समाचार खेल

जर्मनीलार्इ घर पठाएकाे मेक्सिकोसँग ब्राजिलको वास्तविक परीक्षा

जर्मनीलार्इ घर पठाएकाे मेक्सिकोसँग ब्राजिलको वास्तविक परीक्षा

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ को प्रि–क्वाटर फाइनलमा सर्वाधिक विश्वविजेता ब्राजिलले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । ब्राजिल र मेक्सिकोबीचकाे बहुप्रतिक्षित खेल अाज साझा ७ः४५ बजे सामारा एरिनामा हुनेछ ।

 

पाँच पटकको विश्वविजेता ब्राजिल उपाधिको सबैभन्दा उच्च दावेदार हाे । सन् २०१४ मा जर्मनीसँग ७–१ को दर्दनाक हार व्यहाेरेकाे ब्राजिल चार वर्षपछि साविककाे विश्वविजेतालाई घर पठाएर समूह चरण पार गरेको मेक्सिकोसँग भिड्दैँछ ।


 
मेक्सिकोले पछिल्लो ६ विश्वकपमा चार खेलमात्र खेल्न पाएको छ । हरेक विश्वकपमा चौथो खेलमा पराजित हुनु उसका लागि अभिसापजस्तै बनेको छ । गएको संस्करणमा पनि अतिरिक्त समयमा उसले नेदरल्याण्ड्ससँग २–१ गोलको पराजय व्यहोरेको थियो ।


 
ब्राजिल भने पछिल्लो ६ वटा विश्वकपमा कम्तीमा अन्तिम आठसम्म पुगेको छ । तीमध्ये तीनवटाको फाइलन खेलेको छ भने २ पटक च्याम्पियन बनेको छ ।

 

स्वीडेनविरुद्ध समूहको अन्तिम खेलमा ३–० गोलले पराजित भए पछि मेक्सिको समूह एफको उपविजेतामा सीमित भएको थियो । उसका सेन्टर ब्याक हेक्टर मोरेलो दुई पहेँलो कार्डका कारण प्रतिबन्धमा छन् ।

 

यता समूह इ को विजेता ब्राजिलले बिस्तारै खेल सुधार गरिरहेको छ। विश्वकपको सुरुवातको १ सय ८० मिनेटमा तनावमा बिताएको ब्राजिलले त्यसपछि भने ४ गोल गर्न सफल भयो ।  

म्याच फ्याक्ट्स
 
-ब्राजिल र मेक्सिको अहिलेसम्म ४० पटक आमने सामने भइसकेका छन् । जसमा २३ खेलमा ब्राजिल विजयी भएको छ भने १० खेल मेक्सिकोले जितेको छ । ७ खेल बराबरीमा सकिएका थिए ।
 
-मेक्सिकोले विश्वकपमा ब्राजिलबिरुद्ध खेलेका पछिल्ला चार खेल जित्न सकेको छैन । १ बराबरी र ३ खेलमा पराजित भएको छ । साथै यी चार खेलमा उसले ११ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन ।
 
-ब्राजिल पछिल्लो पटक सन् १९९० को विश्वकपमा क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो । 


 

मेक्सिको ब्राजिल विश्वकप फुटबल प्रि–क्वाटर फाइनल