कभर स्टोरी अन्तरवार्ता भिडियो

मनको आँखाले हेर्छिन्, मनकै आँखाले हेर्न सिकाउँछिन् (भिडियोसहित)

मनको आँखाले हेर्छिन्, मनकै आँखाले हेर्न सिकाउँछिन् (भिडियोसहित)

काठमाडौं । श्रृष्टि केसी ब्लाइन्ड्स रक्स् नामक संस्थाकी अध्यक्ष हुन् । चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा श्रृष्टिको बायोपिक ‘ब्लाइन्ड्स रक्स’ निर्माण भएपछि उनीबारे धेरैको चासो पनि बढ्यो । श्रृष्टिको बुझाइमा आफ्नो जीवनमा बनेको चलचित्रमा केही मसला पनि छन् । व्यवसायिक चलचित्र भएकोले केही ‘ड्रामाटाइज’ भएको छ तर उनको जीवनको मूल कथालाई छाडिएको छैन । चलचित्रमा श्रृष्टिको भूमिका नायिका बेनिशा हमालले निर्वाह गरेकी  छिन् । 

 

उनी १४ वर्षको हुँदा आँखामा समस्या आयो । चिकित्सकले एक औषधि दिए । त्यो औषधिको मात्रा दिइनु पर्ने भन्दा श्रृष्टिको आँखामा बढी हालियो । चिकित्सकले राम्रो निगरानी गरिदिएनन् । सोही कारण उनको आँखामा जलविन्दु भयो । जलविन्दु भएको दुई वर्षमा उनले आँखाको ज्योति पूरै गुमाइन् । 

 

त्यो बेला उनी ‘टिन एज’मा थिइन् । उनले ज्योति गुमाएपछि मानिसहरु उनीसँग कुराकानी गर्न त आउँथे तर कुराको विषय भने फरक हुने गर्दथ्यो । धेरैजसोले ‘जीवन यस्तै हो, चिन्ता गर्नु हुँदैन’ भनेर सम्झाउथे । आँखाको ज्योति गुम्नु कसैका लागि पनि सामान्य विषय हुन सक्दैन । तर पनि श्रृष्टिको आत्मविश्वास र बलियो मनका कारण डिप्रेसनले प्रवेश गर्ने मौका पाएन । 



अहिले श्रृष्टिको संस्थाले मानिसहरुलाई जीवनप्रति ‘मोटिभेट’ गर्छ । ‘मोटिभेस्नल स्पिच’का लागि श्रृष्टि आफै पनि २० भन्दा बढी मुलुक पुगिसकेकी छिन् । उनको जीवनको महत्वपूर्ण उद्देश्य भनेको जीवनप्रति निराश हुन हुँदैन भन्ने सन्देश छर्नु पनि भएको छ । ब्लाइन्ड्स रक्सले अहिले चाहिँ अपांगता भएका वा दृष्टिविहीनहरुका लागि जीवनका केही त्यस्ता खालीपन पुर्न सिकाउँछ, जुन अरु संस्थाले वास्ता गरेका छैनन् । अपंगता भएकाहलाई स्वास्थ्य शिक्षा र रोजगारी मात्रै होइन, सामाजिक अन्तरघुलन पनि आवश्यक पर्छ । 

 

एक दृष्टिविहीन विद्यार्थीले आफ्ना दृष्टि भएका साथीहरुसँग आत्मविश्वासका साथ बोल्न सकिरहेको हुँदैन, एक दृष्टिविहीन रोजगार अर्को सामान्य मानिससँग खाजा खान, खाना खान जान सक्दैन । त्यस्तो खालीपन मेटाउने काम ब्लाइन्ड्स रक्सले गर्छ । 

 

श्रृष्टिले युरोपको एक कलेजबाट उच्च शिक्षा हासिल गरेकी छन् । उनी गीत पनि लेख्छिन् । मानिसहरुलाई उत्पे्ररणा जगाउने प्रवचन दिन्छिन् । श्रृष्टि यस्ता धेरै दृष्टिविहीनहरुका लागि प्रेरणाको स्रोत हुन् जो जीवनमा अपंगताका वावजुद केही गर्न चाहन्छन् ।