कभर स्टोरी अन्तरवार्ता भिडियो

स्कुलमै मदिरा सेवन गर्ने शिक्षकविरुद्ध उत्रँदा मलाई निकाला गरे

स्कुलमै मदिरा सेवन गर्ने शिक्षकविरुद्ध उत्रँदा मलाई निकाला गरे

दुःखीहरूकै सेवाको योजनामा अहोरात्र घोत्लिरहने एक किशोर हुन् १८ वर्षे केपी । ‘कान्छो सामाजिक अभियन्ता’ चर्चित केपी खनालका आमाबाबु अहिले पनि भारतका गल्लीमा चौकीदारी गर्छन् । 

 

उनीआफू भने कहिले दाल चामल बोकेर हुम्लाका गाउँबस्ती पुगिरहन्छन् । कहिले ‘क्लिन काष्ठमण्डप’ अभियानको नेतृत्व गरेर काठमाडौंमा झाडु थमाउँदै फोहर सफा गर्न सडकमा उत्रन्छन् । 

 

अछामको रामारोशनमा जन्मिएका उनी कैलालीको लम्कीमा हुर्के–बढे । १२ कक्षासम्मको शिक्षा त्यहीँबाट पूरा गरे । अहिले गाउँलेको सहारामा नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बिबिएस तहमा अध्ययरत छन् । सानैदेखि नै कुशल नेतृत्व सम्हाल्न माहिर केपी निकै भद्र व्यक्ति मानिन्छन् । उनको बाल्यकाल निकै सम्झन लायक छ ।

 

अछाममा जन्मे सानैमा बसाइँसराइ गरेर आमाबुबासँगै कैलाली झरे । कैलालीमा ७ कक्षासम्म पढ्दासम्म लुकेका केपी जब पहाडको पुख्र्यौली घर अछाम चढे तब नेतृत्व क्रान्ति र सामाजिक सेवामा तल्लीन हुन थाले । अछाममा केपीले पढ्दै गरेको विद्यालयमा एउटा गलत प्रवृत्ति थियो । जसका विरुद्ध केपीले धावा बोले । 

 



उनी पढ्ने स्कुलमा पढाउने शिक्षक मदिरा सेवन गरी होहल्ला गर्थे । तीनै खराब शिक्षकविरुद्ध केपीले कालो झण्डा देखाएर बस्न थाले । आफूविरुद्ध उत्रिन थाल्यो भन्दै केपीलाई कारबाहीस्वरूप विद्यालयबाट निकाला गरियो । त्यसपछि केपी फेरि तराई झरे । तराई झरेपछि केपीमा झन् ऊर्जा थपियो । पढाईलाई सुधार गर्दै लगे । रेडियोमा कार्यक्रम सञ्चालनदेखि विद्यालयमा जुनियर रेडक्रस सर्कलको नेतृत्व गर्दै केपी अगाडि बढ्न थाले ।

 

अहिले केपीलाई पढाईभन्दा सामाजिक सेवा प्यारो बनेको छ । केपी एक शब्द पटक–पटक दाहोर्‍याउँछन्, ‘बोलेरभन्दा गरेर देखाउनुहोस्’ सायद उनलाई नेपालीमा यो प्रवृत्ति हावी भएर होला भन्न मन लागेको । उनी भन्छन्, ‘नेपालमा बोल्नेलाई गर्न दिइँदैन, गर्नेलाई बोल्न दिइँदैन्’

 

उनलाई चाडपर्व, आफन्तभन्दा दिन दुखित पीडितको सेवा गर्न मन लाग्छ । आफू १० वर्षको हुँदादेखि मनमा सामाजिक सेवाको भावनाले जरा गाडेको उनी बताउँछन् ।

 

पछिल्लो समय उनी बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण गर्ने अभियानमा अहोरात्र खटिरहेका छन् । ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने संकल्प बोकेर भर्खर जुँगाको रेखी बस्ने उमेरका केपी सबैका प्यारा बनिसकेका छन् । 

 

विकास सूचकांकमा सबैभन्दा कमजोर मानिएको प्रदेश ७ स्थित बाजुरामा अनाथ बालगृह निर्माण गर्ने महाअभियानमा जुटेका छन् । बूढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीका शिक्षकबहादुर थापाले आमाबाबु गुमाएका ११ अनाथ बालबालिकालाई आफ्नै घरमै राखेर पठनपाठन गराउँदै आएको खबर सुनेपछि खनाल ती बालबालिकाका लागि आवास गृह निर्माण गर्न जुटेका हुन् ।

 

अहिलेसम्म केपीले सामाजिक सञ्जाललगायत देश तथा विदेशमा रहेका नेपालमा रहेका नेपालीहरूबाट रकम संकलन गरी करिब १७ लाख जम्मा भइसकेको बताउँछन् । निर्माणाधीन अनाथ बालगृहका लागि करिब ५० लाखबराबरको लागत अनुमान रहेको छ ।
निर्माणाधीन उक्त भवनमा केपीले ४० जना अनाथ मात्र नभई देशभरका पीडित, अपांग बालिकालाई बालमैत्री वातावरण बनाउने केपीको योजना छ । 

 

आफू यसरी सामाजिक सेवाप्रति उत्प्रेरित भइरहँदा नेपालीहरूमा भने पछिल्लो समय दया, माया र सामाजिक सेवाप्रतिको भावना नै हराउँदै गइरहेको उनी बताउँछन् । यसै विषयमा नेपालका कान्छा अभियन्ता केपी खनालसँग नेपाल आजका लागि प्रताप ओलीले गरेको कुराकानी अंशः



 

केपी खनाल क्लिन काष्ठमण्डप कान्छो सामाजिक अभियन्ता