समाचार

'राणा कालका विकास वर्षौं टिक्ने अहिलेका महिना दिन नटिक्ने ?'

'राणा कालका विकास वर्षौं टिक्ने अहिलेका महिना दिन नटिक्ने ?'

काठमाडौं । विगत लामो समयदेखि मुलुकमा संचालित राष्ट्रिय गौरबको आयोजनाको विषयले संघीय संसदको विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ । समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अबस्था र अनुगमन लगायतका विषयमा छलफल गरेको थियो ।

 

समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए । त्यस्ता आयोजनाको अनुगमन केन्द्रले समयमा नगर्दा समस्यामाथि समस्या बढ्दै गएको बताए । पूर्वप्रधानमन्त्री तथा सांसद झलनाथ खनालले राष्ट्रिय गौरबका आयोजनाहरु अन्तिम चरणमा घिटीघिटी भएर ढिलासुस्ती हुने गरेकाले समयमै अनुगमन गर्नुपर्ने धारणा राखे ।

 

बैठकमा बोल्दै सांसद केदार सिग्देलले यस्ता आयोजनाहरु समयमै सम्पन्न नहुने, गुणस्तर नपुग्ने, लागत बढ्दै जाने परिपाटी महारोगको रुपमा फैलिरहेको भन्दै चिन्ता प्रकट गरे । सांसद टेकबहादुर बस्नेतले राणा कालका विकास अहिलेसम्म डगमगाएको छैन तर अहिलेका विकास भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

 

सांसद जीपछिरिङ लामाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्न आयोजनाको सम्पूर्ण काम प्याकेजमा दिनुपर्ने धारणा जिकिर गरे । उनले त्यस्ता आयोजनाको बारेमा एक पटक पुनः मूल्याकन नगरेसम्म विकास निर्माणको काम अघि बढ्न नसक्ने दावी गरे । अर्का सांसद यज्ञराज सुनुवारले सतर्कता केन्द्र सूचना केन्द्र र अभिलेखालयको रुपमा मात्रै रहेको भन्दै प्रभावकारी रुपमा छानविन गरेर दोषी भेटिए कारबाही गर्ने हिम्मत राख्नुपर्ने धारणा राखे।

 

समिति सभापति कल्याणी खड्काले सतर्कता केन्द्रको भूमिका प्रभावकारी नभएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिइन् । पेन्सिल किन्दा पनि कमिशन खाने परिपाटी भएको अबस्थामा राष्ट्रिय गौरबका आयोजनामा कति अनियमितता भएको होला ? भन्दै सभापति खड्कालेसतर्कता केन्द्रले सबैमाथि छानबिन गर्ने शक्ति हासिल गर्नुपर्ने बताइन् । यो खबर आजको समाचारपत्र  दैनिकबाट लिइएको हो ।

सिंहदरबार सतर्कता केन्द्र

विशेष