देश राजनीति

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुन्छः प्रधानमन्त्री ओली

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानेर अनुदान उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सोमबार बालुवाटारमा सम्बोधन गर्दै उनले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गरे । 

 

“भूकम्पले खानेपानीका धेरै संरचनामा क्षति पुर्यायो, ती संरचना खानेपानी मन्त्रालय, प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा पुनर्निर्माण हुन्छ, पुनर्निर्माण सबैको साझा कर्तव्य हो मिलेर जानुपर्छ, २०७२ साल माघ २ गते नै शिलान्यास भएका संरचना पनि विवादमा अल्झिएर बनेनन्,’ प्रधानमन्त्री ओलीले भने । 

 

पुनर्निर्माणका कानूनले औचित्यपूर्ण आवश्यकतालाई पूरा नगरे परिवर्तन गरिनेमा उनको जोड थियो । निजी आवास पुनर्निर्माणमा जोखिमपूर्ण वर्गमा परेकालाई प्राथमिकता दिने, अनुगमनलाई अझ प्रभावकारी बनाउने, स्थानीय तहसँग समन्वय गर्ने, दुई वर्षमै पुनर्निर्माणका काम सक्ने गरी बाँकी समयलाई उपयोग गरिने कार्ययोजना प्रधानमन्त्री ओलीले सुनाए । 

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूकम्प कम प्रभावित १८ जिल्लाको पुनर्निर्माण सुस्त रहेकाले ध्यान दिनुपर्नेमा जोड दिए । भूकम्पछि बन्ने एकीकृत बस्तीलाई जीविकोपार्जनसँग जोडिनुपर्ने उनको भनाइ थियो । भूकम्पपछि खानेपानीको मूल सुकेकाले त्यसको अध्ययन गर्न प्राधिकरणलाई मन्त्री ज्ञवालीले सुझाव दिए ।

 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुरक्षा निकाय, शिक्षण एवं स्वास्थ्य संस्थाका भवन पुनर्निर्माणमा प्राथमिकता दिइनुपर्ने बताए । सांसद हरिबोल गजुरेलले विपन्न वर्गका भूकम्पपीडितलाई कम्तीमा रु दुई लाख अनुदान थप्न माग गरे ।  

केपी शर्मा ओली