राजनीति

तत्काल मन्त्रिपरिषद् पुनःगठन हुँदैनः अध्यक्ष प्रचण्ड 

तत्काल मन्त्रिपरिषद् पुनःगठन हुँदैनः अध्यक्ष प्रचण्ड 

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल मन्त्रिपरिषद् पुनः गठन नहुने बताएका छन् । बुटवलस्थित नेकपाको पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  अध्यक्ष दाहालले सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा गरिरहेको तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

 

यसैबीच, आइतबार नै वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’ को बुटवलमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उनले यस अवसरलाई खेर फाल्न नहुने बताए । 

 

अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाए । उनले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको र सरकारले जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको समेत औँल्याए । 

 

जनतालाई विभिन्न किसिमले भ्रमित बनाउने र कम्युनिष्ट एकतालाई विफल पार्न दायाँ वा बायाँ कोणबाट वा देशीविदेशी शक्तिबाट विभिन्न चलखेल भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “चलखेल निस्तेज पार्न सबैको हातेमालो जरुरी छ ।” उनले विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट आन्दोलनलाई अग्रगमनतर्फ भन्दा पनि रक्षात्मक तरिकाले अघि बढाउनु जरुरी रहेको बताए । 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टी