विचार समाज

बेहाल विश्वविद्यालय 

निर्भीकजङ्ग रायमाझी 

बेहाल विश्वविद्यालय 

विद्या आर्जन गर्ने स्थानलाई विद्यालय भनिन्छ । जुन ठाउँमा गुरु र शिष्य समीपमा रहेर मौखिक, लिखित, दृष्टान्त वा अन्वेषणको माध्यमद्वारा ज्ञानको आदानप्रदान गरिन्छ त्यस ठाउँ नै विद्यालय हो । प्राचीन गुरुकुल परम्परामा होस् वा नवीनतम इन्स्चिच्युट प्रणाली,  ज्ञान प्रदान गर्ने मूलभुत तरिका जहिले पनि एउटै हुन्छ । 

 

विश्वविद्यालय उच्च तहको अध्ययन–अध्यापन हुने विशुद्ध प्राज्ञिक र प्राविधिक क्षेत्र हो । शिक्षाको उच्च तह विश्वविद्यालयबाट नै प्राप्त गर्न सकिन्छ । नेपालमा अहिले सबैभन्दा जर्जर अवस्थामा रहेको क्षेत्र केही छ भने त्यो शिक्षा र स्वास्थ्य नै हो । स्वास्थ्य क्षेत्र पनि शिक्षासँग नै जोडिने भएकाले यी दुवै क्षेत्रमा तीव्र बेतिथि बढिरहेको छ । विश्व परिदृश्यमा विश्वविद्यालयहरू र शिक्षा प्रणाली कहाँ पुग्यो त्यो हामीलाई कहिले हेक्का नै रहँदैन । यस्तोमा विश्वविद्यालय र यसको वर्तमान स्थितिबारे प्रशस्त बहस हुन जरूरी छ ।

 

विश्वविद्यालयको इतिहास र त्रिवि
विश्वको पहिलो विश्वविद्यालय ‘युनिभर्सिटी अफ बोलोग्ना’ हो । यो विश्वविद्यालय युरोपको इटालीमा सन् १०८८ मा स्थापना भएको थियो । त्यसयता निरन्तर  रूपमा सञ्चालनमा आइरहेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीहरू दिक्षित भइसकेका छन् ।  अक्सफोर्ड युनिभर्र्सिटी पनि विश्वको पुराना विश्वविद्यालयहरूमै पर्छ । एघारौँ शताब्दीमै संयुक्त अधिराज्यमा स्थापना भएको यस विश्वविद्यालयबाट अध्ययन गर्ने २५ जना विद्यार्थीहरू बेलायतको प्रधानमन्त्री भएका छन् भने ५० जना भन्दा बढीले विश्व प्रतिष्ठित नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् । 

 

यस्तै क्याम्ब्रिज विश्वविद्यालय तथा पेरिस विश्वविद्यालय  र इजिप्टको अल अजर विश्वविद्यालय पनि विश्वका पुराना विश्वविद्यालयमा पर्छन् । यो सबै हेर्दा नेपाल लगायत अन्य एसियाली देशहरूमा विश्वविद्यालय खुल्ने क्रम अत्यन्त पछिमात्र सुरू भएको हो । यो नेपालमा त जम्मा ६० वर्षको हाराहारिमा पुग्दैछ । साठ्ठी  वर्षमा त जम्मा दुई पुस्ताले शिक्षा प्राप्त गर्न सक्छन् । यस्तोमा पढाउने को र पढ्ने को ? योजना बनाउने को र कार्यान्वयन गर्ने को ?
यो त वास्तवमा विश्वविद्यालयको शिशुअवस्था हो । यसमा सबै नेपाली र नेपाल सरकारले हेक्का राख्न जरूरी छ । नेपालमा अहिले ११ वटा विश्वविद्यालय र ६ वटा अन्य विश्वविद्यालय जस्तै उपाधि प्रदान गर्नसक्ने चिकित्सा क्षेत्रका संस्था छन् । केन्द्रीय व्यवस्थापिका र सरकारमार्फत यी सबै संस्था स्थापना भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको स्थापना वि.सं. २०१६ साल असार ३० गते भएको हो ।  मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकारले २०६९ साल पुस २४ गतेदेखि केन्द्रीय विश्वविद्यालयको मान्यतासमेत प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालयको ६० आङ्गिक र एक हजार ८४ सम्बन्धन प्राप्त क्याम्पसमा लाखौँ विद्यार्थी एउटा एउटा सपना साँच्दै पढिरहेका छन् ।

 

वर्तमान स्थितिमा विश्वविद्यालय
हाल देशमा नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल, लुम्बिनी लगायतका नयाँ विश्वविद्यालय स्थापना भएपनि विद्यार्थी भर्ना चाप, क्याम्पस सङ्ख्या, वार्षिक बजेट आदिको पक्षबाट हेर्दा उच्च शिक्षा प्रदान गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयले निर्वाह गर्दै आएको भूमिका अतुलनीय छ ।  थुप्रै विश्वविद्यालय स्थापना गरिए पनि त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत विद्यार्थीहरू हाल पनि अध्ययन गर्नुले त्रिभुवन विश्वविद्यालयको महत्त्व र आवश्यकता आफैँ प्रस्ट हुन जान्छ ।  त्रि.विले समयसापेक्ष शैक्षिक गतिविधिमा सुधार गर्दै अघि बढिरहेको छ भने कीर्तिपुर केन्द्रीय क्याम्पसमा सेमेष्टर सिष्टम लागू गरिएको छ । 

 

राष्ट्रले उच्च शिक्षाको क्रममा बहुविश्वविद्यालयको नीति अवलम्बन गरेको छ । विद्यार्थी सङ्ख्या र अन्य पक्षलाई समेत ध्यान राखी क्षेत्रीय आधारमा नयाँ विश्वविद्यालय स्थापना गर्नु आवश्यक देखिएको छ । त्रिभुवन विश्वविद्यालयमा हुने गरेको राजनीतिक नियुक्ति रोकी ज्येष्ठता र अनुभवका आधारमा पदाधिकारी नियुक्ति गरिनु अपरिहार्य भइसकेको छ ।  अधिकांश समय राजनीतिक खिचातानीका कारण नियुक्ति, सरुवा, बढुवा नहुनु, पाठ्यक्रमअनुसार परीक्षा समयमै सञ्चालन गर्न नसक्नु र परीक्षाफल समेत प्रकाशित गर्न नसक्नु यसको कमजोरीको रूपमा लिन सकिन्छ । त्यस्तै गरी राजनीतिक आस्थाकै कारण प्राध्यापक, शिक्षक र कर्मचारीहरू नियुक्ति सरुवा, बढुवा गर्नेजस्ता गलत प्रवृतिलाई समेत सच्याउँदै अघि बढ्नुपर्छ ।  नेपालभरै छरिएर रहेका सम्बन्धन र आङ्गिक क्याम्पसहरूलाई समेत समय सापेक्ष तालिम गोष्ठी राखी शिक्षा क्षेत्रमा आधुनिक प्रवृत्ति, प्रविधिको जानकारीसहित उत्प्रेरित गर्नुपर्छ । 

 

विश्वविद्यालयको साख जोगाइराख्न र अझ अघि बढाउन सबै पक्षसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै शैक्षिक क्यालेण्डर लागू गर्नु आवश्यक छ । त्रि.वि. ऐन नियमलाई समेत समय सापेक्ष परिमार्जन गरी राजनीतिक हस्तक्षेप रोक्ने र ट्रेड युनियनअन्तर्गत खोलिएका संस्थामा सबैलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने देखिएको छ ।  राजनीतिक आस्थाका कारण शिक्षक तथा कर्मचारीको नियुक्ति गर्ने परम्पराको अन्त्यका साथसाथै वर्षौँसम्म पनि विज्ञापन नगर्ने परिपाटीको अन्त्य गर्नु आवश्यक छ । 

 

सीमित स्रोत र साधनले बृहत् कार्यक्रमहरू सञ्चालन गर्दा उच्च शिक्षाको क्षेत्रमा केही समस्या देखिएका छन् ।  अध्ययन संस्थान शङ्कायका पदाधिकारीहरूलाई दिइएको सुविधामा भिन्नता, अनुसन्धान केन्द्रहरू यस विश्वविद्यालयलाई भार बन्दै जानु, शङ्कायमा विद्यार्थी भर्नासम्बन्धी खुलाद्वार नीति अवलम्बन गरिनु, परीक्षा प्रणालीमा वाञ्छित शुद्धता नपाइनु, उच्च शिक्षाको पाठ्यक्रममा समसामयिक परिमार्जन नहुनु, स्तरीय र गुणस्तरीय विद्यार्थी उत्पादन गर्न नसक्नुलगायतका कारणले गर्दा नेपालमा उच्च शिक्षा क्षेत्रमा प्रगति हुन सकिरहेको छैन । 

 

त्रि.वि. विकेन्द्रीकरण ऐन २०४९ लागू गरी त्रि.वि. लाई अझै परिस्कृत गर्दै अगाडि बढाउने कोसिस गरिएको छ ।  सङ्गठनात्मक ढृढता तथा संस्थागत क्षमताको विकास गरी यसको उन्नतिमा सघाउ पु¥याउने मूल उद्देश्यका साथ ऐन ल्याइएको छ ।  यसका आङ्गिक क्याम्पसहरूको संस्थागत कार्य सञ्चालन र विकासका लागि समूचित स्वायत्तता तथा अधिकारलाई एकआपसमा आबद्ध गराई क्याम्पस तथा अनुसन्धान केन्द्रहरूलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनु यसको उद्देश्य रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले समय सापेक्ष वैज्ञानिकीकरण र प्रविधिलाई प्रयोग गर्दै विगत तीन वर्षदेखि कम्प्युटर प्रविधिमार्फत परीक्षा लिने कार्य गरिरहेको छ । त्यस्तैगरी चिकित्साशास्त्र अध्ययन संस्थानले पनि दक्ष चिकित्सक उत्पादनमा टेवा पु¥याउँदै त्रि.वि. को साख जोगाइदिएको छ ।  विद्यार्थीहरूको अत्यधिक चापका कारण परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेण्डर अनुरूप परीक्षा लिने र परीक्षाफल निकाल्ने कार्यलाई तदारुकताका साथ लागे पनि त्यस कार्यले पूर्णता पाउन सकेको छैन ।

 

यसकारण सुधार पहिलो प्राथमिकता

विश्वविद्यालय संवेदनशील संस्था हो । यस्तो संस्थामा प्राज्ञिक दख्खल नभएको व्यक्ति सर्वोच्च पदमा हुनु विश्वविद्यालयको मुहान नै राजनीतिक छत्रछायाको वरिपरि हुनु हो । निश्चित मापदण्ड पूरा गरेका प्राध्यापकमध्ये खुला प्रतिस्पर्धा नै उपकुलपति नियुक्तिको आधार हुनुपर्दछ । रजिस्ट्रार, परीक्षा नियन्त्रक, डिन तथा अन्य सबै पदमा नियुक्ति गर्दा खुला प्रतिस्पर्धालाई नै नियुक्तिको मुख्य आधार बनाउन सके कसैको निगाहमा नियुक्ति पाउने परिपाटीको अन्त्य हुनेछ ।

 

नेपालका विश्वविद्यालयहरू गुणस्तरहीन र भ्रष्टाचारका अखडा बन्नुमा राजनीतिको प्रत्यक्ष हात रहेको छ । राजनीतिक दलहरूलाई विश्वविद्यालयबाट प्राज्ञिक व्यक्तित्व होइन, आवारा फुर्स्दिलो कार्यकर्ता चाहिएको छ, स्वदेशमै उसलाई रोजगारी दिनुपर्दैन, जसको फलस्वरुप हजारौँ तेजराज कँडेल त्रिभुवन विश्वविद्यालयमा एमए गरी कोरियाको कृषि फार्ममा आफ्नो प्राण त्याग्छन् । विश्वविद्यालय राजनीतिक दलद्वारा कसैलाई पनि माया गरेर उपहारस्वरुप प्रदान गरिएको खेलौना होइन्, सारा नेपालीहरूको भविष्य उज्ज्वल पार्न जनताको करबाट सञ्चालित ढुकुटी हो । अबको विद्यार्थी संगठन विश्वविद्यालयले कुनै सानो निर्णयका विरुद्ध कक्षा नै बन्द गरी सडकमा आउने नभई विश्वविद्यालयको प्राज्ञिक सम्पत्ति बन्नुपर्दछ, जसले कुनै अध्यापकको अनुपस्थितिमा कक्षा लिन सकोस् । 

 

के राजनीतिक दल, के विद्यार्थी संगठन, के शिक्षाविद्, के देशका उच्च शैक्षिक प्रशासकहरू, सबैले यो कुराको हेक्का राख्नै पर्दछ । कम शुल्कमा गुणस्तरीय शिक्षा पाउने सबै नेपाली जनताको हक नेपालका सबै विश्वविद्यालयले सुनिश्चित गर्नुपर्दछ । सर्वसाधारणको पहुँचभन्दा कोसौँ टाढा हुने, कार्यक्षमता, दक्षता, गुणस्तर र उत्कृष्टतालाई बेवास्ता गर्ने अधिकार विश्वविद्यालयलाई छैन । यसकारण विश्वविद्यालयलाई नयाँ शैली र संरचनाका साथ सुधार गर्नु अपरिहार्य देखिन्छ ।
 

विश्वविद्यालय निर्भीकजङ्ग रायमाझी 
ADVERTISEMENT