समाचार अर्थ प्रदेश ३

काठमाडौं महानगर विज्ञापन कर संकलनः लक्ष्य १५ कराेड उपलब्धि ४ करोड

भाटभटेनीदेखि चौधरी ग्रुपले समेत तिरेनन् कर

काठमाडौं महानगर विज्ञापन कर संकलनः लक्ष्य १५ कराेड उपलब्धि ४ करोड

काठमाडौं । घरबहाल कर संकलनमा उदासीन रहेको काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको साउनयता करिब ४  करोडको मात्रै विज्ञापन कर असुली गरेको छ ।

 

तर, महानगरपालिकाले यो वर्ष १५ करोडको लक्ष्य लिएको छ । महानगरको लक्ष्यअनुसारको कर असुलीका लागि अब करिब डेढ महिनाको अवधि मात्र बाँकी छ । उसको लक्ष्यअनुसार अबको पाँच महिनामा साढे ११ करोड विज्ञापन कर असुली गर्नुपर्ने देखिन्छ ।

 

महानगरपालिकाले आव २०७२ र ७३ मा ४ करोड १७ लाख कर संकलन गरेको थियो । महानगरपालिकाले ०७३ र ०७४ मा ८ करोड कर असुली गरेको थियो ।


२०५६ र ०५७ सालदेखि विज्ञापन क्षेत्रको कर संकलन गर्न थालेको महानगरपालिकाले गएका पछिल्ला तीन वर्षदेखि लक्ष्य हासिल गरेपनि यो वर्ष तोकिएको लक्ष्य हासिल गर्न चुनौती देखिएको महानगरपालिकाको राजस्व विभागका शाखा अधिकृत अब्दुलमजिद खानले बताए ।


महानगरले तोकेको मापदण्डविपरीत विज्ञापन राख्ने र सहर कुरूप बनाउनेलाई अहिलेसम्म कडारूपमा कारबाही गर्न सकेको छैन ।  आगामी दिनमा यस्तो कार्य गर्नेमाथि कारबाही गर्ने तयारी भइरहेको शाखा अधिकृत खानले जानकारी दिए ।

 

जनशक्ति अभावका कारण विज्ञापन कर संकलनमा केही चुनौती रहेको बताउँदै आएको महानगरपालिकाले विज्ञापन कर हालसम्म आफैँले उठाउँदै आएको छ ।

 

गएको साउन १ गतेदेखि निजी क्षेत्रलाई दिने भनिए पनि अहिले कर संकलनका लागि निजी क्षेत्रलाई नदिइएको शाखाले बताएको छ । विज्ञापन कर निर्देशिका २०६४ अन्तर्गत सार्वजनिक निजी साझेदारीअनुसार सञ्चालनमा रहेका स्थानमा महानगरपालिका आफैँले कर उठाउने गरेको खानले बताए ।

 
विज्ञापन कर नतिर्ने कम्पनीहरूलाई कर तिर्न बारम्बार ताकेता गर्ने र कर तिर्न नआउने कम्पनीहरूलाई होर्डिङ बोर्ड राख्न नदिने रणनीति महानगरपालिकाले अपनाएको उनले जानकारी दिए । 


यसैअन्तर्गत महानगरपालिकाले केही साता अघिदेखि कर नतिर्ने कम्पनीहरूको होर्डिङ बोर्ड हटाउने कामलाई तीव्रता दिएको पनि शाखा अधिकृत खानले बताए । 


विज्ञापन कर नतिर्ने कम्पनीहरूलाई कर तिर्न ताकेता गर्दा पनि बेवास्ता गरेपछि महानगरपालिकाले केही मोबाइल कम्पनीका साथै व्यावसायिक संस्थाहरूको होर्डिङ बोर्ड हटाएको उनले जानकारी दिए । उनका अनुसार यसरी बोर्ड हटाइएका कतिपय ठूला कम्पनीहरूसमेत अझै कर तिर्न आएका छैनन ।  


विज्ञापन गरेबापतको कर असुलीमा महानगरपालिका अहिले तीव्र लागि रहेको जानकारी दिँदै शाखा अधिकृत खानले सबै कम्पनीहरूलाई कर तिर्नका लागि पत्राचार गरिसकेको बताए ।

 

पटक पटक पत्राचार गर्दा पनि  अटेर गरेर समयमै कर बापतको रकम नतिर्ने जुनसुकै कम्पनीको होर्डिङ बोर्ड हटाउने मात्र नभएर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको उनले जानकारी दिए । 


अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो ख्याति प्राप्त केही ठूला कम्पनीहरूले समेत विज्ञापन कर तिर्न आनाकानी गर्दै आएको शाखा अधिकृत खानको भनाइ छ । 

नेपालकै टप व्यावसायिक कम्पनीहरूले विज्ञापन कर नै तिरेका छैनन । उनले भने, ‘विज्ञापन कर नतिर्नेको सू्चीमा भाटभटेनीदेखि चौधरी ग्रुपसम्म रहेका छन् ।’  मापदण्डविपरीत होर्डिङ बोर्ड राख्ने अधिकांश कम्पनीहरूले विज्ञापन कर नै तिरेका छैनन ।


खानले भने, ‘अब यिनीहरूलाई कारबाहीको प्रक्रियामा ल्याएर भए पनि कर असुली गर्छौं ।’ उनका अनुसार उपत्यकालगायत देशभरका विभिन्न सहरमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको भाटभटेनीले समेत अहिलेसम्म विज्ञापनबापतको कर महानगरपालिकालाई तिरेको छैन । 


भाटभटेनीले अहिले पनि करिब ४३ लाख कर तिर्नुपर्ने देखिएको उनले जानकारी दिए । धारा तेल उत्पादन कम्पनीले पनि अहिलेसम्म कर महानगरपालिकालाई नतिरेको शाखा अधिकृत खानले जानकारी दिए । यसका लागि महानगरपालिकाले कर असुली तथा अनुगमन टोली गठन गरिसकेको अधिकृत खानले जानकारी दिए । 
 

काठमाडौँ महानगरपालिका विज्ञापन कर संकलन