कला साहित्य साहित्य आज

पवित्रा राईका ३ कविता

पवित्रा राईका ३ कविता

१.पूर्णबिराम 

सोचिरहेछु 
त्यो आकाशमा बादलले बनाएको 
तिम्रो सुन्दर तस्बीर हेरेर
विज्ञान किन झूट बोलिरहेछ
संसारका हरेक वस्तु नाशवान् छ भनेर

 

मेरो खेतको कान्लो मुनिबाट बग्ने लिपे खोला
निरन्तर बगीरहेछ अनन्त कालदेखि
कहाँ पुगेर सकिन्छ लिपे खोलाको पानी
के भन्न सक्छौं तिमी ?

 

बगेर सागर बन्ने अभिलाषाले
कुदेको कुदै छ नदी
सायद भुल्यो होला नदीले बगर
तर कहिल्यै भुलेन बगरले नदी 

 

हो ठ्याक्कै बगर भएर
उभिएको छु म
नदी भएर बग्यौ तिमी 
र रम्दै हौला कुन समुन्द्रसँग 
तिमी रंगिन भएर रमेको खुसीमा
म भुल्न सक्छु उदासीहरू

 

तिमीले टुङ्गाएर गएको 
मायाको सिलसिला 
अझै गुनगुनाउँछ 
काफलको बोटमा कोइली 
अझै जिस्काउछ सल्लाको पातले सुसेली मार्दै 

 

म लाजले रातो हुन्छु 
र हाँस्छु एक थान लाजको मुस्कान 
अनि झुकाउँछु लाजले नजर
तर प्रियतम
छैनन् ती हातहरु 
जसले उठाउँथे यो चिउँडो समाएर मुहार
र चुम्दथे एक प्रेमिल चुम्बन निधारमा

 

तिमीले जहाँ पूर्णबिराम लगाएर छोडेका थियौ 
त्यहाँ कमा भएर पलाएछन् यादहरू
सकियो भनेर छोडेको ठाउँ त झन्
इन्फिनिटी भएर उदाएको छ

 

सोचेको थिएँ 
पूर्णबिराम पछि सकिने छ प्रेमको अध्याय
सायद सकियो होला तिम्रो लागि
तर मलाई सकिन दिएनन् 
यादका कमाहरूले
सायद नसकिएला पनि
जुगौं जुगसम्म.......

 


२. म, आमा र सरकार

साँझपख,
ओभानो चुल्होको अघिल्तिर बर्षिरहेका आमाका एकजोडि आँखाहरू 
पढ्न खोजें
गालाका चाउरीहरूमा भरिएको आँशुमा प्रतिविम्बित
भान्साका रित्ता भाँडा देखें
चुल्होमा आगो भर्भराएको थिएन
तर, बलिरहेको थियो आमाको छाती
आमाको मुहार,
क्षण क्षणमा फेरिईरहन्थ्यो
‘जस्तो कि मेरो देशको सरकार’

 

आमाको मुहार,
कहिले कठोर देखिन्थ्यो
कहिले लाचार देखिन्थ्यो
म आमाका आँखा पढ्दा पढदै निदाएछु

 

सबेरै,
घामका राता किरणहरुले
मुहारका आँशुका टाटाहरूमा
लाली पोतेर
आमालाई जून बनाइदिएछ

 

लाग्यो,
जूनमा दाग नभएको भए हुन्थ्यो...
लगत्तै मैले देखें,
दाग बढ्दै गयो
मुहारको आभा छोपिदै गयो
आमाको अनुहार
एकैक्षणमा औंशी बन्यो । 


सपनाहरुका ठुला–ठुला होडिङ्बोर्ड राखेर
भ्रमको खेती गर्नेहरुले
नष्ट गरिरहे हजारौं आमाहरुका मुस्कानको फसल
म त्यही मुस्कान टिप्न लगातार हिँडिरहेको छु
म बाटो वारि छु
मलाई बाटोपारी जानु छ
मेरा खल्तीहरु रित्ता छन्
हातहरु खाली छन्
र,
सक्तिन जरिवाना तिर्न
जेब्रा क्रस धुलोले पुरिएको छ 
देखिदैन

 

अलिकती खुशी पनि नबोकी
आमाको सामुन्ने परेको म,
आफूलाई पासपोर्ट बनाउँनेको लाममा भेटें
बिदाईमा रुँदै गरेका आमाका आँखामा भेटें
मरुभूमि तर्फ उड्नु अघि
देशतर्फ आसातित नजरले हेर्दै गरेका
यूवाका जमातमा भेटें
तब म आत्तिएँ,

 

जब रातो बाकस भित्र बन्द भएर फर्किदा
मैले आमालाई भेटिनँ
सायद मेरो मनोदसा आमाले पढ्नु भयो
काखको सिरानी दिएर बिस्तारै भन्नू भयो
सुत बाबु, निदा
‘जस्तो कि मेरो देशको सरकार’

 


३.गाउँदेखि हराएको गाउँ

ओ साथी,
हिमाललाई आफ्नो थाप्लोमा बोकेर 
चाँदी जस्तै टल्केको
खोला र झरना सँग गीत गाउँदै 
कलकल–कलकल बाँचेको
आफ्नो छातीमा सुनगाभा फुलाएर 
हरेकका मुहारभरी फक्रीने गाउँ
आजभोलि हराएको छ रे 
साथी
गाउँ त गाउँदेखी हराएको छ रे ।

 

मैले गाउँ छोड्दा 
गाउँ गाउँमै थियो
उस्ले औंशी जस्तो कालो भएर 
मलाई बिदाईको हात हल्लाएको थियो

 

भन्थ्यो
सम्झिरहनु पर्दैन 
तर नभुल्नु
अचेल गाउँ सम्म पुग्ने गोरेटो 
पुरिएको छ रे
गुराँस टिपेर शीरमा सिउरिदिने कोहि नभएर 
गुराँस र प्रेमिकाहरु 
ओईलिरहेका छन् रे ।

 

यो कस्तो झोला भिरेर हिँड्यौ हामी साथी? 
जो कहिल्यै भरिदैन
यो कुन सपनाको खेती लगाएर 
दिनहु धाँजा फाटेर बाँच्दैछौ हामी? 
मनका भित्ताहरु भत्किएर 
आफ्नै आँखाबाट बगेका खोलाको नुनिलो पानी
अझै कति पिउँने हो
सागर सँगै जोडिएर पनि 
खडेरी बाँचेको यो शहर
अझै कति सिँच्ने हो 
तिम्रो मेरो रगत र पसिनाले ।

 

अब
बन्द गरौं लालचको झोला 
बतासको वेग जस्तो भएर
जाउँ त्यही गाउँमा 
जहाँ हराईरहेको छ
हिमालको छाँया
जहाँ भौतारिईरहेका छन् 
प्रेमिकाहरु
जहाँ पुरिएका छन् 
गोरेटाहरु

 

आउ फर्कौं
अब खोज्नु पर्छ 
आखिर कहाँ गुमनाम भयो
कुन भुइँकुहिरोले छोप्यो
या कुन शहरको धुलोमा पुरियो
साथी,
सँगै मिलेर खोजौं 
गाउँ देखि हराएको गाउँ ।



 

कविता पवित्रा राई