खेल

फ्रान्स भर्सेस क्रोएसिया: कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

फ्रान्स भर्सेस क्रोएसिया: कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

काठमाडौं । रुसको राजधानी मस्को सहरस्थित लुज्निकी रंगशालामा आइतबार राति पौने ९ बजे विश्वकप फुटबलको फाइनल खेल हुँदैछ । विश्व विजेता बन्नका लागि २० वर्षअघिको विजेता फ्रान्स र पहिलो पटक फाइनल खेल्न लागेको क्रोएसिया प्रतिस्पर्धामा छन् ।

 

विश्वकप फुटबल प्रतियोगिता सुरु भएको ठीक एक महिना र एक दिनपछि आज भव्यताका साथ अन्त्य हुँदैछ । फ्रान्स वा क्रोएसियामध्ये एकले विश्व विजेताको ताज पहरिनेछ । यो फाइनल खेल २० वर्षअघि अर्थात् सन् १९९८ को विश्वकपमा भएको सेमिफाइनलको पुनरावृत्तिको रूपमा रहेको छ ।

 

अर्जेन्टिनी रेफ्री निस्टोर फबियाना पिटानाले यो खेल खेलाउने छन् । जारी विश्वकपमा उनले खेलाउन लागेको यो पाँचौ खेल हुनेछ । एसिस्टेन्ट रेफ्री एच मेडाना र जे बिलाटीले उनलाई साथ दिने छन् ।  २० वर्षअघिको त्यो सेमिफाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गरेको थिए, यी दुई टोलीबीच अहिलेसम्म विश्व स्तरमा भएको यो नै एक मात्र खेल हो । त्यो खेलमा फ्रान्सले क्रोएसियालाई २–१ ले पाखा लगाएको थियो ।

 

अहिले आएर दुई टोली विश्व स्तरको दोस्रो भेटमा फाइनलमा आमने सामने हुँदैछन् । त्यो बेला आयोजक रहेको फ्रान्ससँग पराजित भएको क्रोएसियाका लागि अहिले त्यसको बदला लिँदै इतिहास लेखाउने मौका छन् । त्यसैले विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्दा क्रोएसियाका लागि २० वर्षअघिको बदला लिने सुनौलो मौका छ । विश्वकपमा हालसम्म एकपटक मात्रै प्रतिस्पर्धा गरेका यी दुई टोलीबीच समग्रमा पाँचपटक भिडन्त भएको छ । तिनमा फ्रान्सले तीन खेलमा जित हात पारेको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।

 

सेमिफाइनलमा सुरुआती अग्रता लिएको बलियो इंग्ल्यान्डलाई अतिरिक्त समयमा हराउँदै पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया समूह चरणदेखि नै उत्कृष्ट लयमा छ । ‘हामीले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेका छौं । विपक्षी फ्रान्सलाई कम आँकेका छैनौं । तर, सुन्दर फुटबल खेल्दै उपाधि जित्न हामी कुनै कसर बाँकी राख्नेछैनौं’, प्रशिक्षक ज्लाट्को डालिचले भने । आक्रामक र रक्षात्मक दुवै रणनीतिमा अब्बल देखिएको क्रोएसियासँग मध्यपंक्ति पनि सन्तुलित छ ।

 

फ्रान्स र क्रोएसिया बीचको फाइनल भिडन्तलाई युवाविरुद्ध अनुभवी टोलीको प्रतिस्पर्धा पनि मानिएको छ । फ्रान्स प्रतिभाशाली युवा खेलाडीले भरिएको टोली हो । फ्रान्सेली टोलीमा केलियन एम्बाप्पे, राफेल भारान, सामुएल उम्टिटी, पल पोग्बा, एन्टोइन ग्रिजम्यानलगायत क्षमतावान् युवा खेलाडी छन् ।

 

यस्तै क्रोएसिया अहिले स्वर्णिम पुस्ता हो । उसका खेलाडी औसत २७ वर्षका छन् । क्रोएसियासँग कप्तान लुका मोड्रिच, इभान राकिटिच, इभान पेरिसिचजस्ता अनुभवी खेलाडी छन् । दुवै टोलीसँग उत्कृष्ट गोलरक्षक छन् । इंग्लिस क्लब टोट्टनहाम हर्टस्परसँग आबद्ध भएका फ्रान्सेली गोलरक्षक ह्युगो लोरिस र फ्रान्सेली क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका क्रोएसियाली गोलरक्षक डानिजेल सुबासिच दुवैले जारी प्रतियोगितामा सशक्त प्रदर्शन गरिरहेका छन् । सुबासिचले त प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनल चरणका दुवै खेलमा आफ्नो टोलीलाई विजयी बनाउन टाइब्रेकरमा सशक्त प्रदर्शन गरेका थिए ।

 

विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने टुंगो पनि आज ( आइतबारै) लाग्नेछ । फ्रान्सले उपाधि जिते इतिहास दोहो¥याउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिने छ । त्यससँगै विश्वकप जित्ने टोलीको संख्या पनि नौ पुग्नेछ ।

 

फ्रान्सले उपाधि जित इतिहास दोहोर्‍याउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिने छ । त्यससँगै विश्वकप जित्ने टोलीको संख्या पनि नौ पुग्नेछ ।

विश्वकप फुटबल फ्रान्स क्रोएसिया लुज्निकी रंगशाला