विचार

समाजमा भलाद्मी, इन्टरनेटमा बसेपछि सन्नी लियोनको फ्यान 

समाजमा भलाद्मी, इन्टरनेटमा बसेपछि सन्नी लियोनको फ्यान 

एसिएन मुलुकहरुमध्ये सन् २०१५ को रेकर्ड अनुसार इन्टरनेटको माध्यमबाट सबैभन्दा बढी अस्लिल भिडियो, तस्वीर हेर्ने देशमा मुस्लिम राज्य पाकिस्तान थियो तर त्यसलाई उछिन्दै २०१७ मा भारत विश्वकै तेस्रो बढि अस्लिल कुरा खोजी गर्ने देशको रेकर्डमा बस्न सफल भएको छ । भारतमा सबैभन्दा बढी सन्नी लियोनलाई खोजिन्छ भने त्यसपछिको लिस्टमा छिन कट्रिना कैफ । नेपाल यसरी टप टेन लिस्टमा नभएपनि नेपाली जनसंख्या र इन्टरनेट पहुँच अनुसार निकै अगाडी रहेको जानकारहरु बताउँछन् । 


इन्टरनेटको सुरुवाता कसरी भयो भन्ने इतिहास औंल्याउनुपर्दा सन् १९५० को अन्त्यतिर अमेरिकनहरुले शितयुद्घको अन्त्यतिर टेलिफोन केन्द्रमा हमला हुने भएपछि आफुहरुको बिचल्ली हुने डरले यसको खोजी गरेको देखिन्छ । सुरुमा दुइ कम्प्युटरलाई जोडेका ल्यारी रोबर्टसले सन् १९६७ तिर ५६ किलोवाईट गतिमा सुचना आदानप्रदान गर्ने अवधारणाको विकास गरेका थिए । त्यसपछि क्रमशः इन्टरनेटको विकास भएको बुझिन्छ ।  तर नेपालमा भने इन्टरनेटको सुरुवात सन् १९९४ देखि भएको इतिहास भेटिन्छ । 


मैले पनि इन्टरनेटमा संसारका जे पनि देख्न पाईन्छ भन्ने कुरा आठ, दश कक्षामा पढ्दै गर्दा सुनेको हुँ, बस् त्यही उत्सुकता थियो । म अहिलेको प्रदेश ७ मा पर्ने हिमाली जिल्ला बझाङबाट २०६७ सालमा एसएल सी पास गरेर धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा कम्प्युटर साइन्स विषयमा पढ्न थालेँ । पढाई सुरु भएको केहि दिनपछि हामीलाई कम्प्युटर ल्याब कक्षमा लगियो । कहिल्यै कम्प्युटरमा हात नराखेको मान्छे म । कम्प्युटरमा हात राख्दै गर्दा हात काम्दै थियो । 


पहिलो दिन सरले हामीलाई इन्टरनेट ब्राउज गर्ने, समाचार हेर्ने र टाईपिङ् जस्ता कुरा सिकाउनुभयो । केहि दिनपछि साथिहरुले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल चलाउने गरेको थाहा पाएँ ।

 

 मलाई नआउने भएकाले मैले एकजना साथी मार्फत फेसबुक अकाउन्ट खोलेँ । त्यतिखेर फेसबुकबारे त्यति ज्ञान नभएकाले देश विदेशका साथीहरु बनाउने, जे पेज स्क्रिनमा देखिएपनि लाईक गर्ने गरियो ।

 

अलि–अलि फेसबुकमा म जब अभ्यस्त हुँदै थिए, एक दिन सबै साथिहरु सामूहिक रुपमा कलेजको ल्याबमा बसेर कम्प्युटर आ–आफ्नै काम व्यस्त थियौं । 

 

मैले फेसबुक अकाउन्ट लगईन गरेँ, एक युवतीको नग्न तस्वीरमा मेरो सिधा नजर लाग्न पुग्यो । मैले अरु साथीहरु देख्लान् भन्ने डरले हत्तपत्त फेसबुक बन्द गरेँ । त्यसपछि फेसबुकमा के के हुने रहेछन् भनेर मैले झन् खोजी गर्न थालेँ । तर मैले २०६८ पछि बल्ल अलि–अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थालेँ । तर इन्टरनेटको खास उपयोगिता २०७० मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो । त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो । इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो ।

 

संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट ! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्टीको उदय, भूकम्प र मधेस आन्दोलनले संजालको शक्तिको महसुस गरायो भने यसै बिच अरब स्प्रिंग, लन्डन रायोटले संजालको उपयोग वा दुरुपयोग हुन सक्ने कुराहरु उजागर भयो ।

 

इन्टरनेटको नक्सामा स्मार्टफोनको उदय सँगै “बिचार र बहसको” दृष्टिकोणबाट सामाजिक संजाल पुरै फेरिएको छ । सामाजिक सञ्ंजालको आशक्तिले इन्टरनेट र यस भित्रका असीमित सम्भावनाहरू सीमित भएको छ भने हामी भेडो, लहडी र बकमफुसेमा परिणत हुँदैछौ । डेस्कटपमा जस्तो मोबाइलमा फ्याट्ट खोजी गर्न वा दिइएका लिंकहरू पढ्न सजिलो छैन, महँगो पनि छ । नबुझी, नसोची, नहेरी, रिट्विट, सेयर, लाइक, कमेन्ट गर्छन् धेरै ! त्यसैको फाइदा उठाउँदै रोमान्चक शब्दहरु शीर्षकमा राखेर असामाजिक तत्वहरु भ्रम छर्न सफल भएका छन् । मूलाधारे पत्रकाहरुले पनि बेला बेला यस्ता यस्ता स्टन्ट गर्ने हुँदा झुटको खेती गर्नेलाई बल पुगेको छ ।

 

इन्टरनेट त धान र भुस भरिएको भकारी हो, धान झिक्ने कि भुस त आफैँले हेर्ने हो । तर त्यो भन्दा खतरनाक फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालले हामीलाई वैचारिक चरमता तिर धकेलेकोछ । अधिकांश भिन्न विचार भएकाहरूलाई हामी हटाउँछौ र मिल्ने विचार भएकालाई रोज्छौँ, वैचारिक होमोजेनीटिको तयार गर्छौ । अनि फरक विचार यसै त कटौती भइसक्छ त्यसमाथि फेसबुकजस्ता सामाजिक सञ्जालले त्यसैको आधारमा हामीलाई सामग्री प्रस्तुत गर्छ । अब यिनै सामाजिक सञ्जाल नै हाम्रो सूचना, समाचारको स्रोत भयो भने हामी फरक विचारबाट धेरै टाढा पुग्छौँ र वैचारिक चरमता तिर धकेलिन्छौँ । त्यसैले अहिले हाम्रा विचारहरू ध्रुविकरण भएका छन्, बहसहरू तल्लो स्तरको घिनलाग्दो आरोप प्रत्यारोपमा सीमित भएको छ ।

 

ट्विटर त झन् स्वतन्त्र विचार लेख्ने ठाउँ हो, आफूलाई मनमा लागेको लेख्न पक्कै छुट हुनुपर्छ, तर जिम्मेवार हुनु पर्ने मान्छेहरू नै अतिवादी, जातिवाद, रंगभेदी, भड्काउ अभिव्यक्ति दिन्छन् भने क्षमायाचना गर्न बाध्य पारिनुपर्छ, उसको कार्यालय, संघ र संस्थाले स्पष्टिकरण दिनुपर्छ, उनीहरुलाई बहिस्कार गर्नुपर्छ, उस्तै परे सामान्य सजाय पनि दिनु पर्छ नत्र मलाई डर छ, हामी अराजकता तिर जानेछौँ ।

 

एक जना सरले भनेका थिए “शब्दहरु आफैमा जीवित हुँदैनन्, तर जब शब्दहरु बोलिन्छन् ति जीवित हुन थाल्छन। छेडछाड, व्यंग्य, आरोप, रिस, आवेग, प्रति प्रश्न मात्र व्यक्त गरेर के चाहिँ जीवित होला ? त्यस माथि यहाँ सत्य र असत्यको मतलब हुँदैन । झूटो समाचार र हुइँयाहरूको जग जगी छ । भ्रमित समाचारहरू आगो सरि फैलिन्छ । सत्यको खुलासा त हुन्छ तर झुट स्थापित भै सकेपछि ! यस्तै हो भने प्रोपगाण्डाले मात्र भरिन्छ । हाम्रो मगज, पाकिस्तानीले अमेरिकालाई देखे जस्तो, अमेरिकाले हिलारी देखे जस्तो, नेपालीले भारत देखे जस्तो ?

 

सामाजिक सञ्जालको चरित्र नै हो कि यो सधैं रोमाञ्चक हुन चाहन्छ, सामग्रीहरु भाइरल हुनुमा र विचार तरंगित हुनुमा नै त्यसको भलाई छ । इन्टरनेटमा दाम वा नाम कमाउने धन्दा गर्नेहरुको लागि, राजनीतिक अभिष्ट पुरा गर्न खोज्ने, सद्भाव वा शान्तीमा खलल र्पुयाउन खोज्ने आदिका लागि यो औजार पनि हो। अहिले हुन पनि यस्तै भइरहेको छ । 

 

मानिसहरु पिडितहरुको मर्म नै नबुझि नुन चुक छर्ने काम गरिरहेका छन् । जसलाई जति सम्झाए पनि केही सुधार हुँदैन । यसको लागि सरकार नै नियामक निकायको भूमिकामा उभिनुपर्ने देखिन्छ । अहिले बलात्कार पछिका नाङ्गा तस्वीर, आत्महत्या वा अरु घटना विशेष पनि रक्ताम्मे तस्वीर जस्ताको त्यस्तै पोष्ट गरिएका देखिन्छन् ।

 

उदाहरणका लागि केहिदिन अगाडी कञ्चनपुरमा बलात्कार गरेर हत्या भएको भनिएको १३ वर्षे बालिका निर्मला चन्दको नाङ्गो तस्वीर सामाजिक सञ्जालमा भाईरल बनेको छ । जुन तस्वीर सार्नमा माथि सन्देश र कारबाही माग गर्दै राजनीति दलका सांसद  र केही जिम्मेवार तथा भद्र व्यक्तिबाटै भएको देखिन्छ । तर मान्छेको आँखा सन्देशमा कि त्यो नाङ्गो तस्वीरमा ? उनीहरुले हेक्का राख्न सकेनन् । मान्छे सपार्नभन्दा बिगार्न बढी उत्सुक किन ? यो नै पछिल्लो समयको चासाेकाे विषय बनेकाे छ । 


ट्रम्पको जितले यो कुरा अझै बाहिर आएको छ। तर धेरैको लागि यो रोमान्चकता, अनुत्पादक, भ्रमित र विभाजनमुखी हुन्छ। सामान्य मान्छे नै पनि लाखौँ फलोअर भए पछि शक्तिशाली हुन्छ, त्यसैले उ आफ्नो अभिव्यक्तिले सम्पूर्ण सामाजिक संजाल एकतातिर धकेलिन सक्छ भनेर सचेत हुनुपर्छ। तर रिट्विट हुन सक्ने शब्दहरुको चयन गर्दा गर्दै वा आवेगमा फलाकेका बिचारहरूको कारण नैतिकता, सत्यता, जिम्मेवारीले नराम्रोसँग माटो खान्छ । त्यसलाई शक्ति दुरुपयोग भन्ने कि नभन्ने ? ओबामाले एक पत्रकारको घोचक प्रश्नको उत्तर दिंदा भनेका थिए -“It took me couple of days -to speak in public_ because I like to know what I am talking about”

 

हामीले चेतमा आउनुपर्ने छ, जागरुक हुनुपर्ने छ, सृजनात्मक हुनुपर्ने छ, आउट अफ बक्स सोच्नु पर्ने छ, त्यसैले बोल्नु पर्ने छ तर यो सामाजिक सञ्जालको छाडा महत्वकांक्षालाई काँध हालेर गलत प्रवृतिमा जाना–जान फसिरहन चाँहि घातक हुनेछ । यो जिम्मेवारीको विणा सामाजिक सञ्जालमा लाखौं फलोअर हुनेहरुले उठाउनुपर्छ । उनीहरुको सकारात्मक आवाजहरुले सञ्जाललाई सकारात्मकता तिर धकेल्छ, म त भन्छु सम्पूर्ण देशलाई सकरात्मकता तिर धकेल्न मद्दत गर्नेछ । सबै सामाजिक सञ्जालमा पनि हामी व्यक्तिगत जीवनमा जस्तै जिम्मेवार हुनुपर्छ ! सकारात्मकता त आफैँमा अभ्यास हो । 

 

त्यसो त जबसम्म सजालमा उठ्ने विचारहरूले मूर्त रूप लिन सक्दैन यहाँबाट समाज फेरिन्न, यहाँबाट नेता फेरिन्न, यहाँ बसेर विचार फेरिन्न, यहाँ कराएर अवस्था फेरिन्न । त्यसको उल्टो गलत विचार र नकारात्मकताहरूले मूर्त रुप लिन थाले के होला हाम्रो भविष्य ? यो सञ्जालको राग धेरैलाई महँगो परेको छ हामी पालो कुरी बस्नु गलत हुनेछ ।
 

इन्टरनेट नेपाल एसिएन मुलुक सन्नी लियोन कट्रिना कैफ