पर्यटन मुख्य समाचार

मुक्तिनाथ क्षेत्रको विकास गुरुयोजना तयार

मुक्तिनाथ क्षेत्रको विकास गुरुयोजना तयार

मुस्ताङ । धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । 


यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गुरुयोजना तयार पारिएकोे सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।


बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५ सय ३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको हो । 
 

लामो समयको प्रतिक्षापछि तयार भएको सोे गुरुयोजना कार्यान्वयनका लागि सरकारी पदाधिकारी तथा सरोकारवालासँग छलफल गरिने उक्त समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए ।  


गुरुयोजनामा मन्दिरलाई व्यवस्थित गर्न र आसपासका क्षेत्रमा आश्रमस्थल, फूलको बगैँचा, भोजनालयलगायत नयाँ संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ । पर्यटक तथा दर्शनार्थीको भीडभाडका कारण जम्मा हुने फोहरलाई विद्युतीय यन्त्रबाट व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ । 

 

मुक्तिनाथ नजिकै रहेको रानीपौवा बजारमा पिसिसी ढलान, तल्लो प्रवेशद्वारदेखि माथिल्लो प्रवेशद्वारसम्म लिफ्ट, मूल मन्दिर यथावत् राखी वरपर रहेका साना मन्दिर जीर्णाेद्धार गर्न प्रस्ताव गरिएकाले प्राकृतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र धार्मिक सम्पदालाई असर नपुग्ने गरी संरचना बनाइने प्रजिअ पौडेलले बताए । 

 

समुद्री सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिरलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी वा यथेष्ट पानी) भन्दछन् । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । 
समितिको कोषमा हाल करिब पाँच करोड छ । योजना अभावमा कोषको बजेट परिचालन हुनसकेको छैन । 


कागबेनीदेखि मुक्तिनाथको रानीपौवासम्म जोड्ने सडक एक वर्षअघि नै कालोपत्रे भएकोमा अहिले म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रेको तयारी भएको छ । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि भारतीय तीर्थयात्रीको आगमन बढेको छ ।
 

मुक्तिनाथ क्षेत्र