समाचार पर्यटन समाज

ढोरपाटन आरक्षमा शिकार खुला 

ढोरपाटन आरक्षमा शिकार खुला 

बलेवा । ढोरपाटन शिकार आरक्षमा शिकार  सुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने गरिन्छ । 
पहिलो समय ९असोज–मङ्सिरका लागि १० नाउर र ६ झारलको शिकार हुनेछ । सिकारका लागि शिकार कम्पनीले एउटा नाउरको बढीमा  १२ लाख पाँच हजार र एउटा झारलको  नौ लाख २० हजार राजश्व विभागलाई बुझाएका छन् । 

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट चार कम्पनीले शिकारी पठाउने जिम्मा पाएकामा हालसम्म तीन कम्पनीले विभागसँग सम्झौता गरी १० जना शिकारीलाई शिकारका लागि आरक्षमा पठाउन लागेको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले जानकारी दिए । 


विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका शिकारी आउने गर्दछन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ । 

सरकारले विसं २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो । विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यको रुपमा लिने गरेका छन् । 

पन्ध्र दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने पर्यटकले पानी पिउने बेला, साँझ, बिहान, खाने वस्तुको प्रयोग गरेर वा शारीरिक सम्पर्क भएका बेलाबाहेक अन्य समयमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भोले नाउर वा झारलको मात्र शिकार गर्न पाउनेछन् । 


हतियार, गोली र क्यामेरा विदेशबाटै लिएर आउने शिकारीले हतियार र गोलीअनुसार अनुमति दिएपछि मात्र शिकार आरक्षमा प्रवेश गर्न पाउने कानुनी प्रावधान छ । 
 

ढोरपाटन आरक्षमा शिकार