शेयर अर्थ

अपर तामाकोशीको सेयरमा चलखेल, प्रतिकित्ता ३४२ पुर्‍याएपछि झार्न शुरु  

अपर तामाकोशीको सेयरमा चलखेल, प्रतिकित्ता ३४२ पुर्‍याएपछि झार्न शुरु  


काठमाडौं । अपर तामाकोशीको सेयर खरिदबिक्रीमा व्यापक चलखेल भइरहेको छ । कम्पनीको सेयर मूल्य बढाउने र बजारमा कृतिम चाप देखाएर मूल्यमा तीब्र चलखेल गर्ने गिरोह नै सक्रिय देखिएको हो ।

 
यही चलखेलका कारण आइतबार कारोबार खुलेको केही मिनेटमै यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि नियन्त्रणका लागि नेप्सेले सर्किट लगाएको हो । 

 

यो कम्पनीको सेयर दोश्रो बजारमा सूचिकृत भई कारोबार खुलेपछिको प्रत्येक दिन १० प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको छ । 

 

सेयर बजारमा सरोकारवाला सबै पक्षको मिलेमतोमा सुनियोजित रुपले सेयरमूल्य बढाउने रणनीतिमा रहेको स्रोतले बताएको छ ।

 

हरेक दिनको मार्केट डेप्थमा उच्च खरीद चाप देखाउने र कम्पनीको सेयर मूल्य बढाउने खेल भइरहेको छ । 

 

आइतबार अपर तामाकोशीको दोश्रो बजार मूल्य बढेर ३४२ रुपैयाँ पुगेको थियो । तर अहिले ३ सय भन्दा कममा मूल्य घटिसकेको छ । मार्केट डेप्थमा खरीद अर्डर मात्र २ लाख १४ हजार बढी देखाइएको छ । जुन प्राकृतिक होइन । 

 

एक ब्रोकर र अर्का एक अनुभवी लगानीकर्ताका अनुसार बजारमा मूल्य बढाउने चलखेलकै लागि समेत आवश्यक भन्दा धेरै खरीद अर्डर देखाउने काम भएको छ । ‘मार्केट डेप्थमा देखिएको उच्च खरीद चाप सही होइन, अन्य कम्पनीको पनि मूल्य बढाउनुपर्यो भने हामीले मिलेमतोमा यसै गर्ने हो ।’ नाम उल्लेख नगर्ने शर्तमा ती लगानीकर्ताले भने, ‘खरीदमा देखिएको उच्च चाप कृत्रिम हो, ब्रोकरहरुको समेत सहयोगले केही समूहबाट यस्तो काम हुँदै आएको छ ।’ 

 

बजार मूल्य बढाउने यो शैलीको बिषयमा नियामक धितोपत्र बोर्ड र नेप्सेका उच्च अधिकारी समेत जानकार छन् । तर, यसरी हुने इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्ने तदारुकता अहिलेसम्म कतैबाट पनि देखाइएको छैन ।   

 

सुनियोजित रुपमा अपर तामाकोशीको सेयर मूल्य ५०० रुपैयाँ भन्दा माथि पुर्‍याएर ठूलो परिमाणको सेयर होल्ड गरेकाहरुले सर्वसाधारणलाई महंगोमा सेयर थमाई मार्केटबाट बाहिरिने खेल अहिले चलिरहेको बताइएको छ । यसमा केही संस्थागत लगानीकर्ताहरुको समेत सक्रिय सहभागिता रहेको बुझिएको छ । 

 

यस्तो बेला सर्वसाधारण लगानीकर्ताहरु सचेत हुन जरुरी छ । मूर्गा बन्न भन्दा सचेत भएर बजार बुझेर मात्र सेयर खरिद गर्नु पर्ने जानकारहरुका बताउछन् । सुनियोजित रुपमा बिक्री गर्नैका लागि मूल्य बढाइएको खेलप्रति सजग हुन उनीहरुले आम लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
 

अपर तामाकोशी