष्टकर हुन्छ । 

निद्रा अन्वेषकहरुले गरेको अनुसन्धानमा उनीहरुले मानिसको आँखाको नानी चलिरहेको अवस्थामा मानिस घुर्ने सम्भावना निक्कै कम भएको पाए । यसबाट यो सिद्ध हुन्छ कि मानिस गहिरो निद्रामा नपरेको अवस्था र सपना देखिरहेको स्थितिमा घुर्ने सम्भावना न्यून हुन्छ । साधारणतया निदाएको एक या डेढ घण्टापछि मानिसको पहिलो घुराई शुरु हुन्छ । यो अवधि मध्यम या गहिरो निद्राको बेला हो । 

वर्षौंदेखि घुराई रोक्ने साधन र रोकथामका उपायबारे कति परीक्षण भए कति । तर सरल र सहज उपचार पद्धति अहिलेसम्म सर्वसाधारणको पहुँचमा आइसकेको छैन । उन्नाइसौं शताब्दीमा किलकिले (जिब्रोको पछिल्लो भागमा कोमल तालुको सानो मासुको टुक्रा) झिक्नु घुराई निर्मूलको प्रचलित प्रयास थियो । कसै कसैलाई सफल भएपनि यसले अरु शारीरिक विपत्ति निम्त्यायो । घुराई रोक्ने उपचार पद्धतिका सयौं अभ्यास भएका छन् ।

धेरैले घुराई निर्मूल गर्ने बोर्ड टाँगेर आफ्नो व्यवसाय पनि चलाएका छन् । यसबाट यो अनुमान लगाउन सकिन्छ कि यी साधनहरु घुराईबाट कसरी छुटकारा पाउने भनेर रातदिन सोच्ने, घुराइ पीडित मानिसकै दिमागको उपज हो । वास्तवमा यी सवै साधनहरु कुनै न कुनै किसिमबाट मुख, चिउँडो या जीउलाई सम्भाली राख्ने साधनका प्रकार मात्र हुन । बहुप्रचारित साधनले तल दिइएका कुनै एक बुँदाअनुसार घुराई रोक्ने प्रयास गर्दछ । 

१) मानिसलाई उत्तानो परेर सुत्न नदिने । 
२) जिब्रोलाई मुखको अगाडि भागमा पारिराख्न मद्दत गर्ने ।
३) मुखबाट सास फेर्न रोक्ने । 
४) मुख बन्द गराइ राख्ने । 

जिउलाई उत्तानो पर्न नदिन साधारणतया सुरुवालको पछिल्तिर भकुण्डो राखी वा एकप्रकारको लगाम जस्तै साधनले सुत्ने मानिसलाई उत्तानो परेर सुत्नुको साटो कोल्टेबाट सुत्न लगाउने साधन हो । अर्को चाहिँ प्लास्टिकको पेटी हो, जसले घुर्ने मानिसलाई कोल्टे सुताउँछ । 
मुख सम्हाल्ने साधनहरु यसरी बनाइएका हुन्छन कि घुर्ने मानिसले मुखबाट सास फेर्न पाउँदैन । यो साधन ओठ र दाँतको बीचमा तल्लो बंगाराको बाहिरपट्टि बस्दछ । जब यससलाई मुखभित्र हालेर सुतिन्छ, तब मुखबाट हावा भित्र, बाहिर गर्न सकिन्न । यदि मुखबाट सास फेर्नाले मात्र घुराई निस्कने भए र सो साधन लगाउँदा हुने असजिलोपना खप्न सक्ने भए घुराई रोक्न यो साधन उपयुक्त हुने थियो ।

अर्को उपाय हो– चिउँडो सम्हाल्ने साधनहरु । यसको उद्देश्य भनेको घुर्ने व्यक्तिलाई सुत्दा नाकबाट सास फेर्न सिकाउनु, मुखबाट सास फेर्न रोक्नु वा चिउँडोमा बल लगाई रहनु हो । जसले गर्दा मुख बन्द होस् । यस्ता साधनहरु मध्ये थोमस कोलार प्रविधि सफल भएको पाइन्छ । यो प्रायश घाँटी सड्क्यो, मक्र्यो भने प्रयोगमा ल्याइन्छ । सुत्दाखेरि असजिलो हुने भएकाले यसको प्रयोग गरिदैन । 
 

घुर्ने समस्या श्वासनली