समाचार

नेपालमा मात्रै होइन धेरै देशमा छ मोटरसाइकल लिफ्ट सेवा

कहाँ कहाँ छन् यस्ता सेवा ?

नेपालमा मात्रै होइन धेरै देशमा छ मोटरसाइकल लिफ्ट सेवा

काठमाडौं । नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए ।  केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छायो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने सञ्चालक र प्रयोगकर्ता दुबैलाई राहत मिलेको छ । यस्ता सेवा नेपालमा मात्र होइन विश्वका अन्य देशमा पनि लोकप्रिय छन् ।

कहाँ कहाँ छन् यस्ता सेवा ?

चीन

जानकारहरूका अनुसार चीनमा मोटरसाइकल ट्याक्सी सन् १९८० देखि १९९० को बीचमा प्रचलित थियो । बेइजिङ, सङ्घाई र ग्वोङझाओमा अहिले पनि यस्तो सेवा पाइन्छ । त्यहाँ यसलाई निकै सस्तो सार्वजनिक यातायातका रूपमा लिने गरिन्छ ।

भारतको गोवा

भारतको गोवामा मोटरसाइकल ट्याक्सी सेवा पाइन्छ । यो अन्य ट्याक्सीभन्दा सस्तो छ । भाडाको ट्याक्सीको कलर पहेंलो र कालो हुनुपर्छ । पछिल्ला वर्षमा भारतका अन्य सहरमा पनि विभिन्न कम्पनीले यो सेवा उपलब्ध गराउन थालेका छन् । भारतका आठ वटा राज्यले दुईपाङ्ग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि बैधता प्रदान गरिसकेका छन् ।

कम्बोडिया

कम्बोडियाका अधिकांश सहरमा मोटरसाइकल ट्याक्सीलाई सस्तो सार्वजनिक यातायातका रुपमा लिइन्छ । चालकलाई युनिफर्म दिइएको हुन्छ । चालकलाई हेल्मेट अनिवार्य छ । यात्रुले पनि आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउन सक्छन् ।

इन्डोनेसिया

इन्डोनेसियामा लाइसेन्स विनाको यातायातका साधनका रूपमा मोटरसाइकल ट्याक्सी चर्चित छ । यसलाई ‘ओजेक’ नामले चिनिन्छ । भियतनाममा भाडाको मोटरसाइकललाई सामान्य मानिन्छ । त्यसैगरी एसियाका थाइल्याण्ड, फिलिपिन्समात्रै होइन, युरोपको स्वीडेनमा समेत भाडाका मोटरसाइकलहरू चल्ने गरेका छन् ।

ब्राजिल

यस्तै इन्टरनेटबाट प्राप्त जानकारीअनुसार ब्राजिलमा सन् १९९४ देखि मोटरसाइकल ट्याक्सी सुरु भएको हो । बैङ्क अफ ब्राजिलले १० वटा मोटरसाइकल किनेर भाडामा लगाउन सुरु गरेको जनाइएको छ । बाउरु, साओ पाउलो आदि सहरमा सन् १९९६ बाट यो व्यवसाय सुरु थियो ।

मेक्सिको

त्यसैगरी मेक्सिकोमा करिब एक हजार भाडाका मोटरसाइकल ट्याक्सी सञ्चालनमा छन् । नाइजेरिया र लाओसमा लाखौंको सङ्ख्यामा मोटरसाइकल ट्याक्सीहरु सञ्चालनमा छन् । अफ्रिकी देशमा पनि भाडाका मोटरसाइकल प्रचलनमा छन् । लन्डनमा पनि सन् १९९० बाट भाडाका मोटरसाइकल प्रयोगमा आएका हुन् । अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सिटीमा पनि सन् २०११ बाट मोटरसाइकल हायर सर्भिस सुरु भएको हो । क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीलाई आम सार्वजनिक यातायात मानिन्छ ।

फेरि सञ्चालन हुने आशा

'हामी जस्तो धेरै हिँडडुल गर्नुपर्ने मान्छेका लागि टुटल एकदमै राम्रो छ । सार्वजनिक गाडीमा जान भीडभाड र समयमा पनि नपुग्ने, ट्याक्सी प्रयोग गर्न महँगो र जामको समस्या ।' टुटलका नियमित प्रयोगकर्ता अनिता राई भन्छिन्, 'टुटलको सेवा छिटो र सस्तो छ, यो बन्द गर्नु भनेको जनतालाई मर्कामा पार्नु हो ।'

यता बाइकर (बाइक चालक) उत्तम श्रेष्ठ टुटल एप्सले धेरै राहत पुर्‍याएको बताउछन् । उनले भने, ‘पहिले बिहान १० बजे कार्यालय पुग्दा पनि दुईदेखि पाँच जनासम्मलाई लिफ्ट दिन्थेँ त्यस्तै कार्यालय सकेपछि बेलुका ९ बजेसम्म टुटलमा नै सेवा दिइरहेको थिएँ । यसबाट राम्रो आम्दानी भएपछि मैले जागिर नै छोडेर यसैमा लागेँ ।’

'मासिक यति नै कमाउँछु भन्ने त छैन् आफूले जति काम गर्‍यो त्यहीअनुसार आम्दानी हुने हो', श्रेष्ठ भन्छन्, कम्तीमा पनि महिनाको १० देखि १५ हजार रुपियाँसम्म आम्दानी हुन्थ्यो अब पूरै समय यसैमा दिन्छु भन्ने सोचेको थिएँ तर एक्कासी सेवा बन्द गरिने भने पछि म घरको न घाटको नै भएको थिएँ । तर अब फेरि सञ्चालन हुने कुराले आशा पलाएको छ ।'

अर्का बाइकर एन्जिना ताम्राकार पनि आफ्नो काम नै छोडेर टुटलमा नै लाग्ने बताउँछिन्। काममा पाँच हजार रुपियाँमात्र तलब भएकोले काम नै छोडेर यसैमा लागेको तर बन्द हुने भएपछि चिन्ता लागेको उनको भनाइ छ । उनले भनिन्, 'मैले लिफ्ट दिएर दैनिक एक हजारदेखि तीन हजारसम्म कमाएको थिएँ ।'

'विसं २०४९ सालको ऐनमा टेकेर अहिलेको प्रविधि रोक्न मिल्दैन । ऐन भनेको समयसँगै परिमार्जन हुने कुरा हो,' टुटलका सञ्चालक शिक्षित भट्ट भन्छन्, 'आवश्यकता परेपछि साइबर क्राइम ऐन बन्यो, २०५३ मा दूरसञ्चार ऐन बन्यो । त्योभन्दा पहिले यसबारे कुरा गरेको भए मान्छेले के भन्थे होलान ?' दुई वर्षअघिको प्रविधिलाई २६ वर्षअघिको कानुनको तराजुमा जोख्न नहुने उनको तर्क छ ।

'ठाउँमा हामीले सेवा दिएका छौँ । नेत्रहीन तथा अपाङ्ता अर्थात् फरक क्षमता भएकालाई सस्तोमा सेवा दिएका छौं । धेरैलाई रोजगारी दिएका छौं । घाटामा हुँदा पनि सरकारलाई कर तिरेका छौं । हामीले के गल्ती गर्‍यौं?’, उनले भने ।

उनका अनुसार सार्वजनिक सवारी प्रयोग गर्न गाह्रो पर्ने शारीरिक अपाङ्गता भएकाहरू टुटल एपका ग्राहक छन् । एपमै सार्वजनिक हुने भाडा मात्र लिइने हुँदा यात्रु ठगिने सम्भावना कम हुन्छ । काठमाडौँको सवारी चापमा हतारमा रहेका व्यक्तिलाई यसले सहज सेवा दिने भट्टले बताए । टुटलमा अहिले सात हजार चालक जोडिइसकेका भट्टले जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

टुटल, पठाओ मोटरसाइकल लिफ्ट

विशेष