प्रवास मुख्य समाचार

अमेरिकामा भएको गोलीकाण्डमा एक नेपाली महिलासहित तीनको मृत्यु 

अमेरिकामा भएको गोलीकाण्डमा एक नेपाली महिलासहित तीनको मृत्यु 

वाशिङ्टन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा ४१ वर्षीया नेपाली महिला वृन्दा गिरीसहित तीनको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । 

 

स्थानीय एक कम्पनीमा पार्ट टाइम काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले अन्धाधुन्ध गोली चलाउँदा गिरीसहित तीनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

 

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको छ  भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए । सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो ।

 

श्रीमान काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महीनाअगाडि मात्र त्यहाँ काम गर्न सुरु गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।